बेलायतमा आमा छोरीमाथि आक्रमण, आक्रमणकारी फेला पार्न प्रहरी असफल

बेलायतमा आमा छोरीमाथि आक्रमण, आक्रमणकारी फेला पार्न प्रहरी असफल

आर्थिक उपार्जनको नाममा नेपालीहरु विभिन्न मुलुक जाने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । नेपाल मात्र होइन विश्वका अन्य अविकसित र अल्पविकसित मुलुकको अवस्था पनि हाम्रो जस्तै छ । विकसित मुलुकमा पुगेकाहरु फर्किएर आउँदैनन् । उनीहरु त्यतै बस्न रुचाउँछन् । त्यहाँको भौतिक सुखसुविधामै रमाउने गरेका छन् । जो जहाँ गएपनि सबैको उद्देश्य एउटै हो, कमाउने र सुःखमय जीवन बिताउने । 

हुन त अपराधै नहुने अहिलेको विश्वमा कुनै समाज छैन । जति सम्पन्न र सुसंस्कृत समाज हुन्छ, त्यति धेरै अमानवीय र पाशविक घटनाहरु घट्छ । गतसाता बेलायतमा भएको एउटा घटनाले सबैको ध्यान खिचेको छ । सरकार, न्यायालय मात्र होइन स्थानीय चर्चको पनि कमजोरी पर्दाफास भएको छ । त्यति बलियो र विधियुक्त प्रणाली बाबजुद उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकिएको छैन । उनलाई सहयोग गर्ने व्यक्तिसम्म पुगेपनि अपराधी भेटिएका छैनन् । 

उनी धेरै ठाँउमा पुगेको सीसीटिभी फुटेजहरु सार्वजनिक गरिएको छ । सुराकी दिनेलाई २० हजार पाउण्ड पुरस्कारको घोषणा गरिएको छ । तरपनि बेलायती प्रहरीले सफलता हात पार्न सकेको छैन । दक्षिण लण्डनको लेसर एभेन्यू, क्लैपम कमनमा जनवरी ३१ को साँझ साढे ७ बजेतिर करिब ३५ वर्षीय एक युवकले आमा र दुई छोरीमाथि आक्रमण गरेको पुष्टि भएको छ ।

एकापसमा चिनजान भएको मानिने ती युवा अफगानी प्रमाणित भएका छन् । उनले शुरुमा तीन वर्षकी बालिकालाई आफ्नो गाडीमा राखे । आमाले प्रतिकार गरेर गुहार मागेपछि वरिपरिका छिमेकीहरु पुगेर सहयोग गरे । उनले बालिकालाई त्यहिँ फ्यालिदिए । साथै, आमा र ठूली छोरीको अनुहारमा  एसिडजस्तो रासायनिक पदार्थ छापिदिए ।

आमा निकै जोडले चिच्याइन् । युवक गाडी लिएर भाग्न खोज्दा रोकेर राखिएको गाडीसँग ठोक्कियो । उनी गाडी त्यहिँ छाडेर फरार भए । एक जना छिमेकीले समात्न खोजे तर सकेनन् । आमा र छोरीहरुलाई उपचारका लागि तत्काल अस्पताल लगियो, चिकित्सकले उनको आँखा फुटेको बताए । 

प्रहरीले रातभर हवाई गस्तीबाट आक्रमणकारीको खोजी गरेको थियो । घटनामा चोटपटक लागेका पाँच प्रहरीसहित १२ जनालाई अस्पताल लगियो । सामान्य औषधोउपचारपछि उनीहरु घर फर्किएका छन् भने आमा र छोरी अस्पतालमै छन् । प्रहरीले खोजी गर्ने क्रममा उनी विभिन्न स्थानका सीसीटिभीमा देखिएका छन् । 

सो दिन बिहानै उनी करिब २८० माइल टाढाको शहर न्युक्यासलबाट लण्डन आफ्नै गाडीमा गएका थिए । करिब साढे ६ बजे उनी टुटिङ क्षेत्रमा देखापरेका छन् । क्रोयडनमा लगभग साढे ४ बजे उनको गाडी देखिएको थियो । ७ बजे उनी स्ट्रिथममा पुगेका थिए । रोकिरहेको गाडीमा ठोक्किएको कारण गाडी छाडेर भागेका उनी करिब पाँच मीनेटपछाडि क्ल्यापम साउथबाट भूमिगत स्टेशनको एक ट्यूबमा चढेका थिए । 

८ बजेतिर उनी किङ्गक्रसमा हिँडिरहेको देखिन्छ भने ८ बजेर ४२ मीनेटमा क्यालेडोनियन रोडमा रहेको टेस्कोको सीसीटिभीमा देखिएको छ । उनको अनुहारको दाहिनेपट्टी निकै ठूलो चोट लागेको देखिन्छ । ९ बजे उनी भिक्टोरिया लाइनको ट्युबमा चढेका थिए । केही स्थानसहित उनलाई ९ बजेर ४७ मीनेटमा क्यानोन स्ट्रिटनजिक देखिएको छ । 

त्यसको भोलिपल्ट प्रहरीले ३५ वर्षीय अब्दुल शोकुर एजेदीलाई सार्वजनिक गरेको थियो । उनी सन् २०१६ मा अफगानिस्तानबाट विभिन्न देश हुँदै आइपुगेको खुलेको छ । उनले आउनेबित्तिकै शरणका लागि आवेदन दिएका थिए, तर पाएनन् । त्यसपछि उनले इस्लाम धर्म त्याग गरेर इशाई धर्म ग्रहण गरे । यसलाई आधार बनाएर उनले आफू मुलुक फर्किए ज्यान सजाय हुने भन्दै पुनः आवेदन दिएको पाइएको छ ।

टिप्पणीहरू