सचिवको नियुक्तिमा झण्डै सोत्तर

सचिवको नियुक्तिमा झण्डै सोत्तर
सुन्नुहोस्

एउटा बेनामे इमेल, जसले देशको सार्वभौम संसदबाट गठित संसदीय सुनुवाई समितिलाई दिनभर रन्कायो र साँझ परेपछि ‘अबदेखि यस्तो नगरौं है’ भन्दै सबैलाई थन्क्यायो पनि !

सरकारले परराष्ट्र सचिव भरतराज पौडेललाई क्यानाडाका लागि राजदूतका निम्ति सिफारिस गर्दै उक्त नाम संसदीय सुनुवाई समितिमा दियो । त्यसक्रममा एउटा बेनामे इमेलमा उजुरी आयो, ‘स्वीट्जरल्याण्डको माष्टर्स अफ एड्भान्स स्टडिज युरोपियन एण्ड इन्टरनेशनल गभर्नेन्स स्कलरसिप मन्त्रालयका अरु कर्मचारीका सन्तानले पाउनुपर्नेमा आफ्नी छोरीलाई दिलाए !’ यही उजुरीले हो, आइतबार दिउँसोदेखि घाम नडुब्दासम्म सिंहदरबारमा माथापच्ची भएको । सांसदहरू न्यूयोर्क र जेनेभासमेत नदिई हुर्मत लिइएका पौडेलसँग यसरी खनिए कि, मानौं देशका मुख्य शत्रु नै उनी हुन् । झापाबाट एमाले सांसद देवेन्द्र दाहालसँगै सत्तापक्षीय जसपाका प्रकाश अधिकारी, कांग्रेसका जीवन परियारसम्म सचिवसँग पालैपालो चर्किए । पछि पूर्वअर्थ मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुरा मिलाए । उनले भने, ‘बेनामे उजुरीलाई आधार बनाएर किन समय खेर फाल्ने ? प्रमाण भए ल्याएर कुरा गरौं, नभए यो कुरा टुंग्याइदिऔं ।’ त्यसपछि एमाले सचेतक महेश बर्तौलाले ‘भविष्यमा यस्तो नहोस्’ ‘अबदेखि काँक्रो नचोर्नु’ भनेजसरी कुरा टुंग्याए ।

पौडेलविरुद्ध उज्वलकृष्ण श्रेष्ठले सदाझैं एउटा उजुरी दिएका थिए । चीनका राजदूतले नेपाल आएर आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपतिलाई नबुझाउँदै उनले भेट गरेकोबारे । तर, त्यो समाचार जुन मिडियामा आएको हो, त्यसैले अर्को अंकमा खण्डन गर्दै गलत सूचना भएको उल्लेख गरेको थियो । सांसदहरू कराउन थालेपछि सचिवले जवाफ दिए, ‘समाचार पूरै पढ्नुस् त, अन्तिममा के छ ?’ अर्थात्, पछाडि त्यो समाचार सत्य नभएको प्रष्टिकरण स्वयं संवाददाताले दिएका थिए । यसरी पढ्दै नपढी कुरा उठाएको भन्ने भयो र कुरा सकियो । कांग्रेसका रमेशजंग रायमाझीहरूले कुरा मिलाउने शैलीमा आ–आफ्ना कुरा राखेका थिए । नत्र, आइतबार उठेको विवाद मंगलबार मिलाउने गरी बैठक सार्न खोजिँदै थियो । तर, ‘बिनाप्रमाणको विषयमा यस्तो नगरौं, अबदेखि यस्तो कुराको प्रमाण नै आए कुरा गरौंला, नत्र समय खेर नफालौं’ भन्ने सहमतिका साथ आइतबारै उनको नाम अनुमोदन गरिएको छ । दिउँसो सवा १ बजे शुरु भएको बैठक बेनामे इमेलकै कारण सवा ५ बजेसम्म लम्बिएको थियो ।

भरतलाई कर्मचारीहरूले ‘अभागी’ भन्ने गरेका छन् । पहिला उनी संयुक्त राष्ट्र संघमा जानुपर्ने थियो, सबै कुरा टुंगो लागिसकेपछि रोकियो । जेनेभा जानबाट पनि त्यसरी नै रोकिए । पहिला अदालतमा डिठ्ठाको जागिर खाएर सर्वोच्चको बेञ्चमै पुगेका उनी पछि लोकसेवाबाट परराष्ट्र समूहका लागि शाखा अधिकृतमा उत्तीर्ण भई जागिर खान पुगेका हुन् । उनको जागिर अर्को महिना सकिँदै थियो । पहिला–पहिला विभिन्न मिशनमा पठाउन ठिक्क पार्दै अन्तिममा बिगारिदिने कारण अन्यायमा परेका उनले अहिले पनि ठूलै न्याय भने पाएका हैनन् । परराष्ट्र सचिव भइसकेको व्यक्तिलाई अमेरिका, जापान, अष्ट्रेलियाजस्ता महत्त्वपूर्ण देश पठाइएको भए एउटा कुरा हुन्थ्यो । थपनाका रुपमा दूतावास राखिएको देश क्यानाडा पठाइँदा कर्मकाण्डमात्रै पूरा गर्न लागिएको भनी कतिपय कर्मचारीले चर्चा गरिरहेका छन् । पहिला भोजराज घिमिरेलाई मुख्यसचिवबाट बिदा गर्नका निम्ति दूतावास खोल्नुअघि नै त्यता पठाइएजस्तो भएको छ, भरतको हकमा ।

टिप्पणीहरू