मन्त्री ज्वालाको स्पष्टीकरण : दुःखद् घटनामा आफैँ पीडित भएँ

मन्त्री ज्वालाको स्पष्टीकरण : दुःखद् घटनामा आफैँ पीडित भएँ

ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनाले विवादमा तानिपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अन्ततः स्पष्टीकरण दिनुभएको छ । उहाँले उक्त घटनामा आफू पनि पीडित भएको उल्लेख गर्नुभएको छ । 

खासमा त्यस दिन भएको चाहिँ के हो ? यस्तो छ, मन्त्री ज्वालाको स्पष्टीकरण :

यो बालकुमारी घटना आफैँमा दुःखद् हो । दुई जना युवाको ज्यान गएको छ । केही घाइते भएका छन् । र, यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसमा हामी दुःखी छौँ । यसप्रति म दुःख पनि व्यक्त गर्न चाहन्छु । 

त्यसदिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । बैैठक दुई दिन अघिदेखि चलिरहेको थियो । शुक्रबार अन्तिम दिनको बैठक भइरहेको थियो । त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ ।

अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक शुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि बैठकमा फर्किने उद्देश्यले म प्यालेसबाट बाहिर निस्केँ । बाहिर निस्किनुभन्दा अगाडी बालकुमारी क्षेत्रमा के अवस्था छ ? त्यहाँ डिस्टर्ब छ कि छैन ? अथवा परिस्थिति के छ ? रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन ।

हामी सामान्य अवस्थामा बाहिर निस्कियौँ । निस्किँदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौँ । संयोगले त्यतिबेलै हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौँ । राज्यमन्त्रीज्यूको गाडी भित्र पस्दासम्म अवस्था सामान्य नै छ ।

हामी निस्किसकेपछि बीचमा अलिकति अगाडि बढिसकेपछि पारीपट्टी केही डिस्टर्ब हामीले महशुस गर्यौं । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्यौं । मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरू आएर गाडी रोक्ने प्रयास भयो । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे । र, प्रदर्शनकारीहरू रोक्ने मध्येकै पनि कतिपय व्यक्तिले यो गाडीलाई अगाडी जान दिऊँ भनेर धेरै प्रयास पनि गरे । 

त्यति हुँदाहुँदै पनि भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा भीड झन् उत्तेजित होला भन्ने हिसाबले गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किइहालेँ । फर्केपछि म बैठकमा बसेँ । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा । गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला । त्यहाँ गाडी पुग्यो । म केही समय त्यहाँ रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालेँ । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडी बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरूले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्यो भनेर कम्युनिकेसन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०÷२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मी पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

यो घटनामा हामी कहीँ कतैबाट पनि जोडिदैनौँ । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहीँ सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यस विषयमा हामी प्रष्ट के छौँ भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ । न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसावमा जोडिदैनौँ । 

अब भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकी सडक खुला छ । सडकमा गाडी चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै थिए । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्नेकुरा जानकारी भएपनि त्यो बाटोमा हामी जाँदैन थियौँ । त्यो जानकारी पनि भएन । 

यो घटनासँग हाम्रो कुनै संलग्नता छैन । हाम्रो गाडी त्यो बाटोमा हिँडेकै कारणले भीड उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन । त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना भएको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्नेकुरा गलत छ ।

त्यतिबेला म बैठक कक्षबाट निस्किएँ । त्यसपछि मैले पिएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔँ भनेँ । हामी सबै गाडीमा बस्यौँ । गाडीबाट हिड्यौँ । हिँड्दाहिँड्दै पिएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौँ भनेर आफ्नो केन्द्रमा खबर गरिरहेको मैले सुने । त्यतिबेलासम्म पीएसओले वा अरु सुरक्षाकर्मीले कहिँ कतैबाट यो बाटो डिस्टर्ब छ । यो बाटोमा जानु हुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौँ भन्ने किसिमको जानकारी कहिँ कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । 

त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मूर्खतापूर्वक त्यो बाटो त जाँदैन थिएँ । बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्र्टबेन्स् देखियो । त्यसपछि हामी सर्तक भयौँ र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्यौं । प्रयत्न गर्दागर्दै हामी सफल भएनौँ त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडि बढ्यो भन्ने कुरा जुन भनिँदैछ । यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न÷कसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दुःखी छौँ । दुई जना युवाले ज्यान गुमाए । यो एउटा दुःखद् पक्ष हो । तर हाम्रो त कहिँ कतैबाट सम्बन्ध नै छैन यसमा । हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेका हौं । आउने क्रममा अवरोध भयो । अवरोधपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडीमा आगलागी भयो । हामी त पीडित पक्ष हौँ । साच्चिकै भन्दाखेरी ।

मान्छेको ज्यानभन्दा गाडीमा आगलागी हुने कुरा सानो होला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो । हामी बिना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो गाडी क्षति भएको छ । सरकारी सम्पत्ति क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरि यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन् । चाहे सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोली चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोली चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभुति हुन थालेको छ । 

कतिले त्यहाँ किन गएको मन्त्री भन्नेपनि प्रश्न गरेका छन् । दुनियाँलाई थाहा छ, तीन दिनदेखि बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठकमा मन्त्री भएको केन्द्रीय सदस्य पनि जान्छ नि । बैठकमा दिनदिनै गएका छौँ हामी । दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौँ । त्यसकारण आउने जाने त तीन दिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ । हामी प्रष्ट पार्न तयार छौँ । जुनसुकै हिसाबले पनि यो कुरालाई सत्य साबित गर्न हामी सक्षम छौँ ।

टिप्पणीहरू