मन्दिरमा समेत राजनीतिको मारामार

मन्दिरमा समेत राजनीतिको मारामार

इलाममा सबैभन्दा धेरै आन्तरिक पर्यटक आउने धार्मिक पर्यटकीय स्थल पाथीभरामा यतिखेर भेटी अपचलनको विवाद चुलिएको छ । रोङ गाउँपालिका–३ मा अवस्थित पाथीभरामा मेची राजमार्गको सहजताका कारण पनि पूर्वका हजारौं मानिस आउने गर्छन् । 

पाथीभरा मन्दिर संरक्षणका लागि बनेको समितिले आर्थिक पारदर्शिता कायम गर्न नसकेको भन्दै २०७९ मा निर्वाचित गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले नयाँ समिति मात्र बनाएनन् पुरानो समितिमाथि छानबिन गर्न जिल्ला प्रशासनलाई पत्रसमेत लेखे । प्रशासनले भने छानबिन होइन, नयाँ र पुरानो समितिबीचको विवाद समाधान गर्न गाउँपालिका अध्यक्ष र समितिलाई छलफलका लागि बोलायो ।

तर, पालिका अध्यक्ष स्याङ्बोले आफ्नो अधिकार क्षेत्र नबुझी पाथीभरा मन्दिरमा हिनामिना भएको सप्रमाण उपस्थित हुन पत्राचार गरेको भन्दै आफ्नो दायरा नबिर्सन प्रजिअलाई चेतावनी दिए । प्रशासनमा उपस्थित भएनन् । चर्को दबावपछि जेठ २३ गते सहायक प्रजिअ ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पालिकाका अधिकृत सम्मिलित छानबिन समिति बन्यो । सो समितिले पुरानो समितिले ८८ लाखभन्दा बढी हिनामिना गरेको प्रतिवेदन तयार गरेर भदौ ३१ गते बुझायो । प्रशासनप्रति असन्तुष्ट अध्यक्ष स्याङ्बोले प्रशासनले उक्त प्रतिवेदन सार्वजनिक नगरेको भन्दै एक पत्रकार सम्मेलन गरे । प्रतिवेदनमा ५ वर्षमा ३ करोड १४ लाख मात्र आम्दानी देखिएको, त्यसमा पनि ८८ लाख ८२ हजार २४ रूपैयाँको खर्च र मौज्दात नदेखिएको भन्दै भेटीको रकम हिनामिना भएको आरोप छ ।

यता पालिकाले भने आठ महिनामा एक करोड ६ लाखभन्दा बढी आम्दानी गरेको छ । यसले गर्दा पनि पाथीभरा मन्दिरमा चढाइएको भेटी, सुन चाँदी अनियमिता भएको पालिका अध्यक्ष स्याङ्बो बताउँछन् । पालिकाले गत फागुनदेखि पाथीभरा व्यवस्थापन समिति गठन गरेर आम्दानी र मन्दिर व्यवस्थापनको काम गरिरहेको छ । समितिका अध्यक्ष दिलिप राईका अनुसार यो अवधिमा ९७ लाख ५६ हजार रूपैयाँ नगद र आठ लाख ५४ हजार रूपैयाँको जिन्सी सामान अनुमानित आम्दानी भएको छ । नगद रसिदबाट १६ लाख ८९ हजार, दानपेटिकाबाट तीन लाख ९२ हजार तीन सय ७७, लिलाम बिक्रीबाट ११ हजार दुई सय २० र सिंहदेवी शिलाबाट चार लाख १० हजार रूपैयाँ आम्दानी भएको समितिले जनाएको छ । यता प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले भने आफू व्यस्त भएकाले प्रतिवेदन सार्वजनिक नगरेको बताएका छन् । 

रोङ गाउँपालकिा पूर्व अध्यक्ष तथा वर्तमान प्रदेश सांसद समशेर राई र वर्तमान अध्यक्ष मणिकुमारबीचको आन्तरिक द्वन्द्वका कारण पनि पाथीभराको विवाद उत्कर्षमा पुगेको बताइन्छ । दुवै जना नेपाली कांग्रेसकै भए पनि फरक खेमाका भएकाले नयाँ र पुरानो समितिको पक्षमा लाग्दा विवाद बढ्दै गएको स्रोतको दाबी छ । 
 

टिप्पणीहरू