जनतामा जानुको केही छ र विकल्प ?

जनतामा जानुको केही छ र विकल्प ?
सुन्नुहोस्

एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा २०८० केन्द्रीय राजनीतिमा पार्टीको घट्दो प्रभावलाई बचाउने प्रयास गरेको छ भने यस दौरान अध्यक्ष केपी शर्मा ओलीप्रति स्थानीयको विशेष आकर्षण देखिएको छ ।

यात्राको अगुवाई गरेका अध्यक्ष ओली र उनको टोलीलाई ठाउँ ठाउँमा बालबालिका, बृद्धवृद्धा र युवायुवतीले कुरेर बसेको र ठाउँठाउँमा सेल्फि खिचेको पाइएको छ । यस्तो क्रेज तत्कालीन अध्यक्ष मनमोहन अधिकारी हुँदाका बखत देखिएको थियो । मनमोहन अधिकारी सरकारबाट हटेपछि सहानुभूति र कामको प्रभावस्वरुप उनीप्रति यस्तो क्रेज देखिएको थियो भने अहिले ओली सत्ताबाट बाहिरिएपछि अभियानको क्रममा यो प्रकट भएको हो । ओलीको अभियान मिशन ०८४ को नाममा केन्द्रीत रहेबाट यसबीचका ४ वर्ष वर्तमान गठबन्धन अकन्टक रहने सन्देश गएको बुझ्न कठिन छैन । 

निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्गको मेसो पहिल्याउँदै हिँडेको सो टोलीलाई पूर्वमा उदयपुरको घुर्मीलगायत स्थानबाट पहिचानवादीले अवरोध खडा गरिरहेका छन् भने सो मार्ग बन्दको समेत आह्वान गरेका छन् । जसकारण अहिले प्रहरीले चिनिएका र नचिनिएका नौला अनुहारकालाई सो राजमार्गमा पक्राउ गर्दै सोधपुछपछि छाड्ने काम भैरहेको छ ।

पहिलेको मेची–महाकाली यात्रा सप्तरी पुग्दा बबाल भएजस्तो यो अभियानको कसैले विरोध गर्न नसक्ने बताइए पनि पूर्वमा पहिचानवादीको अवरोधका कारण असहजता महसुस भैरहेको देख्न सकिन्छ । यो मार्गका ठाउँ–ठाउँमा स्थानीय प्रशासनले कडा सुरक्षा निगरानी गरेको छ भने सम्भावित झडपलाई रोक्न व्यापक रूपमा गरेको अवस्था छ । 

अध्यक्षको टोलीलाई स्थानीय पार्टी कमिटीले स्वागत गर्ने, बाटो देखाउने भनिए पनि अभियानकर्ताले बाटो भुलेको स्विकार्दै फेसबुकमार्फत माफ पनि मागेका छन् । यसले चुस्त संगठनमा भद्रगोल व्यवस्थापन समेत उजागर भएको छ । जे जस्तो भए पनि दल र नेताहरु जनतासँग निरन्तर जोडिनुको विकल्प नरहेको कुरा जारी अभियानले राम्रोसँग झल्काएको छ । 
 

टिप्पणीहरू