सरकारबाट मन्त्री फर्काउन किन भयो सरगर्मी ?

सरकारबाट मन्त्री फर्काउन किन भयो सरगर्मी ?

प्रचण्ड नेतृत्वको वर्तमान सरकार रहनु वा आलोपालोमा फेरि शेरबहादुरले नै सरकार चलाउनुभन्दा एमालेसँग सहकार्यको हात फैलाउनुलाई कांग्रेसका एकथरि नेताले ‘उचित’ मान्न थालेका छन् । 

महामन्त्री गगन थापाले ‘आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर सरकारमा समाजवादी मोर्चालाई छाडेर जाऔं’ भन्नुको अर्थ विस्तारै ‘एमालेसँग मिलौं’ भन्न खोजेको रूपमा कांग्रेसका नेताहरूले अर्थ लगाएका छन् । यसअघि सरकार, पार्टीका विभागसहितका विभिन्न भागबण्डामा गगन पक्षलाई शून्य पारिएपछि उनी आक्रोशित भएका हुन् । ‘महामन्त्री समूह’ भनी चिनिने गगन र विश्वप्रकाश शर्माहरूले संघीय मन्त्रीका रूपमा प्रदीप पौडेल, प्रदेश मन्त्रीका रूपमा श्रीराम लामिछानेहरूको नाम सिफारिस गरे । तर, सभापति देउवाले ती कुरा सुनेको नसुन्यै गरेपछि गगनले भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नाम दावी गरेका छन् । यही कुराले शेखर कोइराला समूहसँग पनि उनलाई टाढा पारेको बताइन्छ । देउवाले पहिला गगनलाई बोकेर शेखर समूहलाई टाढा पार्नुभयो । अहिले शेखरहरूसँग भित्री सहकार्य गर्दै गगनहरूको बेवास्ता गरिरहनुभएको कांग्रेस नेताहरूको भनाइ छ ।

गगनहरूद्वारा प्रदेशमा मन्त्री बनाउन सिफारिस गरिएका श्रीराम काठमाडौंस्थित गगनकै निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य हुन् । र, संघीय मन्त्रीका रूपमा क्षेत्र नं. ५ बाट जितेका प्रदीप पौडेलको नाम अगाडि सारिएको थियो । तर, ती नाममाथि न देउवा, न शेखर दुबैबाट वास्ता भएन । पहिला शेखरले गगनलाई दुश्मन ठान्दा नाम दिइएन । तर, शेखर आफू सिंगापुर जाने बेलामा दिएका नाममध्ये धनराज गुरुङहरू फर्किसक्दा मन्त्री भएका थिए । 

अब अप्ठेरो स्वयं धनराजहरूलाई पनि छ । कानुन मन्त्रीका रूपमा ज्यानमारा छुटाउन साक्षी बसेको भनी पार्टीभित्र रडाको शुरु भइसकेको छ । उपप्राध्यापक प्रेम चलाउनेमाथि खुकुरी हान्नेलाई सरकारले रिहा गरेको छ । खुकुरी हानेर मान्छे मारेका अभियुक्तहरू धमाधम छुटिरहेका मात्र हैनन्, तिनको स्वागत गर्न ठूलै राजनेता रिहा भएझैं नेताहरू नै फूलमालासहित जेल अगाडि उभिन थालेका छन् । यी तमाम उपद्रवलाई समयमै व्यवस्थापन नगर्दा देउवा विस्तारै विस्तारै अप्ठेरोमा पर्न थाल्नुभएको बताइन्छ । 

यसै पनि दलीय व्यवस्थाप्रति वितृष्णा बढ्दो छ । राप्रपाकै तहबाट परिवर्तन हुँदैन भन्नेमा सबै विश्वस्त छन् । तर, राजनीतिक प्रणालीविरुद्धको वितृष्णा कसरी प्रकट हुन्छ भन्ने कुरा हेर्न प्रतीक्षा नै गर्नुपर्ने भएको छ । गाई, गोरु काटिँदा कोही पक्राउ परेनन्, कसैमाथि कारवाही पनि भएन । त्यसका कारणले कांग्रेसको एउटा धार नै नेतृत्वसँग चिढिएको छ । तीबाहेक सबै पार्टीभित्रका हिन्दूवादी मूल नेतृत्वप्रति असन्तुष्ट छन् । ०४६ र ०६२÷६३ अघि राजतन्त्र यसरी नै अलोकप्रिय भएको थियो । अहिले त्यस्तो अलोकप्रियता दल र त्यसका नेताले हासिल गरिरहेका छन् । लाभको पदमा रहने, देउवा, प्रचण्ड, माधवले लाभ बाँडेर आफ्नो सञ्जाल विस्तार गर्ने । सबै पार्टीभित्रको परिवर्तनकारी शक्ति कमजोर हुँदै जाने स्थिति छ । लाभको पदमा जानेहरूले यो प्रणालीको पक्षमा सडकमा आउने सम्भावना हुँदैन ।

आफैं वैकल्पिक प्रधानमन्त्रीका रूपमा गगन थापा अगाडि आउँदाआउँदै पछाडि हटेका छन् । उनले समाजवादी मोर्चालाई सरकार छाडिदिऊँ भनेको आफ्नो मिशन कामलाग्दो भएन भन्ने निश्कर्ष हो । प्रश्न उठ्छ– देउवाले गगनलाई प्रधानमन्त्री बनाउन ठाउँ दिनुहोला र ! कोइरालाहरूले आफू भूँइमा बसेर गगनका लागि ठाउँ छाड्दै ताली पिट्लान् ?

भनिन्छ, प्रचण्ड चीनबाट फर्किएपछि एमसिसी र बिआरआईको पासोमा पर्नुहुन्छ र त्यसैमा टेकेर केही गर्न सकिन्छ भन्ने राजावादीहरूको अनुमान असफल भएको छ । परिवर्तित परिस्थितिलाई कसरी आफ्नो अनुकूल बनाउने भन्नेमा ती अलमलमा छन् । उनीहरू बाठा हुन्थे, घटनाक्रम बुझ्थे भने धरानमा गोरु काटिँदा त्यहीँ आन्दोलन गर्नुपथ्र्यो । तर, त्यसो गर्न सकेनन् भनिँदैछ ।
 

टिप्पणीहरू