श्रीमतीसँग बिदा माग्दै नेपालीद्वारा अमेरिकामा आत्महत्या

श्रीमतीसँग बिदा माग्दै नेपालीद्वारा अमेरिकामा आत्महत्या
सुन्नुहोस्

सामान्य अवस्थामा मान्छेले आफ्नै शरीरमा कसरी आगो झोस्न सक्छ ? यस्ता घटनामा मूलत: आर्थिक र पारिवारिक कारण देखाइन्छ । धेरैले भन्छन्, नेपालको बिग्रँदो आर्थिक अवस्थाले युवाहरुलाई आत्महत्याको बाटोमा डोर्याइरहेको छ । संसद भवनअगाडि एक युवाले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको घटनालाई त्यसैगरी प्रचार गरियो । 

तर,विदेशमा राम्रै कमाई गरिरहेकाहरुले समेत आत्मदाहको बाटो रोजेका कयौँ घटनाले भने यस्ता तर्कहरुको खण्डन गरिरहेको छ । सन्दर्भ हो-अमेरिकामा रहेका चर्चित रक्तदाता अर्जुन मैनालीको आत्महत्या । अमेरिकालाई धेरैले सपनाको शहर भन्छन् । त्यहाँ छिर्नकै लागि नेपालीहरु लाखौँ खर्च गर्न तयार हुन्छन् । अनेक हण्डर ठक्कर खाँदै अवैध बाटोबाट हजारौँ युवा अमेरिका पुग्ने गरेका छन् । तर,सुख खोज्न सपनाको शहर छिरेका काभ्रेका मैनालीले भने पराई भूमिमै अन्तिम श्वास फेरेका छन् । 

काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत सिपाली गाउँमा जन्मिएर काठमाडौँ घट्टेकुलोमा घर भएका मैनाली सन् २००६ मा अमेरिका पुगेका थिए । सपरिवार नर्थ क्यारोलाइनामा बस्दै आएका थिए उनी । दुई सय छ पटकभन्दा बढी रक्तदान गरेका मैनालीको सामाजिक छवि पनि राम्रो थियो । उनी पूर्वगृहसचिव तथा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीका आफन्त पनि हुन् ।

पारिवारिक पृष्ठभूमि र अहिलेको अवस्था हेर्दा आर्थिक कारणले मैनालीलाई आत्महत्या गर्नुपर्ने अवस्था थिएन। तर, पारिवारिक कलहका कारण 'डिप्रेसन'मा पुगेका उनले शरीरमा आगो लगाएर प्रण त्यागेका छन् । 

२ हप्ताअगाडि नेपालमा छोरीको बिबाह गरेर अमेरिका फर्किएका मैनालीले २ फेब्रुअरीमा कार भाडामा लिए । घरअगाडिको पार्कमा राखिएको त्यही कारभित्र आज बिहान ६ बजे उनको शव भेटिएको हो । त्यहाँस्थित एक नेपालीले बताएअनुसार पारिवारिक कलहकै कारण उनले आत्महत्या गरेका हुन् । 

आत्महत्याअघि उनले लेखेको एउटा फेसबुक स्टाटसमा पनि श्रीमतीका माइती पक्षको अपमान सहन नसकेर यस्तो निर्णयमा पुगेको उल्लेख छ । श्रीमती तारा कोइरालालाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा सालो र उनकी श्रीमतीलाई दोषी देखाइएको छ । श्रीमतीको अगाडि उनीहरुले आफूलाई गरेको व्यवहार असह्य भएपछि आत्महत्याको निर्णयमा पुगेको उनले बताएका छन् । 

यस्तो छ मैनालीको स्टाटस 

प्यारी श्रीमती तारा,

धेरै धेरै माया!

आज म परलोक जाँदै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाई मार्न हतियार चाहिँदो रहेनछ,शब्द पनि काफी हुँदो रहेछ । जीवनभरि सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्नीको सामुन्ने तातो न छारोको कुरामा नामर्द,नीच, खत्तम परिवारको मानिस,सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला ! यसरी उसले आफू असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे । तिनीहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरासहित हाम्रो घरमा आएर गरेको  झगडाको दूरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भइहाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला ! त्यो झगडाले छोरो भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिए,तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थिएन । उसले आफ्नो स्वास्नीको गर्मीलाई शीतल बनाउन तिम्रो घरबार बिगार्यो, बिधुवा बनायो,छोरोलाई टुहुरो बनायो,मेरो आमाको काख रित्यायो । यत्रो ठूलो नोक्सान बनाएर उसले के जित्यो? के पायो ? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दए पनि पूर्ति हुन सक्ला त ?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँचिरहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ ।  बिहे सम्पन्न भयो । ४ दिनअगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, 'यो कारमा को आएको छ'? त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउँथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । नआत्तिनु । तिम्रो पीडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् । 

गत बर्ष अमेरिकामा ५० हजार जना राजेखुशी परलोक गएछन् । अग्निको बाटोबाट १ प्रतिशतभन्दा कम गएका रहेछन् । यो बाटो ज्यादै नै पीडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनीय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शीतल र सुखानुभूति हुन्छ नै होला । त्यही नै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खद निधन भएतापनि मेरा शुभचिन्तकज्यूहरुले रक्तदान,रक्तदान उत्प्रेरणा,रक्तदान कार्यक्रम,रक्तदाता संगठनजस्ता कुरालाई निरन्तरता दिइ रहनुहुनेछ भन्ने लागेको छ । ताकि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन् । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले 'द गिफ्ट अफ लाइफ' प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानका बारेमा केही सिकुन् । प्रेरित होउन् । अरु के भनम ! मसँग यत्रो पीडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाई राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ । 

म,तिमी,छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै कृतज्ञ छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कुदृष्टि पर्‍यो । सबै सत्तानाश भयो । अब मैले बारबार जन्म लिनु नपरोस् । यदि परेमा फेरि पनि  तिमीलाई नै पाऊँ। जस्तोसुकै गाह्रो परिस्थिति आए पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस् । तिम्रो श्रीमान । ॐ नम शिवाय ! 

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥
 

टिप्पणीहरू