काँग्रेसमा शेखर समूहको विद्रोहले कोशीमा किचलो

काँग्रेसमा शेखर समूहको विद्रोहले कोशीमा किचलो
सुन्नुहोस्

नेपाली काँग्रेसको आन्तरकलहका कारण कोशी प्रदेशको राजनीति थप जटिलतातर्फ मोडिएको छ । सरकार गठन प्रक्रियालाई लिएर दुई पटकसम्म अदालत पुगेको यहाँको राजनीतिक विवाद काँग्रेसको शेखर कोइराला समूहले गठबन्धनविरुद्ध विद्रोह गरेपछि पुनः अप्ठेरोमा परेको बताइन्छ । 

काँग्रेसका दुई गुटको विवादका कारण सरकार गठनको निम्ति प्रदेश प्रमुखले दिएको समयसीमाको अघिल्लो मुख्यमन्त्रीमा दुई जनाको दाबी परेको छ । काँग्रेस–माओवादी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र एमालेको समर्थन पाएको काँग्रेसको विद्रोही समूहका केदार कार्कीले केही घण्टाको अन्तरालमा दाबेदारी पेश गरेका हुन् । 

काँग्रेसको संस्थागत निर्णयका आधारमा ४७ सांसदको साथ रहेको निवेदनसहित आङ्बोले दाबी पेस गर्दा कार्कीले पनि एमालेका ३९ र काँग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् । आङ्बोले पेश गरेको दाबीमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा संसदीय दलको तर्फबाट हस्ताक्षर गरिएको छ । 

आज बिहानमात्रै काँग्रेसले संस्थागत रुपमा माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय गरेको थियो । तर, कोइराला पक्ष पार्टी निर्णयविरुद्ध खडा भएपछि सरकार गठन प्रक्रिया पेचिलो बनेको छ । 

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा उपसभामुखसहित एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका छ, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । दुवै पक्षले ४७–४७ सांसदको हस्ताक्षर गरेर मुख्यमन्त्रीमा दावी प्रस्तुत गर्दा सरकार गठनका लागि निर्णायक संख्या लिएर बसेको राप्रपा भने हालसम्म तटस्थ छ । 

यसअघि संविधानको धारा १६८, उपधारा २ र ३ बमोजिम गठन भएका सरकार विश्वासको मत लिन नसकी ढलेपछि उपधारा ५ अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले भोलि साँझ ५ बजेसम्मको समय दिएका छन् । त्यसअघि आजै दोहोरो हस्ताक्षरसहित दुई पक्षबाट अलग–अलग दाबी परेपछि कोशीमा अर्को संवैधानिक संकट आइलागेको छ ।

टिप्पणीहरू