नवलको आक्रोशमा रेखाको मौनता, फागुन २५ पछि के होला ?

नवलको आक्रोशमा रेखाको मौनता, फागुन २५ पछि के होला ?

नेपालीमा एउटा उखान छ– आफ्नो आङको भैँसी नदेख्ने, अरुको आङमा जुम्रा खोज्ने । नेपाली चलचित्रका पुराना कलाकार नवल खड्का र रेखा थापाको हकमा यो उखान ठ्याक्कै मिल्न गएको छ । 

प्रसंग हो, नवलले निर्माण गरेको चलचित्र ’काँडेतार’ र रेखाको ’उपहार’ । यी दुवै चलचित्र फागुन २५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउँदैछन् । 

तर, नवलले भने आफ्नो चलचित्र ’फ्लप’ गराउन जानीजानी रेखाको उपहार एकै समय पारेर रिलिज गर्न लागेको भन्दै आक्रोश पोखेका छन् । चलचित्रको ट्रेलर सार्वजनिक गर्दा नवलले यति उग्ररुपमा अभिव्यक्ति दिए कि, आफू निर्माता संघको अध्यक्षको भूमिका रहेकोसमेत बिर्सिए । रेखालाई कटाक्ष गर्दै देशलाई डेरा बनाउनेहरुले नै चलचित्र क्षेत्रको बदनामी गरेको उनले आरोप लगाए । 

‘यो देशलाई डेरा बनाउन चाहनेहरू, देशप्रति माया नहुनेहरू, राष्ट्र भाड्मा जाओस् भन्नेहरूले चलचित्र जुधाउन आएका छन् । तिनीहरूको जन्मकुण्डली पत्ता लगाउनुहोस्’, आक्रोशित हुँदै नवलले भने ।

एक वर्ष पहिले नै चलचित्रको ’सेन्सर’ गरेर प्रदर्शन मिति तय भएको काँडेतारलाई असफल बनाउन केही पात्रहरु लागिपरेको उनको भनाई छ । उनले थपे, ‘एक वर्ष अगाडि अहिलेकै डेट घोषणा गरेको हो, त्यो पनि सेन्सर गरेर । उहाँहरूको फिल्म सुटिङ भइरहेको छ । कतिपय फिल्महरू सेन्सर नहुँदै मसँग जुध्न आइरहेका छन् ।’

नवलले चलचित्र वितरकहरुलाई समेत ठूलै आवाजमा गाली गर्दै ’काइते’को संज्ञा दिए । उनले सुनाए, ’मेरो फिल्मसँग जसले जुधाउन ल्याउँदै हुनुहुन्छ । उहाँसँग बसेर फागुन २५ गते प्रदर्शन मिति तोकिएको थियो । उहाँले नै झ्याम्म पारेर अर्को फिल्म ल्याएर हाल्दिनुभयो । यो फिल्मको पनि उहाँ नै वितरक हुनुहुन्थ्यो । काइतेसँग केही लाग्दैन । सिधा कुरा गर्न आए भने म भिड्न तयार छु । पछाडिबाट आएर छुरा हान्नेवालासँग मेरो केही लाग्दैन । मैले सबैलाई मिलाउन प्रयन्त गरेकै हो ।’

उग्र अभिव्यक्तिकै कारण अहिले दर्शकहरु भने नवलमाथि नै खनिएका छन् । निर्माता संघको अध्यक्ष भएर पनि अर्को निर्मातालाई सम्मान गर्न नसकेको आरोप उनले खेप्नुपरेको छ । अवस्था यस्तो बन्दै गएको छ कि, आफ्नै अभिव्यक्ति उनका लागि भारी पर्दैछ । 

राप्रपा नेतृसमेत रहेकी रेखाले भने यो विषयमा मुख खोलेकी छैनन् । यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेनले निजि मामलामा प्रश्न उठाउँदा तत्काल प्रतिवाद गरेकी उनले बरु चलचित्रको कन्टेन राम्रो भए प्रर्दशन जुद्धा कुनै फरक नपर्ने तर्क गरेकी छन् । 

रेखाले चलचित्र क्षेत्रकै मान्छेहरुले खुट्टा तान्ने गरेको गुनासो पनि गरिन् । हाल अमेरिकामा रहेकी उनले भनेकी छन्, ’अहिलेसम्म चलेका फिल्महरु पनि कुनै न कुनै फिल्मसँग जुधेका थिए । कन्टेन राम्रो भयो भने दर्शकले आफै हेर्छन् । अरुलाई गाली गरेर चर्चामा आउदैमा फिल्म चल्ने होइन ।’ 

नवलको आक्रोश र रेखाको मौनतामा कसले बाजी मार्छ ? त्यो भने फागुन २५ गतेपछि नै थाहा हुनेछ ।

टिप्पणीहरू