नयाँ नयाँ जप्दैमा बन्ने हो र नयाँ नेपाल ?

नयाँ नयाँ जप्दैमा बन्ने हो र नयाँ नेपाल ?
सुन्नुहोस्

देशको मनोदशा कस्तो छ ? पुरानो, भ्रष्ट र खराब राजनीति र नेतृत्वप्रति जनताको मन अघाइसकेको स्थिति छ अर्थात अहिले देशको मनोदशा नकारात्मक छ । पुरानासँग मान्छेले आफ्नो सम्बन्धलाई थप कसिलो बनाउन छाडेका छन् । अझै अगाडि बढेर भन्दा उनीहरूलाई जनताले बेवास्ता गर्न थालेका छन् ।

देश कुन मनोदशाबाट गुज्रिरहेको छ भनेर जाँच्ने आधार भनेको आजका भर्भराउँदा स्नातकहरूको धारणा हो । युवा मजदुरको धारणा हो । साउदी र कतार जान एयरपोर्टमा लामबद्धको धारणा हो । भारततिर जान बोर्डर पार गर्न लामबद्धहरूको धारणा हो । यिनीहरूले बनाएको धारणा यिनीहरूसँग मात्रै सीमित रहन्न । यिनले बालाई सुनाउँछन्, आमालाई भन्छन्, भाइ–बैनीलाई भन्छन्, साथीहरूलाई भन्छन् ।

आफूले पासपोर्ट बनाउँदा खेप्नुपरेको सास्ती, भिसा लिँदा गर्नुपरेको खर्च, इमिग्रेसनमा व्यहोर्नुपरेको झन्झटको कथा सुनाउँछन् । उनीहरूले भोगेको सास्तीको बयानले देशको मनोदशा बनाउने काम गरिरहेको हुन्छ, एउटा धारणा बनाइरहेको हुन्छ । हामीले पनि महसुस गरिरहेका छौं यिनीहरूले व्यहोर्नुपरेको झमेला र दुःख । यस्ता कुराले हामी सबैमा यस्तै त छ नि खासमा भन्ने धारणा बनाइदिएको छ ।

यस्तै धारणा बनेको कारणले ठूला दलसँग, सत्तामा रहेका दलसँग जनताको गुनासो र अविश्वास लगातार बढिरहेको छ । देशको यो मनोदशालाई संबोधन गर्न सकिएन भने यसले वामपन्थीहरूको विपक्षमा जनमत बनाउन नै सहयोग गर्छ । यस्तो भएपछि त्यसले निर्माण गर्ने भनेको नकारात्मक धारणा नै हो र यस्तो धारणाले घनश्याम भुसालले भनेजस्तो मान्छेलाई स्यालको सिङ खोज्न बाध्य पारिदिन्छ । 

नयाँ र राम्रो पार्टी

नेकपाको विसर्जनपछि बनेका तीन वटा दलमध्ये दुईवटा सरकारमा सामेल छन् भने एउटा विपक्षमा छ । सरकारमा रहेका दुई वटा दल नेकपा (माओवादी) र नेकपा (ए समाजवादी) दुवै दलले नयाँ पार्टी बनाउने, राम्रो पार्टी बनाउने, एउटा एकीकृत कम्युनिष्ट पार्टी बनाउने कुरा गर्छन् ।

एमालेमा यस्तो रन्को देखिन्न । ऊ आफूलाई ठूलो पार्टी ठान्छ, जनता आफूसँग रहेको मान्छ । यहाँ प्रश्न छ, नयाँ भनेको के हो र नयाँ पार्टी कसरी बन्छ ? राम्रो भनेको के हो र राम्रो पार्टी कसरी बन्छ ? यसको जवाफ यी दुबै दलसँग छैन । नयाँ त यत्तिकै भयो नि !

नयाँ नामको पार्टी दर्ता गरी चुनाव लडेर आएपछि, भएन र ? यस्तै खालको नयाँ बनाउन खोजेको हो र ? नयाँको शाब्दिक अर्थ अनुसारको होइन कि नयाँको अर्थअनुसार नयाँ बनाउने होला नि ! नयाँ पार्टी यत्तिकै बन्छ त भन्दा बन्दैन । उसोभए नयाँ, राम्रो पार्टी कसरी बन्छ त ? जब पार्टीभित्र नयाँ ग्य्राजुयट्सलाई समावेश गराइन्छ, जब नयाँ मजदुरलाई समावेश गराइन्छ, नयाँ किसान, नयाँ शिक्षक, नयाँ महिला, नयाँ प्रोफेसर, नयाँ, वकिल, नयाँ इञ्जिनियरलाई समावेश गराइन्छ, उनीहरूलाई पार्टीमा भित्र्याइन्छ, तिनलाई पार्टीमा आउने वातावरण बनाइन्छ र कामको जिम्मेवारीसमेत दिइन्छ त्यसपछि बल्ल नयाँ पार्टी, राम्रो पार्टी बन्ने हो र ?

एमालेभित्र विरक्तिएका, माओवादीमा विरक्तिएकाहरूलाई समाजवादीभित्र ल्याएर अथवा एमाले र समाजवादीप्रति विरक्तिएकाहरूलाई माओवादीमा भित्र्याएर नयाँ पार्टी, राम्रो पार्टी बन्छ ? कदापि बन्दैन । नयाँ भनेको नयाँ दल दर्ता होइन । नयाँ मान्छे, नयाँ विचार र नयाँ लक्ष्य हो । यस्तो बनेको देखिएको छैन । त्यसकारण यस्तै अवस्थामा यी दुईवटै दल नयाँ र राम्रो बन्न सक्दैनन् । नयाँ भनेको नयाँ मान्छेहरू आउनु हो, नयाँ विचार हो, नयाँ जोश, नयाँ लक्ष्य र नयाँ संकल्प हो । यी कुरा भए/गरिएमा मात्र नयाँ र राम्रो पार्टी बन्छ अन्यथा नयाँ बन्दैन र राम्रो पनि बन्दैन । 

चुनावी फाइदा :

राम्रो पार्टी बन्दैमा, नयाँ पार्टी बन्दैमा पनि चुनावी जित हासिल गर्न मुश्किल पर्छ । अझ बढी भोट ल्याउनेले नै चुनाव जित्ने र धेरै सिटमा जित हासिल गर्नेले नै सरकार बनाउन पाउने प्रणालीमा भोट त पाउनैपर्छ । सरकारमा हुनेले त आफूले गरेको कामको रिपोर्ट कार्ड देखाएर जनतासँग भोट माग्लान् । सरकारमा नहुनेले भोट माग्ने भनेको मुभमेन्टको माध्यमबाटै हो ।

माके र एसलाई सत्ताधारीभन्दा पनि सत्ताघटक दलभन्दा ठीक होला । यी दलले जनताको मन जित्ने काम सत्तामा रहेर गरिरहेका छैनन् र देशमा राजनीतिक मुभमेन्ट चलाएको पनि खासै देखिन्न । मुभमेन्ट पोलिटिक्स नगरिएपछि त्यो मुभमेन्टले इलेक्टोरल पोलिटिक्सलाई छुन सक्दैन । जबसम्म पोलटिकल मुभमेन्ट बलियो बनेर त्यो इलेक्टोरल पलिटिक्स बन्दैन तबसम्म त्यसले चुनावमा फाइदा दिलाउन सक्दैन ।

कुनै पनि राजनीतिक मुभमेन्टले इलेक्टोरल नाफा गराएन भने सत्तामा जाने कुरा स्वतः समाप्त हुन्छ । नयाँ पार्टी बनाउन नसक्ने र पलिटिकल मुभमेन्ट चलाएर इलेक्टोरल गेन पनि गर्न नसकेपछि हुने भनेको चुनावी पराजय नै हो । हुन त धेरैले चुनावी परिणाम केही होइन पनि भन्छन् तर यो भनाइ सही होइन । संसदीय प्रणालीमा चल्ने तर चुनावी परिणाम केही होइन भन्नेहरू खासमा ढोंगी हुन् । 

अन्त्यमा, अतः नयाँ पार्टी बनाउने कुरा, राम्रो पार्टी बनाउने कुरा र पोलिटिकल मुभमेन्ट सिर्जना गर्ने कुरा नै चुनावमा जित हासिल गर्ने मुख्य तरिका हो । संसदीय प्रणालीमा चुनावमार्फत सरकारमा पुगेर मात्रै त बनाउन सकिन्छ समाजवादको आधार, होइन त ? बुझ्नेलाई रक्तचन्दन, नबुझ्नेलाई काठ । 

टिप्पणीहरू