रवि फस्ने डरले भ्रष्टाचारका मुद्दामा रास्वपा मौन बसेको ठहर

रवि फस्ने डरले भ्रष्टाचारका मुद्दामा रास्वपा मौन बसेको ठहर
सुन्नुहोस्

'भ्रष्टाचारविरोधी अभियान'को नारा दिएर राजनीतिमा आएका रास्वपा सभापति रवि लामिछानेको नाम काण्डै काण्डमा जोडिने गरेको छ । तर, 'जान्नेलाई छान्ने' पार्टीका नेता, सांसदहरु चुइङ्क बोल्दैनन् । लामिछानेमाथि लागेका अनेकौँ आरोपमा त्यस पार्टीका नेताहरुको रहस्यमय मौनताले के संकेत गर्छ ? जवाफ दिएका छन्, सिके राउतले । 

हो-मा-हो मिलाउँदै दौडिने भीडको मनोविज्ञानलाई क्यास गरेर उदाएको रास्वपा र रविबारे तराई-मधेसलाई छुट्टै राज्य बनाउने अभियानअन्तर्गत सशस्त्र संघर्षको पृष्ठभूमिबाट आएको जनमत पार्टीक अध्यक्ष राउतको टिप्पणी रोचक छ । उनी भन्छन् - काण्डै काण्डमा फसेका रविको मुद्दा जुनसुकै बेला उठ्नसक्ने भएकाले भ्रष्टाचारका मुद्धाहरुमा रास्वपा मौन बस्न बाध्य भएको हो । 

पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा छलफलका लागि उनले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा राष्ट्रिय राजनीतिमा क्रियाशील पार्टीहरुको चरित्र विश्लेषण गरिएको छ । पुराना भन्दा नयाँ पार्टीहरुप्रति बढी आक्रमक देखिएका राउतको दस्तावेजमा रविकै कारण रास्वपा संकटमा परेको दाबी गरिएको छ ।

'शुरुमा धेरै सम्भावना बोकेको देखिएता पनि पार्टी नेतृत्वले बिगतमा गरेका गल्तीहरूका कारण लगातार संकटमा पर्दै गरेको र नागरिकता काण्ड, पासपोर्ट काण्ड, अडियो काण्डदेखि सहकारी काण्डमा सरकारले जतिखेर पनि फसाउन सक्ने हुँदा आन्दोलनको नेतृत्व लिने क्षमता देखिंदैन', दस्तावेजमा उल्लेख गरिएको छ, 'यसको नेतृत्वमा राज्यको अगाडि झुक्नुपर्ने बाध्यता सृजित हुँदै आएको छ । आफैंले उठाएका भ्रष्टाचारका मुद्दाहरुमा समेत पछिल्लो समय खुलेर बोल्न नसक्ने र चुप लागेर बस्नु यहि बाध्यताको उदाहरण हो ।'

रास्वपालाई उनले राजनीतिक दर्शन बिनाको समूहका रुपमा चित्रित गर्दै पुराना पात्रहरुबाट आक्रोशित जनमतले मौका दिएर उदाएको शक्ति पनि भनेका छन् । चितवन क्षेत्र नम्बर २ को मतलाई आधार मानेर रास्वपाले यौटै पार्टीले दुई तिहाइ ल्याउन सम्भव छ भन्नेजस्तो अतिआशावादी निरर्थक दृष्टिकोण राखेको राउतको प्रतिवेदनमा उल्लेख छ । 

रास्वपाको चरित्र चित्रण गर्दै खस आर्य र सम्भ्रान्त वर्गको प्रतिनिधित्व गर्ने  पार्टीका रुपमा राउतले टिप्पणी गरेका छन् । उनका अनुसार रास्वपाले बैचारिक चिन्तन भन्दा गुणतन्त्रको वकालत गर्नु त्यसैको उपज हो । 'धरातलीय राजनीतिक संघर्षबाट नभई एनजीओ संस्कृतिबाट उदाएकाले यसले उम्मेदवार क्लव र लिडरशिप एक्याडेमी जस्ता संयन्त्रको परिकल्पना गरेको छ', दस्तावेजमा भनिएको छ । 

रास्वपासँग राजनीतिक दर्शन, आर्थिक नीति, र विकासको कार्ययोजना नै नभएको ठहर गर्दै राउतले यसको नेतृत्व सत्तामुखी रहेको बताएका छन् । अहिले रास्वपाले चलाइरहेको 'मिशन ८४' अभियान सत्तामा पुग्ने महत्वाकांक्षाको रुपमा हेर्नुपर्ने उनको आसय छ । 'यसको नेतृत्वको जतिसक्दो चाँडो कुनै तरिकाले २०८४ अघि नै सत्ता समीकरण बदलेर प्रधानमन्त्री बन्न सकिन्छ कि भन्ने  नभए २०८४ मा जनमत ल्याएर प्रधानमन्त्री बन्नेमा सिमित देखिन्छ', दस्तावेजमा भनिएको छ, 'मानौँ प्रधानमन्त्री बन्ने बितिक्कै देशको समस्या समाधान हुन्छ ।'

जनमतले रास्वपालाई मधेसी, आदिवासी, मुस्लिम, थारुलगायत सीमान्तकृत वर्गको मुद्दा बोक्न नसक्ने एकल जातिवादी पार्टीका रुपमा पनि चित्रित गरेको छ । 'नेपालको बिबिधता र समाजिक संरचनाप्रति अनुभवको कमीले गर्दा मधेसी, आदिवासी, मुस्लिम, थारुसहितका सिमान्तकृत वर्गको मुद्दा सम्बोधन गर्न यो पार्टीले सक्दैन', दस्तावेजमा अगाडि भनिएको छ, 'नागरिकता विधेयकको विरोध, संघीयता र प्रदेशको विरोध, मधेसकेन्द्रित दल र नेताहरुको विरोध, थरूहट आन्दोलन र पहिचानको आन्दोलनप्रतिको दृष्टिकोण यसका परिचायक हुन् ।' 

रास्वपालाई लोकप्रियतावादबाट निर्देशित समूह हो भन्छन् राउत । सामाजिक अन्तरविरोधलाई आफ्नो बैचारिक दृष्टिकोणबाट चिर्नुपर्नेमा रास्वपाका नेताहरु भीडको पछि लाग्नुले त्यो पुष्टि हुने राउतको बुझाई छ । राष्ट्रपति, नेपाली सेना र संघीयताबारे रास्वपाका नेताहरुले राखेका धारणासँग असहमति जनाउंदै उनी भन्छन्, 'यी संस्थाहरुलाई आफ्नो राजनीतिक दर्शनले चिर्नुभन्दा पनि भीडको हो-मा-हो मिलाउनु र लोकप्रियता हासिल गर्नु नै यसको धेय्य देखिन्छ ।'

टिप्पणीहरू