इजरायलमा रहेका नेपालीको अवस्थाप्रति मानव अधिकार आयोगको चासो

इजरायलमा रहेका नेपालीको अवस्थाप्रति मानव अधिकार आयोगको चासो

इजरायलमा विकसित पछिल्लो घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले चासो राखेको छ । प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणपछि आतंकित बनेको इजरायलमा रहेका नेपालीको अवस्थाप्रति आयोगले चिन्ता व्यक्त गरेको हो । 

आयोगले आज विज्ञप्ति जारी गर्दै हमास समूहको हमलामा परी ज्यान गुमाएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठेरोमा परेकाहरुको उद्दार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । 

त्यस्तै, पीडित एवं तिनका परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि प्रभावकारी पहल गर्न आयोगले सरकारसँग माग गरेको छ । इजरायलमा समस्यामा परेका नेपालीको उद्दारका लागि भइरहेको कार्यको यथार्थ जानकारी उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएको आयोगले जनाएको छ । 

‘इजरायलमा भएको हमलाको कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक  रहेको, हमलामा परी १० जना नेपालीहरुको दुःखद निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको छ । यस विषयमा नेपाल सरकारबाट हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारबाट भएको कार्यको यथार्थ जानकारी उपलब्ध गराइदिन आज नेपाल सरकारलाई पत्राचार गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
 

टिप्पणीहरू