टिंकर सडक निर्माणमा खै भारतीय सहयोग !

टिंकर सडक निर्माणमा खै भारतीय सहयोग !

नेपाली सेनाबाट बनिरहेको दार्चुला–टिंकर सडक निर्माणमा भारतीय पक्षबाट असहयोग प्रष्टै देखिएको छ । नेपाल सरकारले सहयोग मागे पनि भारतीय पक्षले वास्ता नगर्दा सडक निर्माण सुस्ताएको छ । 

व्यास गाउँपालिका–३ तुषारपानीदेखि वडा नम्बर १ टिंकर भञ्ज्याङसम्मको सडक निर्माण भइरहेको छ । महाकाली नदीको किनारैकिनार बन्ने उक्त सडकमा भारतीय पक्षबाट सहयोग प्राप्त हुन सकेको छैन । ७९ किलोमिटर लामो सडकमध्ये हालसम्म नेपाली सेनाले १० किलोमिटरको ट्रयाक निर्माण गरेको छ । 

निर्माणलाई गति दिन व्यास गाउँपालिकाको छाङरुमा सेनाको क्याम्प स्थापना गर्ने तयारी थियो । तर भारतीय असहयोगले तत्काल त्यो काम हुन सकेको छैन । भारतीय मोटरबाटो भएर स्काभेटरसहितका मेसिन ढुवानी गर्ने प्रयास भए पनि उताबाट सहमति प्राप्त नभएको कर्णेल एवं दार्चुला–टिंकर सडक आयोजना प्रमुख शिवकुमार केसीले बताउनुभयो । 

मंसिर २१ गते जिल्ला समन्वय समितिमा आयोजित टिंकर सडक र व्यासक्षेत्रको पैदल बाटो निर्माणबारे अन्तरक्रिया कार्यक्रममा केसीले उताको सहयोग प्राप्त हुन नसक्दा सडक निर्माणले गति नलिएको दुखेसो पोख्नुभयो । स्थानीयस्तरमा जिल्ला प्रशासन कार्यालय र केन्द्रीयस्तरमा मन्त्रालयमार्फत भारतीय राजदूतावाससम्म यसबारे पहल गरिएको हो । 

सैनिक हेलिकोप्टरमार्फत स्काभेटरसहितका मेसिन–उपकरण ढुवानी गर्दा योजनाको लागत बढ्ने अवस्था छ । नेपाली सेनाले तयार गरेको डिपिआरअनुसार ७९ किलोमिटर लामो दार्चुला–टिंकर सडकको ट्रयाक निर्माण गर्न ३ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्नेछ । 

व्यास गाउँपालिकाको वडा नम्बर ४ सुन्सेरामा नेपाली सेनाले दार्चुला–टिंकर सडकको आयोजना कार्यालय स्थापना गरिसकेको छ । वडा नम्बर २ को दुम्लिङ र थिईमा सेनाको क्याम्प राखिएको छ भने तुषारपानीदेखि दुम्लिङसम्मको क्षेत्रमा सडक निर्माण भइरहेको छ । 

महाकाली किनारमा भारततर्फ सडक निर्माण गर्दा नेपाल सरकारले सहयोग गरेजस्तै यताको सडक निर्माणमा भारत सरकारले सहयोग गर्नुपर्ने दार्चुलाबाट निर्वाचित सांसद दिलेन्द्रप्रसाद बडूले बताउनुभयो । ‘सीमाक्षेत्रमा आपसी समन्वय र सहयोग गरेर विकास निर्माण गर्नुपर्छ, हामीले आफ्नो तर्फबाट सहयोग गरेका छौं, छिमेकीबाट पनि सहयोग जुटाउनुपर्छ’ उहाँले भन्नुभयो । 

सेनालाई सडक निर्माणका लागि पर्याप्त बजेट नदिएका कारण पनि सडक निर्माण सुस्ताएको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिह धामीको भनाइ छ । ‘हामीले पटक–पटक टिंकर सडकमा बजेट बढाउन आवाज उठायौं तर कसैले सुनेन’ उहाँले भन्नुभयो, ‘बजेट नै नदिएपछि सडक निर्माणले कसरी गति लिन्छ ?’ सरकारले चालु वर्ष सडक निर्माणका लागि नेपाली सेनालाई जम्मा १४ करोड रुपैयाँ बजेट दिएको छ । जबकि उसले २६ करोड रुपैयाँ मागेको थियो ।

 

टिप्पणीहरू