गायिका मेनुका पौडेल शीतल निवासमा सम्मानित

गायिका मेनुका पौडेल शीतल निवासमा सम्मानित
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ । 

भारतीय रियालिटी गायन शो ’इण्डियन आइडल’ को उत्कृष्ट आठबाट बाहिरिएकी मेनुकालाई आज राष्ट्रपति पौडेलले राष्ट्रपति भवन, शीतल निवासमा सम्मान गर्नुभएको छ । 

राष्ट्रपति पौडेलले मेनुकाले नेपाल र नेपाली गीत संगीतलाई विश्वबजारमा पुर्याउन उल्लेखनीय भूमिका खेलेको बताउनुभयो । फरक शारीरिक क्षमताका बाबजुद पनि मेनुकाले प्राप्त गरेको उपलब्धी दुर्लभ रहेको राष्ट्रपतिको भनाई छ  । 

गायिका मेनुका साताअघि नेपाल फर्किएकी हुन् । उनलाई गृहजिल्ला झापामा भव्य स्वागत गरिएको थियो । इण्डियन आइडलमा निर्णायकहरुले मेनुकालाई ’दोस्रो लता मंगेशकर’ को उपनाम दिएका थिए । 

उनले बहुप्रतिक्षित चलचित्र ’सलार’ मा समेत एउटा गीतमा स्वर दिइसकेकी छन् । उक्त गीतले सामाजिक सञ्जालमा राम्रै चर्चा बटुलेको छ । उनले भनेकी छिन्, ‘सलारको गीतपछि अरु फिल्ममा पनि अफर आइरहेको छ । इण्डियन इन्डष्ट्रीमा राम्रै भइरहेको छ । बलिउडको प्लेब्याक गायनमा पनि हात हालेकी छु, आफ्नो पनि तयारी गर्छु ।’

आगामी एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्टमा व्यस्त हुने मेनुकाले यसअघि नै बताइसकेकी छन् ।
 

टिप्पणीहरू