मीनेट–मीनेटमा यसरी मर्दैछ एउटा नागरिक

मीनेट–मीनेटमा यसरी मर्दैछ एउटा नागरिक

जिन्दगीमा आँखा उघारे पनि पीर, आँखा चिम्ले पनि पीर । यस्तै पीरै पीरको झिरमा उनीएको छ जिन्दगी । कहिलेकाहीँ लाग्छ, बुवा, आमा, श्रीमती, छोराछोरी, आफन्त सिर्फ पैसालाई प्यार गर्छन् । भन्छन् बुवा आमाको माया निःस्वार्थ हुन्छ । तर, मलाई लाग्छ, उहाँहरूको माया पैसा कमाउन सक्ने छोराप्रति बढी हुन्छ ।

सरकारी जागिरबाट अवकाशप्राप्त बुवा, एक भाइ, एक बहिनी । परिवारको जेठो छोरा म, काँधमा जिम्मेवारीको पहाड थियोे । आफ्नो दायित्व इमान्दारीपूर्वक निभाइरहेको थिएँ । बुवा, आमा भाइहरूको मुहारमा हाँसो र खुशी भर्न हरतरहले मिहिनेत गर्थें । बाल्यकाल भक्तपुरको बालकोट आसपासमै बित्यो । विश्वनिकेतन स्कूलबाट कखरा हुँदै एसएलसी, मीनभवन क्याम्पसबाट प्लस टु र ब्याचलरसम्मको अध्ययन पूरा गरेँ । बीचमा सामाजिक संस्था रेयुकाईमा आबद्ध भएँ ।

जीवनका ऊर्जाशील १४ वर्ष बिताएँ । जागिरको सिलसिलामा पशुपति पेन्ट्समा जोडिएँ । त्यहीं सेल्स इञ्चार्च रहेर लामो समय काम गरेँ । फेरि ऋद्धिसिद्धि पेन्ट्समा जोडिएँ । कन्ट्री म्यानेजर तोकिएँ र सोहीअनुसार काम गर्दै गएँ । पछि आफ्नै हार्डवेयर पसल सञ्चालन गरेँ ०६७ सालसम्म । जहाँ काम गरे पनि दिलै लगाएर गरेँ । सामान बिक्री वितरणमा कम्पनीले तोकेको टार्गेट पूरा गरेबापत चीन, भारत, इजिप्ट, अफ्रिका, बैंकक घुम्ने अवसर मिल्यो । घरपरिवार सबै खुशी थिए तर कुमालेको चक्रजस्तो जिन्दगी । घुम्दै घुम्दै नियतिले मेराअगाडि पीडाको अत्यासलाग्दो पहाड तेस्र्याइदियो । जब जीवनका दुःखको अत्यासलाग्दो पहाड आयो । आफन्त टाढिँदै गए । त्यो पहाड अहिले एक्लै पार गर्दै छु ।

सरकार आफैंले नो अब्जेक्सन लेटर इस्यु किन गरेको ? प्रतिविद्यार्थी २ हजार ५ सयका दरले तिनका हातमा एनओसी किन थमाएको ?  

एउटा गतिमा दौडिरहेको थियोे जिन्दगी । भाइ–बुहारी एउटा कन्सल्टेन्सीमा थिइन् । उनैले सुनाइन् त्यो कन्सलटेन्सी बिक्न लागेको कुरा । वार्षिक नाफा देखाइन् । खरिद गरेको खण्डमा सबै जिम्मेवारी आफैँले लिने बुहारीको कथन थियोे । बुहारीको दिल राख्न २४ लाखमा क्यास गनेर कन्सलटेन्सी खरिद गरेँ ०७१ सालमा ।

मालिकसँग कन्सलटेन्सी खरिद गर्दा मलाई प्रमुख कार्यकारी अधिकृतको रूपमा दुई वर्षको नियुक्तिपत्रसमेत थमाइएको थियोे । सो कन्सलटेन्सीले रोमानिया, चिली, अमेरिकालगायत देशमा विद्यार्थी पठाउँदै आएको थियोे । हामीले पनि दिने त्यसैको निरन्तरता न हो ! यही बीचमा दश जना विद्यार्थीलाई चिली पठाउने भइयो । उक्त मुलुकमा पठाउँदा प्रतिविद्यार्थी ८ हजार ५ सय अमेरिकी डलर उठाइयो । र, दश विद्यार्थीबाट उठाएर सेभेन प्लस इन्स्टिच्युटमा ८५ लाख रूपैयाँ पठाइयो जनता बैंकमार्फत । भिसा लागेन ।

पटक–पटक मेल गरियो तर पठाएको पैसा पनि फिर्ता आएन । अनि शुरु भयो मेरो बर्बादीको दिन । विद्यार्थीले हामीलाई छिटो पठाउनुहोस्, नभए पैसा फिर्ता गर्नुहोस् भन्दै धर्ना दिन थाले । पठाएको पैसा फिर्ता नआउने र विद्यार्थीको भिसा पनि नआउने भएपछि शिक्षा मन्त्रालय धाइयो । त्यहाँको कन्सलटेन्सी फाँट हेर्ने उपसचिवसँग भेटेर समस्या राख्दा उनले आफूले केही गर्न नसक्ने भन्दै निरीहता प्रकट गरे । ए बाबा ! एउटा व्यक्ति राज्यले लिएको नीतिका कारण डुब्दै छ तर शिक्षा मन्त्रालयका जिम्मेवार अधिकारी भन्छन्– यसमा हाम्रो केही भूमिका हुँदैन ।

उसो हो भने विदेश अध्ययन गर्न जाँदा सरकार आफैंले नो अब्जेक्सन लेटर इस्यु किन गरेको ? प्रतिविद्यार्थी २ हजार ५ सयका दरले तिनका हातमा एनओसी किन थमाएको ? एनओसी जारी गरेपछि त्यसको जिम्मेवारी लिनुपर्ने कि नपर्ने ? राज्यले जारी गरेको नीतिका कारण त्यही देशको नागरिक ऋणमा डुबेर जेल जानुपर्ने ? परराष्ट्र मन्त्रालयकी प्रतिज्ञा राईले ब्राजिल दूतावाससँगको समन्वयमा प्रक्रिया अगाडि बढाएको पनि हो तर त्यहाँबाट पनि दाल गलेन ।

आफैं दूतावासमा पुगेर प्रयास गर्दा केही सीप लागेन । इक्यानका विष्णुहरि पाण्डे, निरञ्जन, सन्तोष प्याकुरेलहरूसँग कुरा भयो तर आफ्नै संस्थाका एक जना सदस्य ऋणमा डुब्दा इक्यानले पनि चासो दिएन । बरु बीचमा मैमाथि प्रहरी केस भयो । मुद्दा–मामिला लगाइयो । यो बीचमा ४० लाख ऋण धन गरेरै भए पनि तिरिसकेको छु । केही पैसा सहकारीसँग ऋण लिएर, केही साथीसंगीसँग ऋण गरेर तिर्दै छु । स्विफ्टमार्फत पठाएको पैसा फिर्ता गर्न मिल्दो रहेछ । त्यताका सम्बन्धित व्यक्तिको खाताबाट रकम तानेर यताका खातामा पठाउनका लागि मैले जनता बैंकसँग पटक–पटक आग्रह गरें तर बैंकले पनि बदमासी ग¥यो ।

अहिले यो प्रक्रिया अगाडि बढाउन एक जना बराबर २५० डलर लाग्छ भनिँदै छ । यद्यपि, यो पैसा खर्च पनि गरौंला तर पैसा आउने नआउने टुंगो छैन । मान्छेहरू भन्थे– खाएको विष मात्र लाग्छ, नखाएको लाग्दैन । तर, म नखाएको विषकै कारण यो अवस्थामा आइपुगें । व्यवसायमा यसरी ऋणमा डुब्दै थिएँ । यही बीचमा मेरो लिभर फेल भयो । उपचारका लागि वीर अस्पताल पुगेँ । डा. सुधांशु जोशी, अनिल मिश्रहरूलाई देखाउँदा यो रोग निको हुँदैन भने । एकातिर आफ्नो व्यापार डुबेको पीडा, अर्काेतिर आफ्नै स्वास्थ्यले धोखा दिँदै गरेकोे । साथीभाइको सल्लाहमा सोध्दै खोज्दै मेदान्त अस्पतालसम्म पुगेँ । त्यहाँ शुरुमै दश लाख खर्च भयो । हरेक महिना दुई लाख खर्च थपियो ।

०७१ सालदेखि आफ्नो स्वास्थ्य सुधार गर्ने नाममा प्रत्येक महिना दुई लाख खर्चिरहेको छु । उपचारका नाममा हालसम्म ७० लाख सकियो । शुरुमा डक्टरले सतप्रतिशत खतरा भनेका थिए, अहिले ६० प्रतिशत सुधार भएको छ तर चिलीमा भिसा नलागेका विद्यार्थीका लागि तिर्नुपर्ने पैसाका कारण पीडा छँदै छ । श्रीमतीको गहना बेचेर स्वास्थ्योपचार गराइरहेको छु । साथीभाइसँग लिएको ऋण समयमा चुक्ता गर्न सकेको छैन ।

एकातिर व्यापारमा घाटा लागिरहेको बेला अर्काेतर्फ आफ्नै स्वास्थ्य प्रतिकूल बनिदिँदा लाग्छ परिवारका सदस्यहरूको मलाई हेर्ने नजर नै परिवर्तन भएको हो कि ? सबैतिरबाट फ्रस्टेटेड, जीवन पनि अनसर्टेन लागेपछि यो बीचमा पटक–पटक आत्महत्याको प्रयास पनि गरेको हुँ । एक मुठी सास अड्याउनकै लागि थुप्रै पैसा खर्च गरी–गरी के बाँच्नु, परिवारको लागि के भार बन्नुजस्तो लाग्छ, कहिलेकाहीँ मन एकतमासको हुन्छ ।

यही कारण बीचमा आत्महत्याको प्रयास गरेको हुँ तर निर्दाेष दुई बच्चाको अनुहार सम्झन्छु । तिनकै माया–ममता र स्नेहका कारण देहत्याग गर्न सकिरहेको छैन । मलाई कन्सलटेन्सीमा लगानी गर्न सुझाव दिने बुहारीले म डुबेपछि हात झिकिन् । अहिले बैंकको जागिरे छिन् । कहाँ जान हिँडेको थिएँ ? कहाँ पुगेर जिन्दगी बर्बाद भइरहेको छ । कहिलेकाहीँ लाग्छ जिन्दगीमा हिम्मत हार्नु हुँदैन । तर, जब चारैतिरको बाटो अँध्यारो देख्छु । कहीँ निस्कने बाटो देख्दिनँ अनि अत्यास लाग्छ । मान्छेहरू भन्छन्, ध्यान अर्थात् मेडिटेसन गर्‍यो भने सबै समस्या दूर हुन्छ तर यहाँ त आँखा चिम्ले पनि, आँखा खोले पनि शान्ति छैन अचेल । 

– विजय पौडेल, बालकोट भक्तपुर
 

टिप्पणीहरू