कान्छी श्रीमतीको नाममा अकुत सम्पत्ति थुपारेका उद्योग मन्त्रालयका अधिकृतविरुद्ध मुद्दा

कान्छी श्रीमतीको नाममा अकुत सम्पत्ति थुपारेका उद्योग मन्त्रालयका अधिकृतविरुद्ध मुद्दा

भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालिन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत मीनप्रसाद भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

गैरकानूनी रुपमा सम्पत्ति आयआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । २६ वर्षे सरकारी सेवाका क्रममा भट्टराईले चार करोड बढी अकुत सम्पत्ति कमाएको अख्तियारको दावी छ ।  

उनी २०५४ साउन २६ गते निजामती सेवामा प्रवेश गरेका थिए । उजुरी परेपछि आयोगले २०७९ जेठ ३० गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा चार करोड २९ लाख २५ हजार १४० रुपैयाँ स्रोत नखुलेको भेटिएको जनाएको छ । 

अदालतमा दायर अभियोग पत्रमा भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्रनी कान्छी श्रीमती झुनाकुमारी कठेतको नाममा जग्गा, सेयर खरिद गरेको तथा बैंकमा राखेको उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम झुनासमेत प्रतिवादी कायम गरी उक्त रकम जफत तथा जरिवाना गर्न माग गरिएको छ ।

टिप्पणीहरू