उनले सक्ने, हामीले किन नसक्ने ?

उनले सक्ने, हामीले किन नसक्ने ?

चिनियाँ युन्नान प्रान्तको पाओसान शहरबाट पनि टाढा सिन्छाई गाउँको सत्य कथा हो त्यो । २२ असोजमा त्यहाँको पाइला टेकेका हामी २७ अक्टोबर, २०२३ याने २०८० कार्तिक १० गतेका दिन बिहानपख उक्त गाउँ पुगेका थियौँ । त्यो गाउँ र नेपालको विभिन्न जिल्लास्थित नदी किनाराका गाउँलाई तुलना गर्न सकिन्थ्यो । हावापानी, हरियाली, डाँडाकाँडा झण्डै झण्डै उस्तै उस्तै । दुई डाँडाको बीचबाट बगेको नदी र त्यही नदीसँगैको फाँट हेर्दा नेपालकै परिचित गाउँ पुगेजस्तो लाग्थ्यो । स्थानीय चिनियाँहरू भन्थे, ऊ त्यो दुई डाँडा पर तिब्बत पर्छ, तिब्बतपछि त नेपाल पनि देखिहाल्छ नि ? सिन्छाई जाने सडकबाट म्यानमार पनि नजिकै पर्दाेरहेछ । दु्रत गतिमा केही घण्टामै म्यानमार पुग्न सकिन्छ भन्थे हाम्रा गाइड फाङ । 

पाओसानबाट १०० देखि १२० को गतिमा हुँइकिँदा एक घण्टामा सिन्छाई पुगिँदोरहेछ । मौसम पाओसानमा भन्दा फरक । पाओसानमा जाडो थियो त्यहाँ पुग्दा तातो भयो । बेसी भएकाले केही गर्मी थियो । ज्याकेट लगाउँदा पसिनै आउँथ्यो । त्यतिबेला तापक्रम २५–३० डिग्री सेल्सियस वरिपरि घुमिरहेको थियो । त्यहाँ पुगेपछि गाइडको जानकारीअनुसार हामी कफी पसलमा गएर बस्यौँ । एकैछिनमा माओको जस्तै अनुहार देखिने ५६ वर्षीया वाङ चियावेई आइपुग्नुभयो स्वागत गर्न । ऐना झैँ टिलिक्क टल्किने सफाचट मोहोडाको उहाँ उत्तिकै शान्त देखिनुहुन्थ्यो । हामीकहाँ जस्तो नेताका पछाडि वरियात लिएर हिँड्ने चलन रहेनछ त्यहाँ । उहाँको साथमा मात्र एकजना युवा थिए, ती पनि उहाँकै आफन्त । 

चिनियाँहरू अनावश्यक ढर्रामा ध्यानै दिँदैनन् । मतलवै राख्दैनन् । समयको अति नै ख्याल र सदुपयोग गर्छन् । उनीहरूले दु्रत विकास गर्नाको एउटा कारण यो पनि हो । हामीलाई स्वागत गर्न पनि कुनै औपचारिकता, तामझाम, नक्कलझक्कल थिएन । हामीकहाँ भने नेता वा कथित ठूलो मान्छे आफैँ जन्मेहुर्केको गाउँघरमा जाँदा पनि बाटादेखि नै बाजागाजा बजाएर फूलमाला, अबिरले स्वागतको नाममा चाकडी गरिन्छ । सोझासीधा जनताका अगाडि कथित विशिष्ट देखिनुपर्ने सामन्ती संस्कारले अझै छोडेको छैन हामीलाई । चीनमा यस्तो कहीँ देखिएन, जुन औपचारिकता बेकार हो । समयको मात्रै बर्बादी हो । वाङले पनि ६ देशका हामीलाई केही शब्द र आत्मीय भावले स्वागत गर्नुभयो । त्यहीँ रहेको स्थानीय टेलिभिजनबाट केहीबेर आफूले गरेको गाउँको विकास र प्रगतिसम्बन्धी डकुमेन्ट्रीजस्तै सामग्री देखाउनुभयो । 

आजको यस्तो कमाई भोलिका लागि बैँक ब्यालेन्सजस्तै बन्न सक्छ । त्यसबाट जीवनभर ब्याज आइरहन्छ ।

२२ वर्षसम्म आर्किटेक्ट इञ्जिनियर भएर अवकाश लिनुभएका वाङ ११ वर्षअघि आफ्नै गाउँ सिन्छाई फर्किई पार्टीको नेतृत्व लिनुभएको रहेछ । हाल उहाँ कम्युनिष्ट पार्टीको ब्राञ्च कमिटी सचिव हुनुहुन्छ । उहाँको नेतृत्व पाएपछि त्यो भिरालो, दुर्गम सिन्छाई गाउँको काँचुली फेरिएको रहेछ । आफ्नो गाउँलाई उहाँले नै सङ्घीय राजधानी बेइजिङसँग जोड्नुभएको र ११ वर्षअघिसम्म उपेक्षित सिन्छाई अहिले चीनमा मात्रै होइन, विश्वमा नै चिनिइसकेको रहेछ । तिरस्कृत त्यो गाउँमा कफी खेती हुने गरे पनि कुनै चर्चा थिएन ।

अहिले अग्ला पहाडी भिराला भूमिहरू समेत कफी, केरा, सुन्तला खेतीले हराभरा भएका छन् । कसैले नपत्याएको त्यो गाउँ विशाल चीनको कफी हब बनेको छ । चीनमा मात्रै होइन, कफी हबको रूपमा विदेशमा समेत प्रख्यात बनिसकेको छ । चीनले त्यो लगायतका गाउँमा कफी उत्पादन बढाएर आफूलाई कफीमा पनि विश्वबजारको अग्रपंक्तिमा उभ्याउन खोजेकोे छ । सिन्छाईको अवलोकनपछि थाहा भयो, वाङ नेता मात्रै होइन, विकासको योजनाकार, परिकल्पनाकार, सपनाकार नै हुनुहुँदोरहेछ । गाओलिञ्चोन्ङ पहाडको काखमा गजधुम्म अनि तिब्बतबाट बग्दै आएको नुचियाङ नदीको पानीद्वारा सिञ्चित सेराजस्तै त्यही फाँटमा उहाँले नै एकीकृत बस्ती बसाउनुभएको रहेछ । यो वस्तीको आर्किटेक्ट वाङले नै गर्नुभएको रहेछ । जहाँ ५ सय घरधुरीमा चार हजारभन्दा बढी मानिस बस्दछन् । 

सिन्छाईका ती हरियाली डाँडा, सलल बगिरहेको नदी, फराकिला सडक, सडक बनाउने तरिका, पर्यावरणको बृद्धिमत्तापूर्ण संरक्षण, हरियाली आदि दृश्यहरू देख्दा बाहिर जति बढी खुशी, उमङ्ग, रमाइलो, उत्साह जागेको थियो, भित्रभित्रै मनमा त्यति नै हुटहुटी चलिरहेको थियो । चिमोटिरहेको थियो । कता कता, के नमिलेजस्तो भइरहेको थियो । यस्तै समाज निर्माणका लागि आफू अनि साथीहरूले खर्चिएको जवानीको ऊर्जा, अग्रजहरूको अथक योगदान, विभिन्न व्यक्तिले यस्तै समृद्धिका लागि गरेको त्याग, बलिदान, सहिद, बेपत्ता घाइते, अपांगता भएका व्यक्तिको त्याग, तपस्याका स्मरण मानसपटलमा दौडिरहेका थिए ।

यसरी बलिदान, योगदान हुँदा पनि किन यस्तै प्रगति हुनसकेन भनेर मन बेचैन भइरहेको थियो । अनि वर्तमान यही व्यवस्थाभित्र पनि प्रतिस्पर्धा गरेर हातमा विभिन्न अधिकार लिएका स्थानीय सत्ताका मेरा साथीहरू (काभ्रेका भगवान अधिकारी, इन्द्रबहादुर थिङ, धादिङका रमेश आचार्य, गोरखाका दीपक देवकोटा, विवश चिन्तन, लोकनाथ बञ्जारा, साकार) हरूको सम्झना आइरहेको थियो । यी र यस्तै साथीहरूलाई समृद्धिका यिनै कथा सुनाइहालुँजस्तो भएको थियो । कारण थियो, साथी हो, कमरेड हो, चाहना भयो भने यस्तै विकास गर्न सकिन्छ भनेर ।

हातमा अधिकार हुँदा आ–आफ्नो गाउँलाई सिन्छाईजस्तै बनाउन सकिन्छ भनेर । कतिले गर्न खोज्नुभएको होला । म ‘अपडेट’ नभएको पनि हुन सक्छु । तर अवसर यही हो साथी हो, कमरेड हो, समय खेर नफालौँ । एकरत्ति पनि नफालौँ । इच्छाशक्ति निकालौँ । हातमा सत्ता भएको बेला गरेरै देखाऔँ । आफ्नो गाउँलाई नमुना गाउँ बनाऔँ । संघीय सरकारसँग जोडाऔँ । विश्वभर चर्र्चित बनाऔँ वांगले जस्तै । लोभ, पापमा नफसौँ, दलालीतन्त्र, कमिशनतन्त्र, कमाऊमन्त्रमा नपसौँ । आफ्नै दुनो सोझ्याउनतिर नलागौँ । समस्या परे हेरिदिने जनता छन् । साथमा साथ, हातमा हात दिने पार्टी छ । आजको यस्तो कमाई भोलिका लागि बैँक ब्यालेन्सजस्तै बन्न सक्छ । त्यसबाट जीवनभर ब्याज आइरहन्छ । हो साथीले भन्न सक्नुहुन्छ, कहाँ वाङ र हामीबीच तुलना हुन सक्छ ? त्यहाँ पो एउटै पार्टी छ । एकल निर्णय हुन सक्छ । यहाँ त त्यस्तो छैन । एउटै सामाजिक कार्य गर्न कर्मचारीतन्त्रले दिँदैन । बजेट कम छ हाम्रोमा । संस्कार नै खुट्टा तान्ने छ । 

कमरेडहरू यसका विरुद्ध पनि लड्नुस् । असहयोग गर्ने कर्मचारीतन्त्रलाई नाङ्गेझार पार्नुस् । राजनीति आ–आफ्नो ढंगले गर्नुस् । विकास र समृद्धिमा सबै दल मिल्नुस् । भनाइ छ नि, समय आउँछ पर्खंदैन, बगेको खोला फर्कंदैन । जीवनमा अनेक दुःख, कष्ट आउन सक्छ । तुफान, आँधीबेहरी चल्न सक्छ । जीवन नै सकिन सक्छ । त्यसैले साथी, कमरेड, आफ्नै हातमा अधिकार भएको बेला काम गरेर देखाऔँ । यही अधिकारका लागि हिजो मर्न पथ्र्याे । आज यही अधिकारको सदुपयोगले नमुना कार्य गरे पुग्छ वाङले झैँ !
 

टिप्पणीहरू