गीतको शब्द चोरिएपछि कलाकारहरुहरु विभाजित

गीतको शब्द चोरिएपछि कलाकारहरुहरु विभाजित

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझै कहीँ अचम्मका लफडा नेपाली संगीत क्षेत्रमा देखिएको छ । सिर्जना (गीत, भिडियो) जस्तोसुकै होस्, तर लफडा गरेरै भए पनि दर्शक र स्रोताको ध्यान तान्ने कार्यमा नेपाली कलाकार माहिर छन् । 

यसबीच एउटा गीत विवादमा परेको छ । ’कट्टा हान्दिन्छु’ बोलको गीतको पक्ष–विपक्षमा सामाजिक सञ्जालमा विवाद देखिएको हो । 

भएको के हो ? 

करिब तीन हप्ताअघि ओवी रायमाझी नामक यूटुब च्यानलबाट सार्वजनिक भयो, ’कट्टा हान्दिन्छु’ । गायिका एलिना चौहान र खेम सेन्चुरीको स्वर रहेको गीतको भिडियोमा मोडल आश्मा विश्वकर्मा र ओवी रायमाझीको अभिनय छ । 

यस गीतका लेखक नेत्र अर्याल हुन् । यूटुबमा ट्रेन्डिङ लिएको कट्टा हान्दिन्छुले राम्रै चर्चा बटुलिरहेको छ । गीतको शीर्ष शब्द छ, ’शान दिनेलाई शान दिन्छु, मान दिनेलाई मान दिन्छु ।’

यो गीत सार्वजनिक भएको दुई हप्तापछि विश्वराम कार्की नामक यूट्युब च्यानलबाट पनि ’कट्टा हान्दिन्छु’ बोलकै गीत सार्वजनिक भयो । तर, लय र भिडियो भने नितान्त फरक छ । शीर्ष शब्दहरु भने उही छ – ’शान दिनेलाई शान दिन्छु, मान दिनेलाई मान दिन्छु’ । 

गीतमा विश्वराम आफैंले स्वर दिएका छन् भने भिडियोमा पुराना चलचित्र कलाकार जयकिशन बस्नेत र राजेन्द्र खड्कीले नृत्य गरेका छन् । पहिलो टिमले बनाएको गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब ७१ लाखभन्दा बढीले हेरिसकेका छन् भने दोस्रोमा करिब ९ लाख मात्रै भ्युज छ । 

यहीबीच दोस्रो टिमले पहिलो टिमलाई गीत चोरेको आरोप लगाएपछि विवाद शुरु भएको हो । पहिलो टिमले गीतका शब्दहरु चोरेर चर्चा बटुल्न युट्युबमा हालेको दोस्रो टिमको आरोप छ । दोस्रो टिमका गायक विश्वराम र कलाकार जयकिशनले खुल्ला रुपमै गीतका शब्दहरु आफ्नो भएको दावी गरिरहेका छन् । 

जयकिशनले भनेका छन्, ’यो शब्द वास्तवमा मेरै एउटा पुरानो चलचित्रको संवादबाट साभार गरेर लिएका हौँ । तर, एलिना चौहानजीको टिमले चर्चा कमाउन हाम्रै शब्द चोरेर हामीभन्दा पहिले नै गीत रिलिज गर्नुभएछ ।’ 

तर, पहिलो टिमका गायक तथा संगीतकार खेम सेन्चुरीले भने यसलाई संयोग मात्रै मानेका छन् । भनेका छन्, ’गीतको शब्द मिल्नु संयोग मात्र हो । हामीले चोरी गरेका हैनौं । हामीसँग अहिले पनि थुप्रै गीतका शब्दहरु छन् । नाथे अरुको दुई शब्द चोरर गीत बनाउनुपर्ने हामीलाई कुनै बाध्यता छैन । शब्द मिल्नु संयोग मात्र हो । यो विषयलाई ठूलो बनाउन आवश्यक नै छैन ।’ 

यता गायक विश्वरामले आफ्नो शब्द चोरिएको दावी गर्दै प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालय पुगेर उजुरीसमेत दिइसकेका छन् । उनले हिजो साँझ त्यस सम्बन्धी उजुरी दिएका हुन् । 

रजिष्ट्रार कार्यालयले भने आज दुवै टिमलाई पत्राचार गर्दै एक हप्ताभित्र विवादलाई आपसी समझदारीमा हल गर्न आग्रह गरेको छ । संगीत क्षेत्रको आन्तरिक विवाद बाहिर जाँदा नराम्रो सन्देश प्रवाह भएको उल्लेख गर्दै कार्यालयले सकेसम्म आपसी समझदारीमा विवाद मिलाउन आग्रह गरेको हो ।
 
एक हप्ताभित्र पनि विवाद हल नभए कानूनी प्रावधानअनुसार छानबिन समिति गठन गरेर कारवाही प्रक्रिया अघि बढाइने कार्यालयले बताएको छ ।

टिप्पणीहरू