दक्षिणतिर फिल्मका हिरोले खोले नयाँ दल

दक्षिणतिर फिल्मका हिरोले खोले नयाँ दल
सुन्नुहोस्

भारतमा पछिल्लो समय विभिन्न सेलिब्रेटीहरुमा राजनैतिक लहर चलेको छ । भलै केही मात्र राजनीतिमा स्थापित हुन सके भने केहीले छोटो समयको रहरमात्र पूरा गरे । 

यहीबीच दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजय थलपतिले पनि राजनीतिक यात्राको शुभारम्भ गरेका छन् । उनले ’तमिझगा वेत्री कडगम’ नामक एउटा पार्टी नै गठन गरेर नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन् । विजयले तामिल र तेलूगु समुदायलाई विशेष प्राथमिकतामा राखेर नयाँ पार्टी बनाएको दैनिक भाष्करले लेखेको छ ।

अहिले भारतमा रहेका ठूला राजनीतिक दलहरु आम आदमी पार्टी, बहुजन समाज पार्टी, भारतीय जनता पार्टी, कम्युनिष्ट पार्टी अफ इन्डिया, इन्डियन नेश्नल कंग्रेस र नेश्नल पिपुल्स पार्टीले तामिल र तेलूगु सामुदायलाई सम्बोधन गर्न नसकेको भन्दै विजयले नयाँ पार्टी गठन गरेको जानकारी दिएका छन् ।

विजयले नयाँ पार्टी तमिझगा वेत्री कडगमको अध्यक्षको जिम्मेवारी तत्कालको लागि आफै सम्हालेका छन् । पार्टीका अन्य पदाधिकारीको नाम भने अझै सार्वजनिक गरिएको छैन । तर एक महिनाभित्रै पार्टीलाई संगठनात्मक रुपले पूर्ण आकार दिने बताइएको छ । 

उनले सन् २०२६ मा विधान सभाको निर्वाचन लड्ने पनि प्रवल सम्भावना देखिएको छ । विजयले राजनीति यात्राको घोषणा गरेपछि उनका दर्शकहरुले उत्साहित हुँदै दुई वर्षपछि निर्वाचनको लागि अहिलेदेखि शुभकामना दिन थालेका छन् । 

सन् १९८० मा ’वेत्री’बाट चलचित्रमा डेब्यु गरेका विजयले हालसम्म ७० भन्दाबढी चलचित्रमा काम गरिसकेका छन् । उमेरले ४९ बर्ष पुगेका उनी भारतको सर्वाधिक महंगा अभिनेताको सूचीमा पर्छन् । भारतीय सञ्चारमाध्यमहरुले बताएअनुसार उनी ’चूजी’ अभिनेता हुन् । 

उनको पछिल्लो चलचित्र ’लिओ’ले ७ सय करोड कमाएको थियो । त्यस्तै, उनको अन्य चलचित्र ’बिगिल’, ’वारिसु’, ’मर्सल’, ’सरकार’, ’मास्टर’, ’विस्ट’, ’थेरी’ लगायतका चलचित्र सय करोड क्लबमा सूचीकृत भइसकेका छन् । 

विजयले अब राजनीतिमा सक्रिय हुने घोषणा गरे पनि चलचित्र करिअरबारे भने केही खुलाएका छैन । उनले चलचित्रको यात्रालाई पुर्णविराम दिन्छन् वा राजनीतिसँगै अघि बढाउछन्, त्यो भने केही दिनपछि थाहा हुनेछ । उनले केही दिनमा बृहत पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् । 

त्यसो त, यसअघि पनि विभिन्न कलाकारहरुले नयाँ पार्टी बनाएर राजनीतिमा सफल भएर स्थापित भइसकेका छन् । अभिनेता एनटिआरले सन् १९८२ मा ’तेलूगु देशम पार्टी ’निर्माण गरेका थिए । सोही पार्टीबाटै उनी तीन पटक आन्ध्र प्रदेशको मुख्यमन्त्री बनेका थिए । त्यस्तै अभिनेत्री जयराम जयललिता पनि  ’अखिल भारतीय अन्ना द्रविड मुनेत्र कडगम’ (एआईएडीएमके)बाट एकपटक तामिलनाडुको मुख्यमन्त्री बनेकी थिइन् । अभिनेता चिरन्जीवीले पनि ’प्रजा राज्यमा पार्टी’ खोलेर पर्यटन मन्त्री बनेका थिए ।

टिप्पणीहरू