विदेशमा अपराधी, धमाधम रेड नोटिस जारी

विदेशमा अपराधी, धमाधम रेड नोटिस जारी

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भएका फरार प्रतिवादीहरु पछिल्लो समय पक्राउ पर्न थालेका छन् । 

मुलकमा अपराध गरेपछि विदेशमा फरार प्रतिवादीलाई इन्टरपोलको सक्रियतामा पक्रेर स्वदेश ल्याई कानूनी प्रक्रिया अघि बढाउने कामले तीव्रता पाएको नेपाल प्रहरीले जनाएको छ । 

जबरजस्ती करणी मुद्दामा फरार भएका सुनसरीका सेहमान खान इन्टरपोलबाट रेड नोटिस जारी भएपछि माघ १० गते कतारमा समातिए । जिल्ला प्रहरी कार्यालय, सुनसरीले उनको अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोल शाखालाई पत्र लेखेको थियो । शाखाको अनुरोधमा माघ ३ गते उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको हो । 

वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने प्रलोभनमा लाखौं रकम ठगेर फरार भएका सर्लाहीका कोमलराज उपाध्याय गत पुस १ गते संयुक्त अरब इमिरेट्सबाट पक्राउ परेका हुन् । दुबईमा आकर्षक तलब सुविधासहितको रोजगारी लगाइदिने प्रलोभनमा उनले ८३ जना पीडितबाट दुई करोड ६३ लाख ५४ हजार ठगेको आरोप छ । 

भिजिट भिसामा दुबईसमेत बोलाएका उनले रोजगारी लगाउन नसकेपछि पीडितहरु त्यहाँ बिचल्लीमा परेका थिए । उनीविरुद्ध इन्टरपोलबाट २०७९ बैशाख २७ गते रेड नोटिस जारी भएको थियो । 

रेड नोटिस जारी भएको डेढ वर्षपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई संयुक्त अरब इमिरेट्सबाट पक्रेर नेपाल ल्याएको हो । यता, ठगी तथा संगठित अपराध कार्यमा संलग्न धनुषाका रजिन्द्र पासवान इन्टरपोलबाट रेड नोटिस जारी भएपछि पुस ८ गते कतारमा समातिएका हुन् । 

उनीलगायत अन्य अपराधीले पीडितको माछापुच्छे्र बैंकको खातामा रहेको नौ लाख रुपैयाँ अनाधिकृत रुपमा ट्रान्सफर गरेर विभिन्न बैंकको एटिएम कार्डमार्फत् निकालेको प्रहरीको आरोप छ । 

अनुसन्धानका क्रममा वैदेशिक रोजगारीको सिलसिलामा उनी कतारमा रहेको देखिएपछि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोलले गत मंसिर २१ गते रेड नोटिस जारी गरेको थियो । नोटिस जारी भएपछि एनसिबी दोहा, कतारको समन्वयमा प्रहरीले उनलाई पक्रेर नेपाल ल्याएको हो । 

यता काभ्रेपलाञ्चोकका उमेश लामा पनि गत पुस २ गते कुवेतमा समातिए । प्रहरी वृत्त जगाती, भक्तपुरमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेको खुलेको थियो । 

गत असोज ११ गते रेड नोटिस जारी भएपछि एनसिबी कुवेतको समन्वयमा उनलाई कुवेतमा पक्रेर नेपाल ल्याएको हो ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाल मुलुकमा अपराध गरेर विश्वको जुनसुकै देशमा गएपनि प्रहरीले नछाड्ने दाबी गर्छन् । भन्छन्, ‘नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गएपनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले छाड्दैन ।’

सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवम् विश्वव्यापी प्रहरी सञ्चार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रसँग समन्वय र सूचना आदानप्रदान गर्दै आइरहेको उनको भनाइ छ । 

‘सोही सुविधाकै कारण एनसिबी काठमाडौंले विभिन्न नोटिस जारीका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ,’ प्रवक्ता ढकालले भने । 

रेड नोटिसको श्रृंखला जारी

सहकारीको अर्बौ रकम हिनामिना गरी फरार भएका ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनलाई पक्राउ गर्न रेड नोटिस जारी भइसकेको छ । 

ठगीसम्बन्धी कसुरमा फरार उनको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि रेड नोटिस जारी गर्न सीआईबीले इन्टरपोल शाखालाई पत्राचार गरेको थियो । अघिल्लो साता इन्टरपोल महासचिवालयबाट उनीविरुद्ध रेड नोटिस जारी भएको हो ।

बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध पनि सहकारी ठगी प्रकरणमा गत माघ १२ गते रेड नोटिस जारी भएको छ । इमेज बचत तथा ऋण सहकारीका अध्यक्षसमेत रहेका उनी हजारौं बचतकर्ताको करोडौं बचत रकम बोकेर गत जेठदेखि फरार छन् । 

विभिन्न मुद्दामा फरार प्रतिवादीको अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउ गर्न इन्टरपोलद्वारा रेड नोटिस जारी गर्ने क्रम बढ्दो रहेको नेपाल प्रहरीले जनाएको छ । 

माघ १९ गते एकै दिन छ जनाविरुद्ध रेड नोटिस जारी भएको छ । तीमध्ये वैदेशिक रोजगार ठगीमा चार जना र सहकारी ठगीमा दुई जनाविरुद्ध रेड नोटिस जारी भएको हो । 

प्रहरीको तथ्याङ्कअनुसार सन् १९९१ देखि हालसम्म अर्थात् विगत ३३ वर्षको अवधिमा एक सय ६८ जनाविरुद्ध रेड नोटिस जारी भएको छ । 

तीमध्ये ६१ वटा रेड नोटिस हाल कारबाहीको प्रक्रियामा देखिन्छ । तीमध्ये ५५ जना नेपाली र ६ वटा नोटिस विदेशी नागरिकविरुद्ध हो ।

इन्टरपोलमा आठ किसिमका नोटिस, के हो रेड नोटिस ?

अपराध गरेर विदेश भागेकालाई पक्राउ गर्न इन्टरपोलले विभिन्न नोटिस जारी गर्छ । ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘अरेन्ज’, ‘पर्पल’ र ‘डिफ्युजन’ गरी आठ किसिमका नोटिस जारी गरिन्छ । 

यस्ता नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्नुपर्छ । इन्टरपोलमार्फत् जारी नोटिसको निम्ति सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । 

प्रहरीका अनुसार सम्बन्धित देशको अदालतबाट वारेन्ट (पक्राउ पुर्जी) जारी भएका फरार अभियुक्तको खोजीका लागि रेड नोटिस जारी गरिन्छ । 

त्यस्तै, वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तको खोजीका लागि डिफ्युजन नोटिस जारी गरिन्छ । 

सनाखत नभएका मानव शवको पहिचानका लागि ब्ल्याक नोटिस, हराएका मानिसको अन्तर्राष्ट्रियस्तरमा खोजी कार्यका लागि एल्लो नोटिस जारी हुने गरेको प्रहरीले जनाएको छ । 
अपराधीले अपराधमा प्रयोग गरेका हतियार, विष्फोटक पदार्थ तथा खतराजन्य अन्य चिजवस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन अरेन्ज नोटिस जारी गरिन्छ । 

यस्तै, अपराधिक कार्यविधिको बारेमा जानकारी लिन पर्पल नोटिस, व्यक्तिको अपराधिक क्रियाकलापबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस र अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुन्छ । 

इन्टरपोल भनेको के हो ? 

अन्तर्राष्ट्रिय अपराधिक प्रहरी संस्था (इन्टरपोल) विभिन्न देशका प्रहरीबीच सहकार्य गरी अन्तर्राष्ट्रियस्तरमा अपराधिक गतिविधिविरुद्ध संयुक्त रुपमा कार्य गर्ने अन्तर्राष्ट्रिय संस्था हो । 

यो सन् १९२३ मा स्थापना भएको हो । हाल इन्टरपोलमा एक सय ९६ सदस्य राष्ट्र सदस्य छन् । नेपाल इन्टरपोलको १०० औं सदस्य राष्ट्र हो । 

हरेक सदस्य राष्ट्रमा विश्वभरिका सदस्य राष्ट्रहरुसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेसनल सेन्ट्रल ब्यूरो (एनसिबी) भनिन्छ । 

नेपाल प्रहरीका आइजीपीले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने कानूनी व्यवस्था छ । जसअनुसार हाल प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख हुन् ।

टिप्पणीहरू