‘भिआइपी’ अभियुक्तको सर्वोच्चमा भीड

‘भिआइपी’ अभियुक्तको सर्वोच्चमा भीड

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मुछिएका पूर्वमन्त्री, सचिव एवं सल्लाहकारको यतिबेला सर्वोच्च अदालतमा लर्को लागेको छ । 

काठमाडौँ जिल्ला अदालतको आदेश सदर गर्दै उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै पठाएपछि यी ‘भिआइपी’ अभियुक्तको लर्को लागेको हो । अहिले सर्वोच्चका दश वटा इजलासमध्ये कुनै न कुनै इजलास नक्कली भुटानी शरणार्थी मामिलाका कारण खचाखच छ । भुटानी प्रकरणले इजलास मात्र होइन, आजभोलि गोपाल सुवेदी प्रोप्राइटर रहेको सर्वोच्चको क्यान्टिनसमेत भरिभराउ छ ।

पुर्पक्षका लागि थुनामा रहेकामध्ये अधिकांश प्रतिवादीले ‘बेरितको आदेश’ बदरको माग गर्दै निवेदन दिएका छन् । उनीहरूका लागि थुनामै रहन वा धरौटीमा छुट्नका लागि सर्वोच्च अदालत अन्तिम गौंडो हुनेछ । थुनामा राख्ने निर्णय सदर गरेमा मुद्दाको किनारा नभएसम्म थुनामै बिताउनुपर्ने भएका कारण पनि यी प्रतिवादीले सबै दलको प्रतिनिधित्व हुने गरी नाम चलेका वकिललाई बहसमा उतारेका छन् । 

यसरी थुनामा पुगेकामध्ये पूर्वसांसद आङटावा शेर्पा, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बिचौलिया केशव दुलाल, सन्देश शर्मालगायत उच्चको आदेशविरुद्ध सर्वोच्चमा पुगेका छन् । यीमध्ये पूर्वमन्त्री रायमाझी, पूर्वसांसद शेर्पा, सचिव पाण्डे र सुरक्षा सल्लाहकार इन्द्रजित राईको मुद्दामा तल्लो अदालतबाट ‘कैफियत प्रतिवेदन’झिकाउने आदेश भइसकेको छ । बाँकी अभियुक्त पनि सर्वोच्चमा निवेदन लिएर जाने क्रम जारी छ । 

यता, कांग्रेस पृष्ठभूमिका न्यायाधीश कृष्णराम कोइरालाको रायका कारण ३० लाख धरौटीमा छुटेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आदेश उल्ट्याउन सरकारी वकिलले सर्वोच्चमा निवेदन दिएमा र सर्वोच्चबाट धरौटी आदेश उल्टिएमा उनको बसोबास पुनः जेलतिरै हुनेछ । 

‘बेरितको आदेश’ बदर गर्न मागसहित निवेदन लिएर आएका सबैको निवेदनलाई एकै साथ राखेर सुनुवाइ गर्ने तयारी छ । उच्चबाट उनीहरूको मुद्दामा भएको आदेशसहित ‘कैफियत प्रतिवेदन’ प्राप्त भएपछि एउटै पेसीमा राखेर एकमुष्ट सुनुवाइ गरी चाँडो निकास दिइने भएको छ । एउटै प्रकृतिको मुद्दामा फरक–फरक निवेदन दर्ता भएको अवस्थामा सर्वोच्चले सबैलाई साथै राखेर ‘ब्लक हियरिङ’ को अभ्यास शुरु गरेको छ । नक्कली शरणार्थी मुद्दाका ३० जना अभियुक्तमध्ये १२ जना भने हालसम्म फरार नै छन् । प्रहरीले ‘भिआइपी’ सहित १८ जनालाई अभियोगपत्रसँगै अदालतमा पेस गरेको थियो । 

 

टिप्पणीहरू