मोहनद्वारा अर्को मनपरी

मोहनद्वारा अर्को मनपरी

स्वास्थ्यमा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा टेरामेक्स खरिदमा घोटाला गरेर आरजुलाई समेत मनमाफिक शुभलाभ पुर्‍याएका भनी विवादित स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा अर्को ठूलो घोटाला शुरु गरिसकेका छन् ।

टेरामेक्स खरिदको विषयमा उजुरी परेपछि अख्तियारबाट अनुसन्धान भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विश्व बैंकको पाँच अर्ब रुपैयाँको ऋणबाट यन्त्र र उपकरण खरिद गरेर ठूलो कमिसन हात पार्न बिचौलिया व्यापारी समूह, आरजु राणा र मोहन बस्नेतबीच कमिसन सुनिश्चित गरेर क्रमशः विभिन्न उपकरणको ठेक्का अगाडि बढाइएको छ । हालसम्म करिब ५० करोडको टेण्डर प्रकाशन भइसकेको छ । अरु क्रमशः अगाडि बढाउने लाइनमा रहेका स्वास्थ्य मन्त्रालयका एक उच्चाधिकारीले बताएका छन् । 

स्थानीय स्तरमा निर्माण गरिने ग्रामीण अस्पतालको जग्गा सुनिश्चित डिपिआर स्वीकृत नभएको अवस्था एकातिर छ भने अर्कोतिर स्थानीय तहमा पठाउनुपर्ने बजेट केन्द्रबाट नेपालीको टाउकोमा ऋणको भारी बोकाएर कमिसनको लोभमा यन्त्र र उपकरण खरिदका नाममा सक्नु नीतिगत घोटालाबाहेक अरु केही होइन । औषधिजन्य सामग्री, अस्पतालका यन्त्र र उपकरण खरिदमा ठूलो कमिसन पाइने  तथा पारदर्शिता नहुने भएकाले मोहनको चाहना खरिदमा मात्र केन्द्रित छ । 

‘म इमान्दार भई पारदर्शी निर्णय गर्छु, स्वास्थ्य क्षेत्र मैले सबै बुझेको छु’ भनेर बारम्बार गफ दिइरहने मोहन काममा चाहिँ ठीक त्यसको विपरीत छन् । स्टन्टबाजी र  सस्तो लोकप्रियतामा रमाउने उनले मन्त्रालयको नीतिगत काममा खासै चासो दिएका छैैनन् । विगतमा डा. रामवरण यादवको पालामा बनेको संरचना संघीयता कार्यान्वयन गर्ने नाममा जथाभावी काँटछाँट गरियो ।

संरचनागत र नीतिगत सुधार गर्न विभाग, मन्त्रालयको क्षमता अभिवृद्धि गर्नेगरी तयार भएका तर सदनबाट पास गराउन बाँकी ऐनको विषयमा उनलाई कुनै मतलब छैन । खरिद, विदेश भ्रमणजस्ता कार्यमा मात्र आफ्ना गतिविधि केन्द्रित गरेका मोहनले हरेक विदेश भ्रमणमा सचिवालयका सदस्यलाई पठाउने तथा हरेक नियुक्तिमा मोलतोल गर्न तेस्रो व्यक्ति खटाउनेलगायत कामलाई भने खुबै संस्थागत गरेको पाइन्छ । 

आरजुको आशीर्वाद र भारतीय दूतावासको आडमा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेकी डा. संगीता कौशल मिश्रले विभागको कार्य वातावरण तहसनहस बनाएकी छन् । करारमा रहेका सवारी चालक, कार्यालय सहयोगीलाई तनाव दिएर विभागको कार्य वातावरण नै अस्तव्यस्त बनाएकी छन् ।

कांग्रेसको मन्त्री र नेत्री आरजुको आशिष भए पनि पिए भने माओवादी मातृका दाहाललाई राखेर विभागमा वितण्डा नै मच्चाएकी छन् । विगतमा स्वास्थ्य निकायको कुनै पनि उच्च तहमा नबसेकी र लगनशील भएर कुनै काम गरेको अनुभव पनि नभएकाले अहिलेसम्म उनले कामको लय समात्न सकेकी छैनन् । विभागमा रहेका अधिकांश निर्देशक पनि उनको काम गर्ने शैली र अन्तैतिर जवाफदेहीजस्तो देखिने व्यवहारले विपक्षमा रहेका बताइएको छ । सञ्चार, समन्वय पक्ष पनि कमजोर छ ।

विकास साझेदार आफ्ना सहकर्मी, निर्देशक मातहतका अन्य कर्मचारीसँग पनि विश्वासको वातावरण कायम गर्न नसकेकी उनले ठूलाबडाको नाम लिएर मात्र स्वास्थ्य सेवा विभागको कार्यसम्पादन खै कसरी राम्रो हुने होला ?

 
 

टिप्पणीहरू