जसलाई युटुबरले प्रयोग गरेर फ्याँके

जसलाई युटुबरले प्रयोग गरेर फ्याँके
सुन्नुहोस्

पछिल्लो समय सामाजिक सञ्जाल विध्वंसकारी हतियारभन्दा 'पावरफुल' बन्दै गएको छ । अचेल यहाँ एउटा मानिस रातारात 'हिरो' हुनसक्छ र 'जिरो' पनि । सञ्जालले कसलाई कतिबेला 'हिट' बनाइदिन्छ र को 'फ्लप' हुन्छ भन्न सकिंदैन । 

यस्तो प्रवृति बढेको छ कि, कोही हिट वा भाइरल भैहालेमा युटुवरहरु कन्टेन्ट बनाउनसमेत पछि पर्दैनन् । कन्टेन्टबाट लिनुसम्म फाइदा लिएपछि भने एक नजर पनि फर्केर हेर्दैनन् । जे होस्, नेपाली युटुबरहरु भाइरल कन्टेन्ट प्रयोग गर्न निकै माहिर छन् । 

नेपाली युटुबरहरुले प्रयोग गरेर फ्याँकेका दुई पात्रबारे यहाँ चर्चा गरौं, जो अहिले बिरामी भएर अस्पतालको बेडमा पुगेका छन् । केही समयअघि सामाजिक सञ्जालमा निकै भाइरल भएका पात्र हुन्, मेनबहादुर बुढा उर्फ भेुलुबाजे । तर अहिले उनी गुमानाम छन् । गुमनाममात्र होइन्, उनी बिरामीले थलिएका पनि छन् । 

दुई वर्षअघि युटुबरको लागि सबैभन्दा बिक्ने पात्र थिए भेलुबाजे । तर, अहिले उनको अवस्था नाजुक हुँदा सहयोगको लागि हात बढाउने कोही देखिएका छैनन् । 

उमेरले ६४ वर्ष पुगेका भेलुबाजेको स्थायी घर प्युठान हो । केही महिनाअघि श्रीमती विष्णु बुढाको मृत्युले शोकमा रहेका उनी बिरामी छन् अहिले । श्रीमती गुमेपछि अत्याधिक मदिरा सेवन गर्न थालेका उनको खानपिनको सन्तुलन नमिलेर गम्भीर बिरामी भएको बताइएको छ। 

अस्पतालको बेडमा रहेका भेलुबाजेको शरीर सुन्निएको छ । राम्ररी हिँडडुल गर्न सक्दैनन् । अवस्था नाजकु बन्दै गएको छ । बेलाबेला उनी श्रीमती सम्झेर रुने पनि गर्छन् । उनी भन्छन्, 'घरमा एक्लो हुँदा बुढी भा'को जस्तो हुन्न रैच । अलिकति चवल पनि छ, भुटुन पनि छ । तर, पकाएर खाने जाँर हुन्न । कम्सीकम पैला बुढीले एक छाक भएनी पकाएर त ख्वाउथी ।' 
  
भेलुबाजेको भाइरल यात्रा

गाउँमा सामान्य मजदुरी गरेर जीवन बिताउदै आएका भेलुबाजेलाई सबैभन्दा पहिले युटुवमा ल्याउने मानिस हुन्, गनबहादुर पेस्तोल । ०७८ को फागुनमा पेस्तोलले एउटा विवाह कार्यक्रममा भेलुबाजेले खाना खाँदै गरेको भिडियो टिकटकमा हालेका थिए । जसलाई एक रातमा १० लाख भन्दा बढीले हेरे ।

त्यसपछि उनले भेलुबाजेको अन्तवार्ता लिएर युट्युब च्यानलमा राखे । त्यसपछि शुरु भएको थियो- भेलुबाजेको भाइरल यात्रा । भेलुबाजे कुनै विशेष क्षमता र कलाको कारण भाइरल भएका भने होइनन् । उनीसँग आफ्नै भाषा र लवज छ । आफ्नो कुरा अभिव्यक्त गर्दा 'बेल्कुल्', 'हत्तेरिका', 'च्वाँक' र 'पख्नुस् तो' लगायतका शब्द र लवज प्रयोग गर्छन् उनी ।  जसलाई मानिसहरुले धेरै रुचाएका थिए ।

भेलुबाजेसँग न अभिनयको ज्ञान थियो, न त गीत संगीतको । तैपनि भाइरल भएपछि उनलाई गर्नुसम्म प्रयोग गरियो । केही निर्माताहरुले आफ्नो टेलिसिरियल बिकाउन उनलाई प्रलोभनमा पारे । भेलुबाजेबाट आफ्नो काम पूरा गराएर फाइदा लिए  । केही संगितकारहरुले पनि उनको गीत रेकर्ड गराए । जबकि उनीहरुलाई थाहा थियो, भेलुबाजे गाउन सक्ने मानिस होइनन् । तर, पनि गीत रेकर्ड गराइ छाडे । भाइरल पात्रलाई लिएर बजारमा आफ्नो कन्टेन्ट बिकाउने जुक्ति थियो त्यो । 

वास्तवमा भेलुबाजेलाई मोबाइलसमेत राम्ररी चलाउन आउँदैन । फोन नम्बर डायल गर्न समेत उनलाई हम्मे-हम्मे पर्छ । तरपनि केही युटुवरहरुले यसरी भाइरल बनाइदिए कि फेसबुक, टिकटक र युटुबभरी भेलुवाजे । उनलाई कन्टेन बनाएर सयौँ युटुबरले लाखौँ डलर पनि कमाए । तर, अहिले भेलुबाजेलाई साँच्चीकै सहयोग आवश्यक पर्दा उनको अगाडि कोही देखिएको छैन । 

विदेशमा रहेका प्युठानीहरुले भेलुबाजेको उपचारको लागि केही रकम जुटाएर नेपाल पठाएका पनि थिए । तर, त्यो रकम समेत उनीसम्म पुग्न सकिरहेको छैन । त्यो पैसा कथित समाजसेवीहरुले आफ्नो गोजीमा हालेको बताइएको छ । अघिल्लो हप्तादेखि अस्पताल भर्ना भएका भेलुबाजेसँग अहिले उपचार गर्ने पर्याप्त पैसा छैन । बरु भेलुबाजेको नाम भजाएर पैसा पचाउने कथित युटुबरहरु बढ्दै गएका छन् । 

सचिनको कन्तविजोग

सामाजिक सञ्जालको शिकार भएका अर्का पात्र हुन्, बाल गायक सचिन परियार । एकताका सचिन युटुबरहरुको कन्टेन्टमा पहिलो रोजाइका पात्र थिए । उनको भिडियो खिच्न युटुबरहरुको भ्याई-नभ्याई हुन्थ्यो । तर, यतिबेला उनै सचिन अस्पतालको बेडमा छट्पटिरहका छन् । 

शरीरको कम्मरमुनि कुनै अंग नचल्ने समस्याबाट पीडित सचिन जीवन-मरणको दोसाँधमा छटपटाईरहँदा हिजो उनैलाई बिकाएर डलर कमाउनेहरु सान्त्वना दिनसमेत पुगेका छैनन् । उल्टै सहयोगी मनहरुले संकलन गरेर पठाएको रकमसमेत उनीसम्म पुग्न नदिईएको गुनासो सुनिन्छ । देश-विदेशबाट लाखौँ रकम उठेपनि सो रकम बीचका पात्रहरुले नै गायब पारेकाले यो अवस्था आएको बताइन्छ । 

गएको शुक्रबार युटुबर भोजराज थापाले सचिनका बाबु तेजेन्द्र परियारमाथि गम्भीर आरोप लगाए । सचिनको उपचारको लागि देश विदेशबाट सहयोग जम्मा गरेर करिब १२ लाख उठाएको तर, उक्त रकम तेजेन्द्रले रक्सी खाएर सकेको उनले दाबी गरे । 

तेजेन्द्रले भने ३ लाख मात्र पाएको र उक्त रकम सचिनकै उपचारमा खर्च भएको बताइरहेका छन् । उनले भनेका छन्, 'युटुबरहरुले दोहोर भूमिका खेलिरहेका छन् । मैले १२ लाख होइन्, ३ लाख मात्र पाएको थिएँ । त्यो पनि छोरोका उपचारमै खर्च भयो । अब खातामा एक रुपे पनि छैन । गोजीमा ८/१० हजार छ । यत्ति हो अब हामीसँग ।'

युटुवरहरुले देश विदेशमा सचिनको नाम बेचेर लाखौँ उठाएको र आफैँ पचाएको तेजेन्द्रको आशंका छ । उनले थपे, 'मेरो छोरो हो यार सचिन । जसरी पनि उपचार गर्ने बाबुको बाध्यता हुन्छ । १२ लाख पाएको भए उहिल्यै अप्रेशन भइसक्थ्यो छोरो, आजसम्म यसरी बेडमा सुताइरहनु पर्थेन । कुन बाबुलाई चाहीँ छोरो विरामी भएर छट्पटिएको हेर्न मन लाग्छ, भन्नुस् त ।'

युटुबरहरुले आर्थिक हिनामिना गरेको तेजेन्द्रले दाबी गरिरहेका छन् ।

टिप्पणीहरू