कमरेडहरूले यतिसम्म गरेछन् कित्ताकाट

कमरेडहरूले यतिसम्म गरेछन् कित्ताकाट

न आफूसँग, न आफ्नासँग– पार्टीभित्र कसैले प्रतिस्पर्धाका नाममा आँखा नलगाओस् भन्ने चाहनुहुन्थ्यो, केपी ओली । तर, पछिल्लो समय विभिन्न प्रदेश अधिवेशनका क्रममा त्यस्तो भएन ।

एमालेमा विकास भइरहेको नयाँ शक्ति संघर्षभित्र ओलीले आफ्नो स्वीकार्यता कायम राख्न सक्नुभएन । फलतः प्रदेश–प्रदेशमा प्यानलसहित उहाँका आधिकारिक उम्मेदवारविरुद्ध अलग्गै मोर्चा बन्न थाले । सौराहामै भीम रावलको चुनौतीका कारण आफैं निर्विरोध बन्न नपाउनुभएका ओलीका उम्मेदवारले भइसकेका अधिवेशनमध्ये कहीँ पनि सर्वसम्मत पदाधिकारी निर्वाचित नहुँदा पराजय व्यहोर्नुपरेको छ । लुम्बिनी र कर्णालीमा उहाँ पक्षीय अध्यक्षले जितेनन् । बागमती र कोशीमा अध्यक्ष त उहाँकैले जिते, तर अन्यले पदाधिकारीमा हारेका छन् । बागमतीमा ओलीले तयार पार्नुभएका कैलाश ढुंगेलविरुद्ध गोकुल बाँस्कोटाहरूले मकवानपुरबाट कृष्णप्रसाद दाहाललाई उठाए । २ सय ६७ भोटले जीतहार हुँदा ओलीको निर्देशनविपरित ४ सय २९ जनाले दाहाललाई मतदान गरेका छन् ।

जबकि, एकमुष्ट परिणाम हात पार्न उम्मेदवारलाई खाली कागजमा सही गराउने, गोप्य सूची बाँड्ने, एउटाले भोट हाल्न जाँदा निगरानीका लागि अर्कोलाई सँगै पठाउनेजस्ता रणनीति अपनाइँदा पनि उहाँको प्यानलका सबै पदाधिकारी आउन सकेनन् । महिला सचिव जितेकी भक्तकुमारी लामा पनि गोकुल पक्षकी थिइन् । अर्कातिर, कैलाश ढुंगेलको पक्षमा आनन्द पोखरेलहरूले च्यासलस्थित प्रदेश कार्यालय नै दुरूपयोग गरेको भन्दै चन्द्रागिरीका पूर्ववडाध्यक्ष सन्तोष खड्काहरूले तोडफोड गरे । उम्मेदवारहरूलाई खालि कागजमा सही गराइएपछि काठमाडौंबाट सदस्य पदमा उम्मेदवारी दिएका थुप्रैले सर्वसम्मतका नाममा अवसर गुमाउन पुगे । काठमाडौं– ४ (क) बाट प्रदेश सांसद रहेका जयराम थापाले सदस्य पदमा उम्मेदवारी दिएका थिए । तर, बूढानीलकण्ठका मेयर मीठाराम अधिकारीलाई सर्वसम्मत बनाउन उम्मेदवारी उनको जानकारीबिनै फिर्ता भयो । ४ नं. क्षेत्रबाटै संगम गहतराजले दिएको सदस्य पदको उम्मेदवारी एकाएक गायव भई उनको ठाउँमा मोहन बराइलीले जितेको घोषणा गरियो । 

बागमती र कोशीका हकमा सीधासिधी केपी ओली र विद्या भण्डारीबीचको चुनाव भएको मानिन्छ । तर, अन्य प्रदेशका हकमा ओलीको उत्तराधिकारी हुने संघर्षले प्यानल–प्यानल बनाएर चुनाव भइरहेको एमालेको भनाइ छ । बागमतीमा गोकुल बाँस्कोटा आफैं उठ्न तयार थिए । तर, मापदण्डले नदिएपछि कृष्ण दाहाललाई उठाए । बेलैमा चुनाव गराइएको भए दाहालको पक्षमा प्रतिनिधि खुलेका थिए । ती प्रतिनिधिलाई मत्थर पार्न महासचिव शंकर पोखरेलले १३ वटै जिल्लाका अध्यक्षको गोप्य बैठक बोलाई कैलाशलाई जिताउने गरी काम गरेका थिए । कोशीमा माधव नेपालको साथ छाडेर एमालेमै बसेका घनश्याम खतिवडाले ओलीपक्षीय उम्मेदवार भई अध्यक्षमा त जिते । रमाइलो के भयो भने, अन्तिम अवस्थामा माधव नेपालको साथ छोड्ने नेताहरूचाहिँ घनश्यामको पक्षमा थिएनन् । विद्यापक्षीय उम्मेदवार भनिने विनोद ढुंगेलतिर पूर्वमाधव समूहका भीम आचार्य, यज्ञराज सुनुवारहरू खुलेर लागे । उक्त लडाइँ विद्या र ओलीकै बीचको थियो भन्ने कुरालाई भोजपुर, मोरङ र सुनसरीका प्रतिनिधिहरूको व्यवहारले देखाउँथ्यो । शेरधन राई विनोदको पक्षमा थिए भने सुनसरी र मोरङका धेरैजसो त्यतै लागे । तर, योगेश भट्टराई, बसन्त नेम्वाङहरू घनश्यामको पक्षमा देखिए । बरु, मोरङका अध्यक्ष ऋषिराम पोखरेल विनोदको पक्षमा त्यति खुलेनन् । 

उता, कर्णाली प्रदेशको अध्यक्षमा ओलीद्वारा खडा गरिएका मीनबहादुर शाहीले पराजय भोग्दा अन्तिममा महासचिव शंकर पोखरेलका उम्मेदवार गुलाबजंग शाहले जिते । उम्मेदवार शंकरको भए पनि ओलीसँग ‘स्थायी संघर्ष’ गर्ने नेताका रूपमा चिनिने यामलाल कँडेलको साथ पाउँदा गुलाबले फराकिलो मतान्तर पाएको चर्चा छ । पार्टी काममा भन्दा बढी एनजिओका काममा सक्रिय मीनबहादुरसँग सांगठानिक मत कम, खानपिनबाट प्राप्त मतमात्रै हुँदा त्यो अवस्था आएको बताइन्छ । अर्थात्, जिल्ला–जिल्लाका नेताहरूले मीनबहादुरलाई स्वीकारेनन् । ओलीको आधिकारिक उम्मेदवार मीनबहादुर भएको अवस्थामा गुलाबजंग उठ्ने भनेपछि शंकरले दबाब दिन सकेनन् । गुलाबको पक्षमा प्रदेशका १९ केन्द्रीय सदस्य थिए । यामलाल कँडेल, भैरवसुन्दर श्रेष्ठ (जाजरकोट), लक्ष्मी पोखरेल (दैलेख), मोहन बानियाँ (मुगु) सहित हुम्लाका दल रावल, दल फडेरा र छक्क लामा उनीतिर लागे । जुम्लाका रतननाथ योगी मीनबहादुरतिर थिए, तर डोल्पाकी बदमी बोहोरा गुलावतिर भइन् । कालिकोटका नेशनल शाही मीनबहादुरतिर हुँदा इन्दिरा सञ्ज्याल गुलाबतिरै लागिन् । जाजरकोटका निरज आचार्य, दैलेखका विष्णु रिजाल मीनबहादुरतिर थिए । त्यस्तै, राजबहादुर बूढा, धर्मराज रेग्मी, सूर्यकुमारी श्रेष्ठ पनि गुलाबतिर भए । जाजरकोटका पोलिट्व्युरो सदस्य डम्बर सिंह र भेरीका मेयर सीपी घर्ती पनि गुलाबसँगै थिए । अधिकांश जिल्ला अध्यक्षले उनैलाई साथ दिए । सुर्खेतका मोहनमाया ढकाल, ठम्मर विष्टहरू गुलाबतिरै भए । नवराज रावतमात्रै मीनबहादुरतिर लागे । जिल्ला अध्यक्षमा रुकुमका नन्दलाल देवकोटा, सल्यानका गोविन्द पुन, जाजरकोटका खेमबहादुर शाही, दैलेखका रवीन्द्र शर्मा, डोल्पाका शेरबहादुर बूढासहित हुम्ला र मुगु पनि त्यतै लागे । 

त्यसो त कर्णाली प्रदेशको नेतृत्वलाई लिएर ओलीले कुनै गम्भीर कसरत भने गर्नुभएन । उहाँ सोही कार्यक्रमका लागि सुर्खेत जानुहुँदा सीधै नगई नेपालगञ्ज ओर्लिनुभयो । कार्यक्रम सकिएपछि पनि सुर्खेतबाट नेपालगञ्जमा बास बस्न फर्किनुभएको थियो । तर, शंकर भने सुर्खेतमै बसेर गुलाबको पक्षमा माहोल बनाइरहेका थिए । पार्टीका प्रदेश इञ्चार्ज लेखराज भट्टसँग गुलाबको पक्षमा भूमिका खेल्न शंकरले आग्रह गरेका थिए । ओलीले व्यक्तिगत रूपमा मीनबहादुरको पक्षमा दल रावलसहितका केन्द्रीय सदस्यलाई फोन गर्नुभयो। तर धर्मराज रेग्मी, छक्क लामासहित पूर्वमाओवादीहरू यामलालको पक्षमा हुँदा ओलीको प्रयास सफल भएन । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुरबारे शुरुमा ओलीकै धारणा पनि राम्रो थिएन ।

यसरी हेर्दा लुम्बिनी, कर्णालीमा विष्णु र शंकर, गण्डकीमा खगराज र पृथ्वीसुब्बा गुरुङबीचको टकरावले चुनाव भएको देखिन्छ । अब पालो छ, उपत्यकास्थित विशेष प्रदेशमा । त्यहाँ शंकर र ईश्वरबीच टकराव हुने संकेत छ । शंकर पत्नी सुजिता शाक्य उक्त प्रदेशकी इञ्चार्ज हुन् । अध्यक्षका दावेदार समीर नेपालचाहिँ ईश्वर निकटस्थ छन् । 
 

टिप्पणीहरू