प्रहरी प्रमुख घर बिदामा, आठ राउण्ड अश्रुग्यास अस्पताल गेटमा
अञ्जनकुमार
जिल्ला अस्पताल लमजुङको गेटमा हिजो आठ राउण्ड अश्रुग्यास प्रहार गरेपछि त्यहाँको अवस्था थप तनावग्रस्त भएको छ । गत मंगलबार प्रसूती गराएपछि सुत्केरी महिला र शिशुको ज्यान गएको विषयमा बढेको विवादले नयाँ रुप लिएको बताइन्छ ।
हिजो प्रदर्शनकारीहरुले आफूमाथि तथानाम गाली र ढुङ्गा बर्साउँदा पनि सुरक्षाकर्मीहरु चुपचाप नै थिए । वास्तविक पीडितहरु पनि अराजक शैली प्रस्तुत गर्ने पक्षमा थिएनन् । शुरुमा अस्पताल गेटमा ४०÷५० जना महिला र दुईचार जना केटाहरू मात्रै जम्मा भएका थिए ।
मृतकका श्रीमान् भरत बिक स्वयम्ले कुनै अप्रिय घटना नहोस् भनेर आन्दोलित आमा समूह र केही युवाहरू समेतलाई हात जोडेर प्रहरी र अस्पतालमा भौतिक आक्रमण नगर्न आग्रह गरिरहेका थिए । तर केही अराजक समूह प्रवेश गरेर सुरक्षाकर्मी र अस्पतालमा व्यापक ढुङ्गा मात्रै होइन बालेको टायर र सिसाको बोतल नै प्रहरीमाथि प्रहार गरेको बताइन्छ । त्यसपछि आक्रोशित प्रहरीले हवाई फायरसहित आठ राउन्ड अश्रुग्यास प्रहार गर्दा स्थिति तनावग्रस्त बनेको हो ।
पीडित प्रदर्शनकारीको आडमा नेकपा विप्लवका केही मान्छेको घुसपैठले शान्तिपूर्ण आमादिदी बैनीहरुको प्रदर्शनलाई बिथालेर प्रहरीलाई आक्रोशित पारेको प्रहरीले निष्कर्ष निकालेको बताइन्छ । प्रदर्शनकारीको बीचमा घुसेर ढुङ्गा प्रहार गर्दा अस्पताल गेटमा जडित डिजिटल फ्ल्यास बोर्ड, झ्यालका सिसा र बत्तीहरु फुटेका छन् । सो क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।
प्रहरीले स्थिति नियन्त्रणका लागि लाठी चार्ज गर्दा केही महिला पनि घाइते भएको जनाइएको छ । गत मंगलबार मस्र्याङ्दी गाउँपालिका–९ कि २६ वर्षीया शोभा बिकको प्रसूति गराउने क्रममा ज्यान गएपछि पीडित पक्ष आक्रोशित भएका हुन् । तर उनीहरू हिजोको जस्तो अराजक गतिविधिमा उत्रने पक्षामा नभएको मृतकका श्रीमान भरत बिकले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले गरेको सुत्केरी आमा र शिशुको मृत्युबारे गठित छानबिन टोलीले त्यहाँ आउन आलटाल गरेपछि पीडितहरु प्रशासन गेटमा जम्मा भएका थिए । सोही क्रममा सिडिओ रामकृष्ण अधिकारी आफ्नो काम देखाउँदै दोर्दीतिर लस्केपछि कोसँग कुरा गर्ने भन्दै ? पीडित पक्ष अस्पताल अगाडि पुगेको थियो ।
सोही क्रममा कसैले ‘यो दुर्गम गाउँका दलितको मुद्दा भएकोले त्यसै ढिसमिस पार्न खोजे’ भनेर हौवा फैलाइदियो । त्यसैगरी कोही भन्दै थिए ‘यो घटना बेसीसहरबासीको, अझ गुरुङ तामाङ समुदायका मान्छेको हुन्थ्यो भने अस्पतालमा आगो लागिसक्थ्यो ।’ यसरी त्यहाँ उपस्थित समूहलाई उकास्न थालेपछि टायर बालेर नाराबाजी शुरु भयो र अस्पतालको गेटमा ढुंगामुढा प्रहार भएको प्रत्यक्षदर्शी बताउँछन् ।
जिल्ला अस्पतालमा आइसियु र ब्लड बैंक नहुँदा विशेषतः गर्भवती महिलाको उपचारमा पहिलेदेखि नै समस्या देखिएको छ । मंगलबार शल्यक्रियापछि निकालिएको शिशु मृत र आमाको उपचारमा थप समस्या उत्पन्न भएको थियो । तत्काल सुविधा सम्पन्न अस्पताल रिफर गरिहालेको भए सम्भवतः सुत्केरीको ज्यान बच्नेमा पीडितहरु मात्रै हैन स्वयम् अस्पतालका डाक्टरहरुको भनाई छ । यसमा अस्पताल प्रशासनको कमजोरी देखिएको नाम नबताउने सर्तमा अस्पतालका एक सञ्चालक भन्छन् ।
गृहको खासै अनुभव नभएपनि मुखले लोतोपोतो घस्न खप्पिस प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी घटनाबारे छानबिन, अध्ययन गरेर साताभित्र प्रतिवेदन बुझाउने र सोहीअनुरुप कानुनी प्रक्रियामा अघि बढाउने भनिएको सहमतिमा पीडित पक्षले सहमतिलाई भंग गर्न खोजेको आशंका गर्दै त्यो फलदायी नहुने धारणा राखेका छन् ।
यता, अस्पताल प्रशाशक विशाल तिवारीले सुरक्षा चुनौतिलाई देखाउँदै अस्पताल सेवा बन्द हुनसक्ने बताए । हुनतः मुस्ताङ अस्पतालबाट लमजुङ झरेका तिवारी आलाकाँचा जस्तै देखिन्छन् । आठौं तहका तिवारीलाई स्थानीयले ‘न उमेरले पाकेका न अनुभवले खारिएका’ विशेषण भिराइदिएका छन् । घटनालाई कसरी हुन्छ मत्थर पार्नुको सट्टा पीडितहरुसँग पौंठेजोरी खोजेको जस्तो उनको अभिव्यक्तिले देखाएको पीडितका आफन्तहरुको अनुभव छ ।
यता प्रहरीले नियन्त्रणमा लिएका एक आन्दोलनकारी स्याङ्जा जिल्लामा कार्यरत प्रहरी भएको बुझिएको छ । मृतका देवर २४ वर्षका चन्द्रबहादुर बिकमाथि आफैँ प्रहरी हुँदाहुँदै पनि अराजकता फैलाएको आरोप लागेको छ । सुरक्षाको कमान्ड गरिरहेका जिप्रका लमजुङका निरीक्षक थानेश्वर चपाईंले ‘हाम्रै स्टाफ रहेछौ ल अहिले जाउ’ भनेर सम्झाउँदा पनि प्रशासन चोकमा मुखमुखै लागेपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ । उता, दुई सेल अश्रुग्यास मात्रै प्रहार गर्ने भनिए पनि अनावश्यक रुपमा आठ सेल खर्च भएपछि प्रष्टीकरण सोध्ने तयारी गरिएको बुझिएको छ । जिप्रका प्रमुख डिएसपी मिनबहादुर घले घर बिदामा बसेको बेलामा यता जिल्ला सदरमुकाममा लफडा चकेको हो ।
टिप्पणीहरू