भाइटीकाको उत्तम साइत १०ः५१ बजे, अरु समयमा पनि लगाउन सकिने

भाइटीकाको उत्तम साइत १०ः५१ बजे, अरु समयमा पनि लगाउन सकिने
सुन्नुहोस्

तिहारको अन्तिम तथा विशेष दिन आज भाइटीका लगाईंदै छ । कात्तिक शुक्ल द्धितिया तिथिका दिन भाइतिहार मनाइन्छ ।

दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजा गरेर यो पर्व मनाइन्छ । आजको दिनलाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइ र दिदी बहिनीबीचको मिलनको रुपमा पनि लिइन्छ । 

यसले उनीहरुबीचको सम्बन्धमा दीगोपन ल्याउने विश्वास गरिन्छ । अष्टचिरञ्जीवीको पूजाआजासँगै भाइटीकामा ओखर, तोरीको तेल, बिमिरो, कटुस, मखमली, दही, दूध तथा सयपत्री माला, रोटी, मीठा–मीठा खानेकुरा समावेश गरिन्छ ।

दियो, कलश र गणेशको पूजा गरेपछि बिमिरोको पूजा गर्ने धार्मिक विधि छ । त्यसपछि दाजुभाइको मंगलमयको कामना गर्दै घरको ढोकामा ओखर तथा यमराजको पूजा गरेर कालको बाटो छेकिन्छ । 

पानी र तेलले सात घेरा हाली दिदीबहिनीले दाजुभाइलाई छेक्छन् । फूल, अक्षता, चन्दन र लाभा चढाएर दाजुभाइको शीरमा तेल लगाउने र  सगुनको रुपमा दही खुुवाइन्छ । 

त्यसपछि दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । कतिपयले ढाका टोपी पनि लगाइदिन्छन् । दाजुभाइलाई ओखर, कटुस, खाने मसला, सेलरोटी, फलफूललगायत मीठा खानेकुरा दिइन्छ ।

त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाएर गच्छे अनुसारको दक्षिणा तथा उपहार दिन्छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मीनेट रहेको जनाएको छ । तर, बिहानदेखि रातिसम्म टीका लगाउन कुनै बाधा नपर्ने समितिको भनाई छ ।

टिप्पणीहरू