सर्वोच्चमा धर्ना बस्न खोजेकी न्यायाधीश पत्नीलाई सिंहदरबार पुर्याइयो

सर्वोच्चमा धर्ना बस्न खोजेकी न्यायाधीश पत्नीलाई सिंहदरबार पुर्याइयो

अदालत प्रशासनले मुद्दाको पेशी बारम्बार पछाडि सारेको विरोधमा उत्रिएकी आरती रावल पक्राउ परेकी छन् । आज सर्वोच्च अदालत परिसरमा धर्ना बस्न खोजेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

आरतीलाई कालिकास्थान नजिकैको सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीशसमेत रहेका श्रीमान् भुवन गिरीविरुद्ध उनले वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । 

सोही मुद्दाको पेशी पछाडि सारेर आफूलाई थप पीडा दिइएको उल्लेख गर्दै उनी आज बिहान अदालतमै धर्ना बस्न पुगेकी थिइन् । तर, प्रहरीले उनलाई समातेर सिंहदरबार वृतमा राखेको छ । 

यसअघि पनि अदालतअगाडि आमरण अनशन बस्न खोजेपछि पटक–पटक प्रहरी नियन्त्रणमा पुगेकी आरतीले एक पटक सर्वोच्चको गेटबाहिर मट्टितेल खन्याएर आत्मदाहको प्रयाससमेत गरेकी थिइन् ।

गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले चैत २२ गते पक्राउ पूर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत चैत २८ गते उनलाई पक्राउ गरेर कपिलवस्तु लगेको थियो । तर, अदालतले धरौटीमा छाडेपछि आन्दोलन गर्दै आएकी आरतीले सर्वोच्चमा मुद्दा हालेकी हुन् ।
 

टिप्पणीहरू