बालकुमारीमा ज्यान गुमाएका युवकका परिवार र सरकारबीच सहमति

बालकुमारीमा ज्यान गुमाएका युवकका परिवार र सरकारबीच सहमति
सुन्नुहोस्

ललितपुरको बालकुमारीमा गत शुक्रबार भएको झडपमा ज्यान गुमाएका दुई युवकको शव परिवारले बुझ्ने भएका छन् । सरकारसँग सहमति गरेपछि मृतकका परिवारले शव बुझ्न लागेका हुन् । 

अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतका परिवार र सरकारबीच आज चार बुँदे सहमति भएको छ । सहमतिपत्रमा मृतकका परिवारका एक–एक सदस्यलाई उपयुक्त रोजगारी यथाशीघ्र उपलब्ध गराउने र उपलब्ध राहतको अतिरिक्त राहत उपलब्ध गराउन आवश्यक सहजीकरण गर्ने भनिएको छ । 

त्यसैगरी मृतक दुवैलाई शहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई यथाशीघ्र अनुरोध गर्ने, दुवैको शव बुझ्ने र पार्थिव शरीरलाई सम्बन्धित जिल्लासम्म पुर्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख छ । 

सरकारको तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मृतक शाहको तर्फबाट उनका बुबा टेकबहादुर शाह र राउतको तर्फबाट मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् । सरकारले यसअघि नै पीडित दुवै परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ । 

रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत पानी जहाज कम्पनीको कामदारका लागि लिइएको भाषा परीक्षामा उत्तीर्ण नभएपछि उत्पादनतर्फको फाराम भर्न पाउनुपर्ने माग राख्दै आएका युवाहरुले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिन आफूले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको प्रहरीको भनाई छ ।
 

टिप्पणीहरू