प्रहरी परिवारलाई च्याउ खेती सिकाइयो

प्रहरी परिवारलाई च्याउ खेती सिकाइयो

प्यूठानमा प्रहरी कर्मचारीका परिवारलाई च्याउ खेतीसम्बन्धी तालिम दिइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज उक्त तालिम प्रदान गरिएको जनाइएको छ ।  

जिल्ला प्रहरी कार्यालयको समन्वय र सहकार्यमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानले सञ्चालन गरेको तालिममा प्रहरी सेवामा रहेकाहरुको परिवारका सदस्यहरुलाई सिताके च्याउ खेतीसम्बन्धी प्रयोगात्मक सीप सिकाइएको हो । 

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इश्वर थापाले यस्ता सीपमूलक तालिमले प्रहरी कर्मचारीका परिवारलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताए । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले सिताके च्याउ खेतीसम्बन्धी तालिम नमूनाको रूपमा जिल्लामै पहिलो पटक सञ्चालन गरिएको जानकारी दिए । 

यसलाई आगामी दिनमा थप विस्तार गरिने आयोजकको तयारी छ । कार्यक्रममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट स्थलगत अनुशिक्षण तथा अभ्याससमेत गराइएको थियो ।

टिप्पणीहरू