जग्गा चाहिने सरकारलाई, खेलोमेलो गर्ने दलाल

जग्गा चाहिने सरकारलाई, खेलोमेलो गर्ने दलाल

पोखरा महानगरपालिकाले आफ्नो ल्याण्डफिल्ड साइट प्रयोजनको लागि भन्दै जग्गा खरिदको तयारी गरेको एक वर्ष हुन लाग्यो तर खिचडी अझै पाकेको छैन । यसअघि बैनास्वरुप वडाध्यक्ष रामचन्द्र अधिकारीको खातामा गएको ५५ लाख रुपैयाँ विभिन्न आलोचना भएपछि ब्याजसहित फिर्ता भएको थियो । त्यही जग्गा खरिद प्रकरणमा अहिले भित्री अभ्यास भइरहेको बुझिन आएको छ फोहोर प्रशोधन केन्द्रका लागि भन्दै करिब ९० रोपनी जग्गा किन्न वैशाखदेखि जमर्को गरिँदै आएको छ । 

पोखरा ३३ मा पर्ने पुडिटारको झाँक्रीखोला र बरपौवा आसपास करिब ९० रोपनी खेतबारीको जग्गा खरिद प्रक्रिया भित्री रुपमा अगाडि बढेको छ । २/३ लाखदेखि ५ लाखसम्म प्रति रोपनी पर्ने जग्गा खरिदको टुंगो लाग्यो तर चुरो कुरो बाहिर आएको छैन । कसको जग्गाको मूल्य कति भन्ने लुकाइएको छ । सडकसम्म नपुगेको उक्त खेतबारीमा डोजर चलाएर बाटो निकास जोडी जग्गाको मूल्यांकन ह्वात्तै बढाउने गोप्य योजनाका तानाबाना बुनिँदै आएको विशेष स्रोतले बताएको छ । जग्गाधनीसँग एउटा मूल्य तय गरी बैना कागज भैसकेको तर मूल्य बार्गेनिङ गर्न बाटोसमेत जोड्ने खेल भएको बुझिएको छ । 

आयल निगमको जग्गा खरिद काण्ड बिर्साउने गरी फोहोर मैला प्रशोधन केन्द्रको जग्गा खरिद काण्ड अगाडि आउने देखिएको छ । यो सेटिङ सफल हुन दिएमा महानगरपालिकालाई झण्डै ५ करोडको वरिपरि व्ययभार बढ्ने निश्चित छ ।

हाल डोजर लगाएर हतारमा खनिँदै गरेको सडक स्वीकृत योजनामा परेको हो ? बाटो विस्तार अगाडि नै जग्गा प्राप्तिसम्बन्धी कार्य किन टुंग्याइएन ? बाटो जोडेपछि हुने कृत्रिम मूल्य वृद्धिको व्ययभार कसले व्यहोर्ने यी प्रश्नको चित्तबुझ्दो जवाफ खोजेर मात्र खरिद कार्य टुंगोमा पु¥याउन सकिएन भने आयल निगम काण्ड दोहोरिनेमा कुनै शंका छैन ।
 

टिप्पणीहरू