सत्य लेख्दा खतरा आइलागे पनि ओके छ मलाई

सत्य लेख्दा खतरा आइलागे पनि ओके छ मलाई
सुन्नुहोस्

हामी केही मान्छे धेरै दुखित छौं । किनभने सबै मिलेर ल्याएको गणतन्त्रले आज हाम्रैलागि ठीक ढंगले काम गरिरहेको छैन । बरु गणतन्त्र मन नपराउने तत्व गणतन्त्रको ढाडमा टेकेर यसको टाउकोमा हान्ने दाउमा छ । यो काममा गणतन्त्रको पक्षमा नरहेका तर परिस्थितिले गणतन्त्रलाई स्वीकार्न बाध्य पारेकाहरू सहयोगी बनेर उभिएका छन् । गणतन्त्र किन गणतन्त्रजस्तो हुन सकेन ? किन गणतन्त्रमाथि चुनौती बढिरहेको छ ? यसको निम्ति जिम्मेवार को ? यी सवालको जवाफ नखोजी भएको छैन । किनभने गणतन्त्र धरापमा पर्ने सम्भावना बढ्दो छ । 

कानुनका नौ सिङ र जुरो हुन्छ भन्छन् तर अहिले त राजनीतिलाई पनि त्यस्तै प्रकारको बनाइएको छ । को, कतिबेला, कहाँ, कसको द्वारमा पस्छ र को, कतिबेला, कसको द्वारबाट लाजै नमानी फुत्त निस्किन्छ थाहै नहुने भएको छ अर्थात् पलिटिकल मोरालिटी स्खलित हुँदो छ, भनौं उँधो लाग्दो अवस्थामा छ । गणतन्त्र हामीले साोचेजस्तो नहुनुमा जिम्मेवार हाम्रो राजनीति पनि हो । 

हालसालै राष्ट्रिय सभाको चुनाव सम्पन्न भयो । मतभारको हिसाबले कहाँ, कसले जित्छ भन्ने प्रष्टै थियो । चुनावमा आफ्नो उम्मेदवार जित्नकै लागि मात्रै खडा गरिएको हुँदैन । जुनसुकै चुनावले पनि दललाई आफ्नो शक्ति आँकलन गर्ने अवसर दिन्छ । तर, एमालेले यस चुनावलाई आफ्नो शक्तिको आकलन गर्न होइन, शक्तिलाई यथावत् राखिरहन होइन, लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन होइन कि दक्षिणपन्थीलाई बलियो बनाउनको निम्ति उपयोग गरेको पाइयो । राष्ट्रिय सभाको चुनावलाई एमालेले दुई/दुई तरिकाले गणतन्त्रमाथि धावा बोल्न उपयोग गरेको पाइयो ।

पहिलो, यसले राष्ट्रिय सभामा सिटको बार्गेनिङ ग¥यो । बार्गेनिङलाई नराम्रो भन्न खोजेको होइन । तर उसले यसबापत जुन कुरालाई शर्तको रूपमा पेश गर्‍यो त्यो घोर आपत्तिजनक र अनैतिक थियो । मान्छेको जीवनको मूल्यसँग सिटको सौदावाजी ? यस्तो त भएन नि ! दोस्रो, यसले दक्षिणपन्थसँग तालमेल गरेर गणतन्त्रमाथि धावा बोल्ने काम गर्‍यो । हामीले जोसँग लडेर गणतन्त्र ल्यायौं एमालेले उसैलाई साथ लिएर, आफू कमजोर बनिने अवस्थामा पनि, उसलाई बलियो बनाउन लागिपर्‍यो, भलै त्यो सफल हुन सकेन । के दक्षिणपन्थीहरू कुनै पनि लोकतान्त्रिक दलका मित्रशक्ति हुन सक्छन् ? सामान्य राजनीतिमा हुनै सक्दैनन् । एमालेका निम्ति देशमा के–कस्तो असामान्य परिस्थिति जन्म भयो र ऊ दक्षिणपन्थीको काखमा बस्न पुग्यो ? यसको लेखाजोखा त होला नै ! तर, योभन्दा पनि ठूलो कुरा, हामीले के गर्न चुकिरहेका छौं जसले गर्दा दक्षिणपन्थीले सल्बलाउने शक्ति प्राप्त गरे ? र, किन हाकाहाकी दक्षिणपन्थीलाई सघाउन एमालेजस्तो जनाधार भएको र देशको ठूलो दलसमेत लाग्न पुग्यो ? के यस्तै राजनीति हो हामीले खोजेको ? होइन नि ! 

जनताले चुनेका मानिस नै बेइमान हुने हो भने इमानदार राजनीति कसरी होला र देशले अघि बढ्ने सही रास्ता समात्ला ? इमानदार राजनीतिबिना देशले तरक्की गर्नै सक्दैन । जनताबाट चुनिएर मेयर बनेका केहीले यसपटकको राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेनन् । त्यो टोली यो मतदान प्रक्रियाबाट अलग रह्यो । राष्ट्रिय सभाको महत्व र गरिमा आज कस्ता मानिस चुनिएर त्यहाँ पुगेका छन् त्यसको आधारमा निर्धारण हुँदैन । महŒव भन्ने कुरा यसको ऐतिहासिक भूमिका के हो भन्ने आधारमा तय हुन्छ । यसको उद्देश्य के हो त्यसको आधारमा तय हुन्छ । आज ज–जसले यस चुनावलाई बहिष्कार गरे तिनीहरूले जनताले दिएको अधिकार दुरूपयोग गरे भन्न सकिन्छ । बाहिर लोकतन्त्रको चर्को कुरा गर्ने तर लोकतन्त्रको अभ्यास गर्ने समय आउँदा भाग्ने कुराले अन्तरनिहित मक्सद के रहेछ भन्ने थाहा हुन्छ ।

कतिसम्म अनैतिक र पाखण्डी कुरा छ भने आफूले चुनावमा जनतासँग अपिल गरीगरी मत लिने र जनताको मतले जितेर पदमा पुग्ने तर आफूहरूले भने मतदान बहिष्कार गर्ने, भोटै नहाल्ने !!! यी बहिष्कारवालाले भविष्यमा हुने कुनै पनि चुनावमा उम्मेदवार बनेर जनतासँग भोट माग्ने नैतिक अधिकार गुमाएका छन् । जनताले ज–जसलाई जिताए तिनीहरूको काम भनेको वर्तमान लोकतन्त्रलाई थप मजबुत र उन्नत बनाउनु हो, जनताको पक्षमा नीति नियम बनाउनु हो र विकासका काम अघि बढाउन सकारात्मक भूमिका खेल्नु हो । चुनाव बहिष्कार गरेर उनीहरूले जनताप्रति ठूलो विश्वासघात गरेका छन् । बहिष्कार गर्ने यसखाले कर्मलाई एक प्रकारले गणतन्त्रमाथिको हमला हो भनेर मान्न सकिन्छ । यस्तै हुन्छ राजनीति ? यो कुरा हामीले जनतालाई बुझाउनुपर्छ र जनताले पनि बुझ्नुपर्छ । 

यो चुनावमा अनपेक्षित परिणाम पनि देख्न पाइयो । जनताले चुनेका प्रतिनिधि आफ्नो दलप्रति नै इमानदार छैनन् भने तिनीहरू जनताप्रति कसरी इमान्दार रहलान् ? तिनीहरूबाट सकारात्मक काम होला भनेर कुनै हालतमा भर गर्न सकिन्न । तर, यसरी दलको अवज्ञा हुँदासमेत ती मान्छेमाथि कुनै कारबाही हुन नसक्नुले हाम्रा दल किन विवश र लाचार छन् भन्ने गम्भीर प्रश्नचिह्न खडा भएको छ । यस्तै, लाचारीपनले हो गणतन्त्रमाथि हमला निम्त्याउने, गणतन्त्रमाथि चुनौती थप्ने, लोकतान्त्रिक प्रणालीलाई नै बदनाम गराउने । कसले गर्छ बदनामीको शोध भर्ना ?

देशको अवस्था आजको आर्थिक, सामाजिक तथा राजनीतिक सबै पहलुबाट हेर्दा धेरै चिन्ताजनक अवस्थामा उभिएको देखिन्छ । उच्छृंखलता, अराजकता र बेइमानीपन आफ्नो उच्चतम अवस्थामा पुगेको छ । देशलाई अघि बढाउने मुख्य चालक शक्ति भनेको युवाशक्ति हो । यिनीहरू विभिन्न कारण देखाएर देश छाड्छन् । कोही पढ्ने बहानामा, कोही रोजगारीका लागि भन्दै देशबाट बाहिर गइरा’छन् । कतिसम्म दुःखद अवस्था छ भने देशका कर्णधार भनिएका युवा एकापसमा युद्धरत युक्रेन र रुसी सेनामा भर्ती हुन पुगेका छन् । यी देशको सेनामा भर्ती हुन जानु भनेको कि पैसा कमाइएला कि भने दुई दिनको चोला समाप्त भए होला भनेको हो । सानोतिनो तोडले कुनै पनि मान्छेले आफ्नो ज्यानको यसरी बाजी थाप्दैन ।

युवालाई पेटको निम्ति ज्यानको माया मार्न विवश पारेपछि गणतन्त्र कसरी बलियो होला ! लोकतन्त्र कसरी बलियो होला ! ती र तिनीहरूजस्ता युवाले लोकतन्त्र वा गणतन्त्रको माया किन गर्छन् ? गर्दैनन् । दक्षिणपन्थीले भड्काउने र प्रयोग गर्ने यस्तै ज्यानको माया मार्न बाध्य पारिएका युवालाई हो । राज्यद्वारा बिदेसिन बाध्य पारिएका युवा र तिनका परिवार कसरी दक्षिणपन्थीको मनोविज्ञान युद्धको शिकार बन्न पुग्छन् र कसरी तिनीहरूको प्रभावमा पर्न सक्छन् भन्ने कुराको ज्वलन्त उदाहरण रवि लामिछाने स्वयं नै हाम्रो अगाडि छन् त ! उनको पार्टी रास्वपा छ । मान्छेहरूले हाकाहाकी फलानोलाई काट्छु, मार्छु भन्ने हिम्मत गरिरहेको देखिन्छ । हाकाहाकी कुट्ने–पिट्ने कुरा गर्छन् । राउण्ड किक हानेर नाकको डाँडी भाँच्दिन्छु भन्ने संस्कृति फस्टाइरहेकोे छ देशमा ।

यस्तो अराजक र उच्छृंखल संस्कृतिमाथि कुनै प्रकारको नियन्त्रण र कारबाही देखिँदैन । लाग्छ हामी जंगली राजमा छौं । यो कसको कारणले भइरहेको छ त ? यसलाई रोक्ने, नियन्त्रण गर्ने काम सरकारको हो । देशका सबै दक्षिणपन्थीले यस्ता उच्छृंखल तथा अराजक तत्वलाई आफ्नो मक्सद पूरा गराउन प्रयोग गर्छन् । यिनीहरूले यस्ता तत्वमार्फत समाजमा भोक सिर्जना गराएर जनताको समर्थन आफूसँग रहेको देखाउने प्रयास गर्छन् । मान्छे मिडियाको प्रभावमा पर्न कत्ति पनि बेर लाग्दैन । अहिले जता गए पनि यी सबै नेता खत्तम छन् भन्ने भान पारिएको देखिन्छ (केही त खत्तम पनि छन् है साँच्चिकै) । यो कुराको छनक गणतन्त्र पक्षधरलाई खै त भएको ?

हाम्रो राजनीति परिवारवादमा गएर थपक्क बसेको छ । यो कुरालाई हामीले स्वीकार नगरे पनि, गलत भइरहेको छ भनेर नभने पनि आजको यथार्थ यही हो । तर, कुरा के हो भने हाम्रो मनभित्र पनि यहाँ गलत भइरहेको छ भन्ने आवाज त छ तर विभिन्न स्वार्थको कारणले भन्न नसकेको मात्रै हो । दक्षिणपन्थीले पनि त राजा भन्छन् भन्ने तर्क सुनिन्छ । तर, उनीहरूले भनेजस्तो राजावादी राजनीतिलाई देखाएर भन्दा पनि हाम्रो परिवारवादी राजनीतिलाई देखाएर जनता भड्काउन सजिलो छ । भाउजू, छोरीहरूप्रतिको टिप्पणीले साधारण मान्छेको मन सजिलै परिवर्तन गरिदिन्छ । एक किसिमले हो त है भन्ने बनाउने किसिमको छ । अब के भन्ने ?

गणतन्त्रवालाले आफूभित्र रहेका कमजोरी नसच्याउने हो भने आजको मिडियाले गणतन्त्रवालाबाट भए गरिएका राम्रा काममाथि कालो पोतेर तिनीहरूलाई खलनायक बनाइदिन कत्ति पनि समय लाग्दैन । सच्चिने कि सक्किने आफ्नै कर्ममा निर्भर छ । हामीले त सूचित र सतर्क गराउने मात्रै हो र यो काम पनि हाम्रोनिम्ति धेरै ठूलो संघर्ष हो । परिआए जोखिम र चुनौतीलाई सामना गर्छु भन्ने हिम्मत बोकेर यस्तो बात गरिन्छ । ‘जो जिता वही सिकन्दर’ भन्ने युगमा कहिलेकाहीँ सत्य बोल्नु पनि अभिषाप हुन्छ, यसतर्फ पनि बिचार पुर्‍याउनुपर्ने हो खासमा ।

टिप्पणीहरू