दुर्गेशलाई जुत्ता हानेपछि पल शाहको बलात्कारको चर्चा

दुर्गेशलाई जुत्ता हानेपछि पल शाहको बलात्कारको चर्चा

गायक तथा मोडल दुर्गेश थापा बेला–बेलामा चर्चामा आइरहन्छन् । कहिले गीतमा भद्दा शब्द प्रयोग गरेर चर्चामा आएका थिए भने कहिले भिडियोमा उच्छृंखल दृश्य राखेर । 

यसपटक भने दुर्गेश चर्चामा आउनुको कारण नितान्त फरक छ । त्यो हो, जुत्ता प्रहार । अस्ति शनिबार दुर्गेश स्याङ्जा पुगेका थिए । त्यही साँझ उनको कन्सर्ट थियो वालिङ महोत्सवमा । आयोजक थियो, उद्योग वाणिज्य संघ । 

महोत्सवको अन्तिम दिन भएर होला, अस्ति अरु दिनभन्दा दर्शकहरुको उपस्थिति बाक्लो थियो । साँझ करिब ७ बजेतिर उनको प्रस्तुति सुरु भयो ।

त्यतिन्जेलसम्म सबै ठिकै थियो । तर स्टेजमा उक्लिएर प्रस्तुति सुरु गरेको आधा घण्टापछि अचानक दुर्गेशलाई कसैले भीडबाट जुत्ता प्रहार गर्यो । त्यसपछि तत्काल दर्शक दीर्घामा होहल्ला मच्चियो । सुरक्षार्थ खटिएका प्रहरी पनि भीडमा छिरे । तर दुर्गेश आफ्नै तालमा रमाइरहेका थिए । उनले प्रस्तुति रोकेनन्, गीत गाइरहे । 

त्यो घटनापछि जुत्ता प्रहार गरेका २७ वर्षे युवकलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । उनलाई शनिबारको रात प्रहरी हिरासतमा राखियो । हिजो बिहानै दुर्गेश र महोत्सव आयोजक प्रहरी कार्यालय पुगे । त्यतिबेला जुत्ता प्रहार गरेका ती युवकले दुर्गेशसँग माफी मागे । दुर्गेशले पनि कलाकारहरुलाई यस्तो घटना सामान्य लाग्ने जनाउँदै माफी दिए । अन्तत उनीहरु आ–आफ्नो बाटो लागे । 

दुर्गेश उक्त घटना बाहिर नआओस् भन्ने चाहन्थे । आफूमाथि जुत्ता प्रहार हुनु आफैंमा लज्जास्पद कुरा भएको जनाउँदै आयोजक र प्रहरीलाई पनि दुर्गेशले यो घटना गुपचुप राख्न अनुरोध गरेका थिए । 

तर, महोत्सवमा एक जना दर्शकले दुर्गेशमाथि भएको जुत्ता प्रहारको भिडियो खिचेका रहेछन् । उनले सामाजिक सञ्जालमा पोष्ट गरे । यसपछि के चाहियो र ? दुर्गेश जे चाहँदैन थे, अन्ततः त्यही भयो । 

अहिले दुर्गेशमाथि जुत्ता प्रहार भएको भिडियोले सामाजिक सञ्जाल तातेको छ । दर्शकहरु दुई खेमामा बाँडिएका छन् । अधिकांशले दुर्गेशलाई ’पल शाहको पाप’ लागेको भन्दै कटाक्ष गरेका छन् । केहीले दुर्गेशलाई सहानुभूति दिएका छन् ।

के हो ’पल शाहको पाप’ ? 

अघिल्ला वर्षमा गीत–भिडियोको चर्को आलोचना भएपनि दुर्गेशले ०७८ सालको फागुनसम्म राम्रै लयमा कलाकारिता अघि बढाइरहेका थिए । राम्रै नाम–दाम कमाउँदै आएका थिए । 

तर जब फागुन १५ गते अभिनेता पल शाह नाबालिका गायिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परे, तब दुर्गेश पहिलो पटक दर्शकको निशानामा परे । पलसँग सहोदर दाजुभाइको सम्बन्ध बनाएका दुर्गेशमाथि दर्शकहरु आक्रोशित हुनुको कारण एउटै थियो, अडियो लिक । 

पललाई बलात्कारकोे आरोप लगाएकी नाबालिका गायिकासँग भएको दुर्गेशको गोप्य अडियो सार्वजनिक पछि घटनाक्रमले नयाँ मोड लिएको थियो । त्यो घटनाले यति भयानक रुप लियो कि एकातिर पलले दुई वर्ष जेलमा बिताए । अर्कोतिर पलका दर्शक र दुर्गेशकै दर्शक पनि उनीमाथि नै खनिनथाले । अहिलेसम्म पल र दुर्गेशबीच बोलचाल नभएको बताइन्छ ।

पछिल्लो समय दुर्गेश जुन कार्यक्रममा पुगे पनि एउटै विषयको शिकार बन्छन्, पललाई फसाउने डिजाइनर भन्ने नाममा । अधिकांश दर्शकले दुर्गेशलाई भेट्न/देख्न बित्तिकै पलसँग जोडेर आरोप लगाइहाल्छन् । 

पल अदालतबाट सफाइ पाएर आफ्नो कर्मको लयमा फर्किसकेका छन् । तर दुर्गेश भने अझै त्यो घटनाको ’ह्याङओभर’बाट निस्कन सकेका छैनन् ।

टिप्पणीहरू