पहाडी भेगका बाटो बाटोमा एमाले नेताको हुल,भीम रावल अझै ढुलमुल

पहाडी भेगका बाटो बाटोमा एमाले नेताको हुल,भीम रावल अझै ढुलमुल

नेकपा एमालेले समृद्धिका लागि संकल्प यात्रा शुरु गरेको छ । बैतडीको झुलाघाटबाट पाँचथर चिवाभञ्ज्याङसम्मको अभियान आजदेखि प्रारम्भ गरिएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर अभियान थालनी गर्नुभएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग क्षेत्रमा केन्द्रित अभियान आगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न गरिने लक्ष्य  छ ।

उसले यसअघि २०७३ फागुनमा पनि १५ दिने मेची–महाकाली अभियान चलाएको थियो । यसपटक भने पहाडी क्षेत्रका २० स्थानमा कार्यक्रम आयोजना गरेर स्थानीयको सुझाव संकलन गरिने बताइएको छ । 

अभियानमा एमाले अध्यक्षसहित अधिकांश केन्द्रीय नेता सहभागी छन् । हिजो राजधानीबाट त्यहाँ पुगेका नेताहरुको प्रत्येक टिममा पाँच जनालाई राखिएको छ । सवारी साधन पनि त्यसैगरी मिलाइएको जानकारी दिइएको छ ।

प्राप्त विवरणअनुसार एमाले अध्यक्षसँगै पाँच वटा सवारी साधनमा २५ जना रहेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग एउटा सवारी साधनमा पाँच जनालाई राखिएको छ । 

त्यस्तै उपाध्यक्ष युवराज ज्ञवालीसहित पृथ्वीसुब्बा गुरुङ र सचिव गोकर्णराज विष्ट सँलग्न टोलीमा पाँच जना, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको टोलीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. पुष्पराज कँडेलसहित पाँच जना हिंड्ने भनी तोकिएको छ । 

आजको कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादल,विष्णुप्रसाद पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल,सचिव लेखराज भट्ट,योगेश भट्टराई,छविलाल विश्वकर्मा,रघुवीर महासेठ, पद्यमाकुमारी अर्याल पुगेको बताइएको छ ।

हाल चीनमा रहनुभएका उपमहासचिव प्रदीप ज्ञवाली दैलेखदेखिको अभियानमा मात्र सामेल हुनु हुनेछ । प्युठानका सूर्य थापालाई धनगढीमा भात भान्छाको व्यवस्थापन हेर्न लगाइएको छ । 

आगामी कार्यक्रम अनुसार एमालेले भोलि दिउँसो २ बजे डोटीको सिलगढीमा जनसभा राखेको छ । पर्सि १ बजे अछामको साँफेबगर र साढे ३ बजे मंगलसेनमा सन्देश सभा हुने छ । ती सबै कार्यक्रमको समन्वय सुदूरपश्चिम प्रदेश कमिटीले गरेको र त्यस भेगका नेता भीम रावललाई अझै पनि यस्ता अवसरमा बाहेक गरिएको देखिन्छ ।


 

टिप्पणीहरू