विराटनगर आगलागीका घाइतेको कीर्तिपुरमा उपचार शुरु

विराटनगर आगलागीका घाइतेको कीर्तिपुरमा उपचार शुरु

मोरङको विराटनगर महानगरपालिका–७ स्थित सातघुम्तीमा रहेको एक कबाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ । घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइते सबैलाई सेनाको स्काई ट्रकमा हालेर काठमाडौं ल्याइएको छ । उनीहरुलाई साँझ साढे ६ बजेपछि कीर्तिपुुरस्थित बर्न अस्पताल पुर्याएर उपचार थालिएको हो ।

यसअघि घाइतेमध्ये तीन जनाको विराटनगरस्थित न्यूरो अस्पताल र एक जनाको कोशी अस्पतालमा उपचार गरिएको थियो । तर, घाइतेको अवस्थालाई ध्यानमा राखेर काठमाडौं ल्याइएको बताइएको छ ।

६५ वर्षीया सुशिला पासवान र ६० वर्षकी रिता सरदारको शरीरको धेरै भाग जलेको छ । त्यस्तै ५८ वर्षका किशोर पासवान र ३० वर्षकी पिङ्की कामतको शरीरको तल्लो भाग बढी जलेको जानकारी दिइएको छ । उनीहरुसँगै चार जना कुरुवालाई पनि सँगै सेनाको कल साइन एनए ०६४ भएको स्काइ ट्रकमा राखेर ल्याइएको हो ।

आगलागीमा परेर दिपक मण्डल र अर्का एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

टिप्पणीहरू