विमानस्थलको जिम्मा पाउला त सशस्त्रले ?

विमानस्थलको जिम्मा पाउला त सशस्त्रले ?
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय स्तरमै झन् झन् बद्नाम बन्दै गएको छ । सुनदेखि लिएर भिजिट भिसामा मानव तस्करी,  प्रहरीको मनोमानी,  कर्मचारी र प्रहरीबीचको टकरावलगायत विषयले नेपालको साख ध्वस्त भएको छ । यता,  विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीचको द्वन्द्वले उग्ररूप लिइरहेको छ । बाक्लो प्रहरी परिचालनका बाबजुद पनि विमानस्थलबाट हुने अपराधका घटनामा रोक लाग्न नसकेपछि सशस्त्र प्रहरी बल,  नेपालले सुरक्षाको पूर्ण जिम्मा आफूलाई दिन माग राख्दै आएको छ । गृह मन्त्रालयले भन्सारको सुरक्षा जाँचमा भर्खरै सशस्त्र प्रहरी खटाएको छ । निजी कम्पनीका सुरक्षाकर्मीलाई भाडामा लिएर हुँदै आएको अध्यागमनतर्फ सहजीकरणको जिम्मा अन्तर्राष्ट्रिय सीमा सुरक्षाको काम हेर्ने सशस्त्रले छुनसम्म पनि पाएको छैन ।

विमानस्थलको पूर्ण जिम्मा पाएमा कहाँ, कसरी र कति संख्यामा सुरक्षाकर्मी खटाउने ? यसको पूर्ण योजना सशस्त्रले बनाइसकेको छ । उसको कमाण्डर कोर ग्रुपमा कूल आठ जनाको टोली रहनेछ । कमाण्डरमा नायव महानिरीक्षक,  सहायक कमाण्डरमा वरिष्ठ उपरीक्षक,  जोन कमाण्डरमा दुई जना उपरीक्षक, सहायक कमाण्डरमा चार जना नायव उपरीक्षक खटिनेछन् । उपरीक्षकले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ ड्युटी गर्नेछन् भने डिएसपीलाई आन्तरिक उडानतर्फ ल्याण्डसाइड,  टिकेटिङ,  आगमन,  पार्किङ र स्पेयरमा खटाउने सोच बनेको बुझिन्छ । यता,  आन्तरिकतर्फ निरीक्षकलाई सेक्टर कमाण्डरको जिम्मा दिइनेछ । सात जनाले चार सिफ्टमा काम गर्नेछन् ।

आन्तरिकतर्फ मुख्य बिल्डिङको प्रवेशद्वार, आन्तरिक स्टेरलाइजर र लगेज सेक्टरमा कूल २५१ जनाको जनशक्ति रहनेछ । टोलीमा सात जना निरीक्षक,  ३१ जना नायव निरीक्षक,  ५० जना सहायक निरीक्षक,  १३ जना वरिष्ठ हवल्दार,  १२ जना हवल्दार,  ३५ जना सहायक हवल्दार र १०३ जना जवान रहनेछन् । उनीहरूलाई प्रस्थान गेट १,  एक्स–रे,  होल्ड ब्यागेज चेकिङ,  प्रस्थान गेट २,  पासवाहक गेट,  पासवाहक गेट एक्स–रे,  वाक–थ्रु,  आन्तरिक स्टेरलाइजर, प्रस्थान छाप लगाउने गेट,  भिआइपी स्टेरलाईजर,  लगेज सेक्टर,  सुरक्षा जाँच स्टिकर टाँस्ने,  ब्यागेज चेकिङ,  डोमेस्टिक एप्रोन पोष्ट,  भिआइपी पोष्ट,  ह्या¨र पोष्ट,  हेली प्याड,  आन्तरिक सवारी पार्किङ एरिया,  आन्तरिक आगमन गेट,  मेन गेट,  आइरन गेट,  नेपाल एयर गेट वाक–थ्रु,  नेपाल एयर स्क्यानर,  चेकिङमा परिचालन गरिनेछ ।

आन्तरिक ड्युटी अफिसरमा तीन जनाको दरले चार सिफ्टमा १२ जना नायव निरीक्षक वा सहायक निरीक्षक खटाउनेगरी खाका तयार पारिएको छ । अन्तर्राष्ट्रियतर्फ सेक्टर कमाण्डमा तीन जनाका दरले १० जना निरीक्षकले ड्युटी गर्नेछन् । एक्सिस कन्ट्रोल एरिया ल्याण्डसाइड,  एयर साइड, स्टेरलाईज एरिया (प्रतिबन्धित क्षेत्र),  बेसाइडमा ५२६ जना रहनेछन् । जसमा निरीक्षक १०,  नायव निरीक्षक ३०,  सहायक निरीक्षक ८५,  वरिष्ठ हवल्दार २५,  हवल्दार २८,  सहायक हवल्दार १२३,  जवान २२५ छन् । उक्त टोलीलाई गोल्डेन गेट कन्ट्रोलर,  सवारी चेकिङ,  पार्किङ गेट, पार्किङ सहायक मार्ग,  प्रस्थानतर्फको चेकिङ,  भीड हटाउने,  टावर गेट,  प्रस्थान गेट ए१,  ए२,  बि१,  बि२,  सहायता कक्ष,  पासवाहक गेट,प्रस्थानतर्फको स्काइल लिफ्ट,  बक्स लिफ्ट,  होल्ड ब्यागेज एक्स–रे,  स्टिकर टाँस्ने,  वाक–थ्रु,  होल्ड ब्यागेजबाट रन–वे जानेतर्फको वाक–थ्रु,  विशिष्ठ व्यक्ति वाक–थ्रु गेट,  भिआइपी कक्षमा खटाइनेछ । 

यता,  स्टेरलाइज एक्स–रे ए१,  ए२,  बि१ र बि२,  प्रस्थान छाप,  स्टेरलाईज स्टाफ गेट,  बेसाईड,  प्रस्थानतर्फको बोर्डिङ गेट,  क्युआरटी,  रन–वे कन्ट्रोलर,  अन्तर्राष्ट्रिय एप्रोन निगरानी,  ईओडी गेट १,  गेट २,  १ नम्बर रन–वेअगाडिको पोष्ट,  आयल निगमबाट बेमा जाने गेट,  मेन गेट, अन्तर्राष्ट्रियबाट आन्तरिकतर्फ जाने गेट,  स्काई सेफ सफारी,  आगमनतर्फको गेट,  ट्रान्जिट डेक्स,  आगमनतर्फको अध्यागमन पोष्ट,  डिपोर्ट पोष्ट,  भन्सार पोष्ट,  पुरानो आगमन गेट स्क्यानर,  वाक–थ्रु,  आईएमएस टनेल लिफ्ट,  अन्तर्राष्ट्रिय आगमन पार्किङमा पनि सशस्त्र रहनेछ । कार्गो कम्प्लेक्सअन्तर्गत स्क्यानर,  वाक–थ्रु गेट,  डग ह्याण्डलरमा नायव निरीक्षक,  वरिष्ठ हवल्दार,  सहायक निरीक्षक,  हवल्दार,  जवान राख्ने योजना बनेको छ ।

कार्यालय सञ्चालनका निम्ति १११ जनाको टोली परिचालन गरिनेछ । उनीहरू प्रशासन,  अनुसन्धान प्रशासन,  ड्युटी अधिकृत,  सिसीटिभी नियन्त्रण,  कम्प्युटर अपरेटर,  बन्दोबस्ती तथा पेरिमिटर सुरक्षामा खटिनेछन् । यता,  पेरिमिटर सुरक्षा (सैनिक इलाकातर्फ) ३४३ जना रहनेछन् । त्यसमा उपरीक्षक एक,  नायव उपरीक्षक तीन,  निरीक्षक चार, वरिष्ठ नायव निरीक्षक एक, नायव निरीक्षक आठ,  सहायक निरीक्षक ६८,  वरिष्ठ हवल्दार २७,  हवल्दार २७,  सहायक हवल्दार ५५,  जवान १३९ र १० प्रहरी परिचर छन् । बम डिस्पोजल टोलीमा चार सिफ्टमा ७१ जनालाई खटाइनेछ । आपतकालीन उद्धार तथा मद्दती टोलीमा १६० जना रहनेछन् ।

– सुरेशकुमार चुडाल
 

टिप्पणीहरू