चलचित्र जाँचसम्बन्धी प्रस्तावित कार्यविधि विवादित

चलचित्र जाँचसम्बन्धी प्रस्तावित कार्यविधि विवादित
सुन्नुहोस्

चलचित्रसम्बन्धी नयाँ कार्यविधि विवादमा परेको छ । केन्द्रीय चलचित्र जाँच समितिले तयार गरेको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८०’  'सेन्सर बोर्ड'बाट पारित गर्ने तयारी भैरहँदा विवादित बनेको हो । 

हाल मस्यौदाको रुपमा रहेको २९ बुँदे कार्यविधिमा उल्लेखित केही बुँदालाई लिएर सरोकारवालाहरुले विरोध जनाएका छन् । संशोधन गरेर मात्र कार्यविधि पास गर्नुपर्ने उनीहरुको माग छ । अन्यथा चलचित्र क्षेत्र नै धरायसी हुने चलचित्रकर्मीहरुको भनाई छ । 

समितिले चलचित्रलाई  'यू', 'पिजी', 'एडल्ट' गरी तीन वर्गका सर्टिफिकेट प्रदान गर्दै आएको थियो । सोही आधारमा चलचित्रले इजाजतपत्र पाउने हालको व्यवस्था प्रस्तावित कार्यविधिमा संशोधन गरिएको छ । 

२० बुँदे कार्यविधिले चलचित्र निर्माणको क्षेत्राधिकार साँघुरो बनाउने निर्माताहरुको गुनासो छ । कार्यविधिमा पाँच सेकेन्डभन्दा लामो चुम्बनको दृश्य राख्न नपाइने, पारदर्शी पोशाक लगाउन नपाइने, दोहोर अर्थलाग्ने शब्दहरु प्रयोग गर्न नपाइने लगायतका कुराहरु उल्लेख गरिएको छ । 

एक निर्माताले सामाजिक सञ्जालमा लेखेका छन्, 'सरकारले चलचित्रकर्मीहरु लाई तानाशाहीको जस्तो व्यवहार देखायो । यो त चराको पखेट्टा आफै काटिदिएर उड्न छाडिदिएजस्तो भएन र सरकार ?'

चलचित्रसम्बन्धी नयाँ कार्यविधिमा उल्लेख भएका २० बुँदाहरू यस्ता छन् : 

१. नेपालको शान्ति, सुरक्षा र व्यवस्थामा खलल पुर्याएमा । 
२. मित्रराष्ट्रसँगको सुसम्बन्धमा नकारात्मक असर परेमा । 

३. कानुनको गलत व्याख्या गरी वा अदालतको अपहेलना र मानमर्दन गरेमा ।
४. जाति, धर्म, वर्ग, लिंग, वर्ण, समुदाय, सम्प्रदायबीच नकारात्मक असर पारेमा, धार्मिक, सांस्कृतिक, सामाजिक विचलन ल्याएमा । 
५. राष्ट्रिय हितविपरित दृश्य र संवाद भएमा । 
६. अपराध गर्न दुरुत्साहन गरेमा । 
७. व्यक्ति विशेष, पेसा, व्यवसायी, संस्थाप्रति मानमर्दन भएमा । 
८. बाल हिंसा, जघन्य अपराध, निर्दयी व्यवहार झल्केमा । 
९. पशुपन्छीमाथि निर्दयीपूर्ण जघन्य हिंसा गरिएको दृश्य भएमा । 
१०. शारीरिक, मानसिक अशक्तता भएकालाई होच्याउने, खिसी गर्ने, हिंसा गरिएको निर्दयीपूर्ण व्यवहार झल्काएमा । 
११. लागू पदार्थ तथा मद्यपानको लागि उत्साहित वा प्रेरित गरेमा । 
१२. मानवीय संवेदना गुम्ने किसिमका नग्नता, बलात्कार, सम्भोगका दृश्य, व्यवहार तथा नैतिकता प्रतिकूल हुने गरि प्रस्तुत गरेमा । 
१३. लैङ्गिक भेदभाव, महिलालाई होच्याइएका, आलोचना गरिएका दृश्य, संवाद भएमा । 
१४. द्धिअर्थी शब्द, दृश्य तथा संवाद भएमा । 
१५. खोज आविष्कारलाई हतोत्साही गर्ने, अवैज्ञानिक विषयवस्तुलाई प्रोत्साहित गर्ने, राष्ट्रिय स्वार्थविपरीतको सोच, व्यवहार प्रोत्साहित गरेमा । 
१६. शान्ति,, सुव्यवस्था र अमनचैनमा नकारात्मक असर परेमा । 
१७. मौलिक परम्परा, रीतिरिवाज, चालचलन, मूल्यमान्यता ह्रास आउने तथा सोको दुरुपयोग गरिएका दृश्य तथा संवाद समावेश भएमा । 
१८. यौन उत्तेजना बढाउने गरी ५ सेकेन्डभन्दा बढी गरिएको भद्दा चुम्बन, यौनजन्य अस्वाभाविक क्रियाकलाप एवं व्यवहार तथा पुरुष वा स्त्री जनेन्द्रीय प्रत्यक्ष वा पारदर्शी पोसाकबाट देखिने र त्यसलाई प्रयोग गरी यौन उत्तेजना बढाएमा । 
१९. मानवअधिकार उल्लंघन हुने गरी असह्य यातना देखाइएको पाइएमा । 
२०. राष्ट्रिय गान, चिन्ह, अलंकारको दुरुपयोग तथा इतिहास, भूगोल, राष्ट्रिय विभूति, सहिदहरुप्रति गलत व्याख्या गरिएमा ।
 

टिप्पणीहरू