बालेनले ताला ठोक्नुपर्ने भित्री विवरण

बालेनले ताला ठोक्नुपर्ने भित्री विवरण

सतहमा कार्यपालिकाको निर्णय ‘कीर्ते’ गरेबापत काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको कार्यकक्षमै बालेन साहले ताला ठोकेको प्रचार गरिए पनि वास्तविकता भने फरक रहेको बताइएको छ । 

एकातिर छोराको विवाहमा भिआइपीलाई खुवाइएको भोज खर्चको बिलसमेत महानगरपालिकाबाट भराइनु, अर्काेतिर सर्वाेच्चका न्यायाधीशकी श्रीमतीलाई प्रक्रिया नै मिचेरै एक तह उकालिदिनु ! यससँगै अस्ति सोमबार उनको कार्यकक्षमा मेयरले ताला झुण्ड्याइदिएको बुझिएको छ ।

मेयर साहकै सचिवालयमा कार्यरत भगवती बिडारीकी छोरीलाई जागिर खुवाउन कार्यपालिकाको निर्णय कीर्ते गरेको फेला परेपछि कर्मचारी वृत्तमा चतुर प्रशासक भनेर चिनिने वसन्त विवादमा तानिएका र बिदा लिएर बसिरहेका थिए । सोमबार बालेनले उनको कार्यकक्षमै ताला ठोकिदिए । हृदयेश त्रिपाठी सामान्य प्रशासनमन्त्री हुँदा सिडियो छाडेर उनी ०७९ असोज १६ गते काठमाडौँ महानगरपालिकामा खटिएका थिए ।

हृदयेश त्रिपाठी भौतिकमन्त्री हुँदा उनकै सचिवालयमा बसेका र हृदयेश सामान्यमन्त्री हुँदा सँगै यता सरेका थिए । यसअघि छविराज पन्त भौतिकमन्त्री हुँदा उनको निजी सचिव थिए । उनै वसन्तको राहदानी दुरूपयोग गरेर अर्काे व्यक्ति इटाली पुगेको चर्चा बेलाबखत निजामती वृत्तमा हुने गर्दछ ।

वसन्तले २९ नम्बर वडाका आठौं तहका कर्मचारी रमेश घिमिरेलाई जिम्मेवारीबाट हटाएर छैटौं तहका शम्भु बराललाई जिम्मेवारी दिई पठाएका थिए । यस अलावा दुई साताअघि काठमाडौँ महानगरपालिकाले झण्डै १९६ जनप्रतिनिधिसहित कर्मचारीलाई सौराहामा लगेर दुई दिने तालिम दिएको थियो । सोको बिल मात्र ३० औं लाख उठेको जनाइएको छ । सोही बिलमा आफ्नो छोराको विवाह भोजको खर्चसमेत जोडेर महानगरपालिकाबाट भराइएको एकाथरी कर्मचारीले बताएका छन् ।

वसन्तका छोराको दुई साता अघि विवाह गर्दा जहाँ भिआइपीहरूलाई खुवाइएको थियो, त्यहीं महानगरपालिकाको कार्यक्रम राखेर बिल महानगरपालिकाबाट भराइएको स्रोतले जनाएको छ । 

बिदा बसेकै बेला ब्याक डेट राखेर दुई दर्जन बढी कर्मचारीको सरुवा ठोकेको फेला परेपछि सोमबार बालेनले उनको कार्यकक्षमै ताला लगाइदिएको स्रोतले जनआस्थालाई जनाएको छ ।
 

टिप्पणीहरू