भ्यालेन्टाइनकै दिन ब्रेकअपको पनि चर्चा

भ्यालेन्टाइनकै दिन ब्रेकअपको पनि चर्चा
सुन्नुहोस्

आज फेब्रुअरी १४ अर्थात भ्यालेनटाइन् डे (प्रणय दिवस) हो । पछिल्लो समय युवापुस्तामाझ आजको दिन निकै महत्वपूर्ण हुन थालेको छ ।

यद्यपि, प्रेम गर्न कुनै खास दिन आवश्यक नपर्ने एकथरीको तर्क छ । तर युवापुस्ताले भने यसलाई विशेष उत्सवको रुपमा लिएको पाइन्छ । 

आज कतिपयले आफ्नो प्रेमी/प्रमिकालाई वा मन परेकालाई प्रेम प्रस्ताव राख्छन् । कतिपयले भने आजकै दिन प्रेम सम्बन्ध तोडेको पनि पाइन्छ ।

यहाँ हामी केही सेलिब्रेटीहरुको चर्चा गर्दैछौ, जसमध्ये केही ’लभ’मा छन् भने केही ’ब्रेकअप’ मा ।

 

शुशान्त केसी र आना शर्मा (लभ)

युवा पुस्ताका चर्चित गायक शुशान्त केसी र अभिनेत्री आना शर्मा यतिखेर प्रेममा छन् । यी दुई जना पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रममा सँगै उपस्थित हुने गरेका छन् । उनीहरुले चाँडै बिहे गर्न लागेको पनि बताइन्छ । शुशान्तले प्रेमिका आनाको निम्ति केही महिना अघि ’सांरगी’ बोलको गीत नै लेखे । जसमा उनीहरु नै फिचर्स छन् । यो गीतलाई हालसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ ।

 

नितेशजंग कुँवर र समृद्धि राई (लभ)

’सिन्धुली गढी घुमेर हेर्दा’ बोलको पुरानो गीतलाई कभर गीत बनाएर चर्चामा आएका गायक नितेशजंग कुँवर पनि यतिबेला समृद्धि राईसँग प्रेममा छन् । समृद्धि पनि गायिका तथा मिडिया पर्सनालिटी हुन् । नितेशका ’हाम्रो नेपालमा’, ’गेडैजस्तो जिन्दगी’, ’आश्मा’ लगायत दर्जनौ गीतहरु हिट छन् । पछिल्लो समय यो जोडीले विभिन्न ठाउँमा सँगै कन्सर्ट पनि गर्दै आएका छन् । आगामी हप्ता यो जोडीले अष्ट्रेलियामा कन्सर्ट गर्दै थिए । तर गत आइतबार नितेशले हङकङ विमानस्थलमा पासपोर्ट हराएपछि कन्सर्ट नै पोष्टपोन्ड गरिएको छ । अहिले नितेश नेपाल फर्किएर पुनः पासपोर्ट बनाएर भिजा लगाउँदैछन् । समृद्धि भने नितेशकी आमासँग अष्ट्रेलिया पुगिसकेकी छन् ।

 

पूजा शर्मा र युद्ध बानियाँ (लभ)

अभिनेत्री पूर्जा शर्माप्रति नेपाली दर्शकको राम्रै क्रेज छ । ’प्रेमगीत’बाट चलचित्रमा डेब्यु गरेकी उनी अहिले व्यवसायी तथा फिट्नेस कोच युद्ध बानियाँसँग प्रेममा छिन् । उनले दुई वर्षअघि आफ्नो प्रेमसम्बन्धबारे मिडियामा खुलस्त बताएकी थिइन् । अहिले पूजाले प्रेमीसँग मिलेर झम्सिखेलमा ’ट्याग’ नामक रेष्टुराँ समेत खोलेकी छन् । उनी चाँडै अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र ’उपहार’मा देखिँदैछिन् ।

 

अनु शाह र सविन श्रेष्ठ (लभ)

मोडल तथा अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ पनि करिब पाँच वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुले यूट्युबमा सँगै आफ्ना ब्लगहरु पनि अपलोड गरेको पाइन्छ । उनीहरुले केही दिनअघि एक अन्तवार्तामा आगामी वर्ष बिहे गर्ने तयारी गरेको बताएका थिए । पछिल्लो समय सविन चलचित्रभन्दा पनि व्यवसायमा सक्रिय छन् । अनु विभिन्न म्युजिक भिडियोमा देखिएकी छन् ।

स्वप्न सुमन र ज्योत्सना योगी (लभ)

युवा पुस्ताका चर्चित गायक हुन्, स्वप्न सुमन । तीन वर्ष लामो प्रेम सम्बन्धपछि गत वर्ष मोडल ज्योत्सना श्रेष्ठ र स्वप्नको बिहे भएको हो । यो जोडीले विभिन्न कार्यक्रमा आफ्नो लभस्टोरी समेत सुनाइसकेका छन् । ज्योत्सना एक अंग्रेजी भाषा शिक्षिका (आएल्स लेक्चर) हुन् । गत वर्ष स्वप्नले बिहेको अवसरमा ज्योत्सनालाई उपहार स्वरुप एउटा गीत दिए । ’बाचा भयो’ बोलको त्यो गीतलाई यूट्युबमा हालसम्म एक करोड ७० लाखभन्दा बढी पटक हेरिएको छ । यो जोडीलाई दर्शकहरुले ’क्युट जोडी’ को उपमा दिएका छन् ।

रियासा दाहाल र भिक्टर पौडेल (लभ)

मोडल तथा अभिनेत्री रियासा दाहालले पनि चार वर्षको लामो प्रेमसम्बन्ध पश्चात यो वर्ष बिहे गरेकी हुन् । उनले सामाजिक सञ्जालमा चर्चित ’रुटिन अफ नेपाल बन्द’ नामक पेजका सञ्चालक भिक्टर पौडेलसँग लगनगाँठो कसेकी हुन् । उनीहरुको बिहेको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल समेत बन्यो । जोडीले सामाजिक सञ्जालमा विभिन्न रिलहरु अपलोड गर्दै आएका छन् ।

 

सौगात मल्ल र सृष्टी श्रेष्ठ (ब्रेकअप)

भेट्रान अभिनेता भनेर चिनिने सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठले चार वर्षे प्रेम सम्बन्धमा पूर्णविराम लगाएका छन् । उनीहरुको केही महिनाअघि मात्रै ब्रेकअप भएको बताइन्छ । सौगातले हालैको एक अन्तार्वार्तामा भनेका छन्, ’माया भन्ने चिज नजिक हुँदा मात्र नहुँदो रहेछ । उ टाढा गइसक्यो, तर पनि अझै उसको माया लाग्छ ।’ 

सौगात र सृष्टिले ’पोइ पर्यो काले’, ’माइकल अधिकारी’, ’राधा’ लगायत चलचित्रमा सँगै काम पनि गरे । सृष्टी मिस नेपाल समेत हुन् । यो जोडीको ब्रेकअपको कारण खुलाइएको छैन । तर सौगातले भने केही अन्तर्वार्तामा ब्रेकअपको कारण उमेरलाई बनाएका छन् । भनेका छन्, ’एज ग्याप भएको रिलेसनमा भावना र विचार नमिल्दो रहेछ ।’ यो जोडी प्रेममा रहँदा सृष्टी २६ वर्ष कि थिइन् भने सौगात ३८ वर्षका ।

 

सिसन बानियाँ र श्रृंखला खतिवडा (ब्रेकअप)

सामाजिक सञ्जालमा औधी रुचाइएको जोडी थियो सिसन बानिया र श्रृंखला खतिवडाको । तर अहिले यो सम्बन्धमा पूर्णविराम लागिसकेको छ । पूर्व मिस नेपालसमेत रहेकी श्रृंखलाले गत मंसिरमा सम्भव सिरोहियासँग बिहे गरिसकेकी छन् । 

सिसन र श्रृंखला प्रेममा रहँदा जोडी सामाजिक सञ्जालमा निकै भाइरल थियो । पछिल्लो समय श्रृंखला उच्च शिक्षाको निम्ति अमेरिका गएसँगै उनीहरुको सम्बन्धमा खट्पट् सुरु भएको थियो । उनीहरुको पूरानो भिडियोलाई कतिपय ’मिम मेकर’ हरुले ट्रोलको रुपमा प्रयोग गर्न थालेका छन् ।

टिप्पणीहरू