वनमारालाई सिध्याउने कि जोगाउने ?

वनमारालाई सिध्याउने कि जोगाउने ?
सुन्नुहोस्

- रमेश बन्जारा 

हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले सञ्चालन गरेको खानी जाने बाटो विस्तारका लागि सयौँ सालका रुख काटिएकोप्रति सरोकारवालाहरुले वेवास्ता गरेको आरोप लागेको छ । राक्सिराङ्ग गाउँपालिका–४ स्थित किन्दुरांगमा वन सखाप पारिँदा पनि डिभिजन वन कार्यालय मनहरीले  कुनै कारवाही नगरी उल्टै बदमासी गर्नेलाई जोगाउने प्रपञ्च गरेको बताइन्छ ।

वडाध्यक्ष सञ्जय कोइराला, सब–डिभिजन वन कार्यालय राक्सिराङ्ग, डिभिजन कार्यालय मनहरी र वन समितिलगायतको मिलेमतोमा सालका रुख फडानी गरिएको स्थानीयको आरोप छ । पञ्चकालिका सामुदायिक वनअन्तर्गत पर्ने सो बाटो विस्तार गर्ने नाममा सिमेन्ट उद्योगलाई सजिलो हुनेगरी मिलेमतोमा अवैध काम भइरहेको बताइन्छ । 

उद्योगले गत कार्तिकदेखि सालका रुख फडानी गरी सडक फराकिलो पारिरहेको छ । वन कार्यालयका कर्मचारी फडानी भएको देख्छन् तर रोक्न सक्दैनन् । डिभिजन वन कार्यालयमा उजुरीसमेत परेको हो । कार्यालयबाट अनुगमन हुँदा दुईवटा एक्साभेटरसमित बाटो निर्माणको काम र रुख फडानी भएको कर्मचारीले प्रत्यक्ष देखेका पनि हुन् । तर, न फडानी रोकियो, न कोही कारबाहीको दायरामा आए । 

सरोकारवालाहरुले जिज्ञासा राख्दा कार्यालयले ‘अनुसन्धान भइरहेको छ’ भनेर आलटाले जवाफ दिने गरेको गुनासो छ, स्थानीयको । सिमेन्ट उद्योगले भने उक्त बाटो बिस्तारबारे जानकार नभएको भन्दै पन्छिने गरेको पाइन्छ । उद्योगकै खानिसम्म जाने बाटो चौंडा गर्न सालका रुख काटेर एस्काभेटर प्रयोग गरिएको कुरा उठाउँदा उद्योगका सम्बन्धित कर्मचारीले ’जानकारी नभएको’ जवाफ दिएका छन् ।

डिभिजन वन कार्यालय मनहरीका प्रमुखले सिडियोले अनुसन्धान समिति गठन गर्ने निर्णय भएको जनाउँदै उतै बुझ्न सुझाव दिए । वन कार्यालयले यस विषयमा थप केही गर्नसक्ने अवस्था नरहेको उनको भनाई छ । 

वन क्षेत्र तहस नहस भइरहँदा समेत वनका हाकिमले आफ्नो क्षेत्राधिकारभित्र नरहेको बताउनु र सिडियोले चासो नदिनुले वनमारा जोगाउन सरकारी मिलेमतो रहेको स्थानीयले आशंका गरेका छन् ।

वन कार्यालयले गत मंसिर ८ गते उक्त बाटो उद्योगले बनाएको हो होइन ? कसको अनुमतिमा बाटो बिस्तार गरिएको हो ? कुन विधि र प्रक्रियाले बनाइएको हो ? भन्दै दुई दिनभित्रमा विवरणसहित उपस्थित हुन पत्र काटेको थियो । उद्योगले भने आफ्नो लगानीमा बाटो बिस्तार नभएको र यसबारे अनविज्ञ रहेको भन्दै सफेद झूट बोल्ने गरेको छ । 

डिभिजन वन कार्यालय मनहरी र जिल्ला प्रसासन कार्यालय मकवानपुरले उद्योगलाई काटेको पत्र बाटनै प्रस्ट हुन्छ कि ’वनमारा’ जोगाउन कागजी रणनीति बनाइएको हो । जसलाई अनुसन्धान गर्नुपर्ने हो उसैलाई पत्र काटेर रमिता देखाएइएको सरोकारवालाहरु बताउँछन् ।

डिभिजन वन कार्यालय मनहरीका प्रमुख लोकराज नेपालले मुद्दा चलाउने तयारीमा रहेको जानकारी गराएको पनि महिनौँ भइसकेको छ । त्यसबेला उनले भनेका थिए, ’कानुन नै बाझिएका कारण कारवाही कसले गर्ने भन्ने अन्योलताले केही ढिलाई भएको हो अब प्रक्रिया अघि बढ्छ !’ तर अहिलेसम्म प्रक्रिया अगाडि बढाइएको छैन ।

यसलाई सरोकारवालाहरुले उद्योगले गरेको गैरकानुनी कामलाई ढाकछोप गर्ने र मुद्धामा नगई घटना सामसुम पार्ने योजनाअन्तर्गतको चलखेल ठानेका छन् । यता, गाउपालिकाका प्रवक्ता हरिबहादुर प्रजाले उक्त बाटो विस्तारका लागि पालिकाबाट बजेट विनियोजन भएको जानकारी दिए ।

टिप्पणीहरू