कहिले सैन्य विद्रोहको बात,कहिले कर्णेललाई ठाडो अवकाश

जंगी अड्डाले महासेनानी महेन्द्रजंग शाहलाई मौखिक ताकेताका बावजुद हाजिर हुन नगएपछि म्यादै नथपी अवकाशको पत्र थमाएको छ । आगामी २८ गते घर जान लागेका शाहलाई त्यसअघि नै खोरमा थुन्ने तयारी गरिएको सैन्य स्रोतको दाबीसहित जनआस्थाले समाचार प्रकाशित गरेपछि अवकाशको मिति तोकेर अस्ति पत्र दिइएको छ ।
कुलदीप तिमिल्सिनालाई यसअघि नै पत्र बुझाइएको थियो । जंगी अड्डाबाट पत्र प्राप्त भएपछि अदालत जाने नजानेबारे शाहले सल्लाह गरेको दाबी छ । यसअघिका विश्वासिला र आफूले सहयोग गरेका प्रधान सेनापति तथा केही उच्च अधिकारीसँग उनले छलफल गरेक हुन् ।
योसँगै जंगी अड्डाबाट यसअघि पेलानमा परेका सैनिक अधिकृतहरुको भेला गरेर अदालतमा कानुनी रुपमा चित्त दुखाईको निवेदन दिने उद्देश्यले एक भेला गर्न खोजिएको स्रोतको दाबी छ । तर सबै उपस्थित हुन्छन् कि हुँदैनन् भन्नेमा जोड घटाउ भइरहेको बुझिएको छ । सेवाबाट अवकाश भएपनि छ महिनासम्म सैनिक ऐन आकर्षित हुने भएकाले सामान्यतयाः अवकाश भइसकेका सैनिकहरु सार्वजनिक रुपमा आलोचनामा उत्रने गरेका छैनन् ।
शाहसँगै उक्त अभियानमा लागेको भनिएका एक जनाले बताए, ‘जंगी अड्डासँग जोडिएका आफ्ना मुद्दा बेलैमा अदालतबाट छिनोफानो नभएकाले आफूहरुले थप तनाव भोग्नुपर्यो भन्ने चित्त दुःखाई उनीहरुमा छ ।’ पहिले प्रदिपप्रताप बम मल्ल,प्रेमप्रकाश थापामगर र प्रेम शाहीहरुले पनि अहिले शाहले झैँ दुःख भोगेका थिए । उनीहरुसमेतको उपस्थितिमा तत्कालका लागि महेन्द्र शाहले उक्त मुद्दा अघि सारे पनि आगामी दिनमा अरुले त्यस्तो अवस्था भोग्न नपरोस् भन्ने उनीहरुको मनशाय देखिन्छ । ‘एउटा ग्रुप अदालत जाने तयारीमा छ । सबैलाई सहभागी गराउने प्रयास पनि भइरहेको छ,’ महेन्द्रहरुको आगामी रणनीतिबारे प्रष्ट पार्दै स्रोतले दाबी गरेको छ ।
अदालतमा उनीहरु सैनिक सेवामा रहँदा भ्रष्टाचार नगरेका,यौन उत्पीडन नगरेकाले कारबाही भोगेका तर,ती कार्यमा लिप्तहरु अहिले पनि सैन्य सेवामा कार्यरत रहेको भन्ने आशयले प्रस्तुत हुने बताइन्छ । अहिले कार्यरतमध्ये केही ठूला अधिकृतहरु भ्रष्टाचार र गम्भीर अपराधमा जोडिएको उनीहरुको तर्क छ । ‘केही यौन उत्पीडनमा समेत जोडिएका छन्’ स्रोतको आरोप छ ।
उदाहरण दिँदै भनिएको छ, ‘डाँका मुद्दामा फरार राजकुमार रञ्जितकार, रत्नप्रकाश थापा ज्वलन्त हुन् । अहिले त्यस्ता मान्छेको सेनाभित्र राईंदाईं छ । जबकि महेन्द्र शाह संकटकाल लगाउँदा बनाइएको नियमको मस्यौदाकारमध्येका एक हुन् । अहिले उनीमाथि अनेक षड्यन्त्र गरिएको छ ।’
यसअघि जंगी अड्डालाई विपक्षी बनाएर अदालत गएका अधिकांश मुद्दामा सेनाको पक्षमा फैसला भएको बताइन्छ । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्रभन्दा अघि र गौरव समशेरपछिको समयमा सेनाविरुद्ध परेका मुद्दामा जंगी अड्डाको तर्फबाट शाह र कुलदीपहरुले प्रतिरक्षा गर्दा जित हात परेको उनीहरुको तर्क छ । तुलनात्मक रुपमा त्यसपछि जंगी अड्डालाई हार प्राप्त हुन थालेको अर्थ लगाइएको छ ।
विगतमा विभिन्न अवसरबाट वञ्चित, पेलानमा परेकाहरुले एउटा ग्रुप बनाएर वर्तमान र भूतपूर्व प्रधानसेनापतिलाई जानकारी गराउने हिसाबले सार्वजनिक बहस गर्ने तयारी गरेको भनिएको छ । उनीहरुले सेनाको पुनर्संरचना गर्नुपर्ने भन्ने बहसका लागि परामर्श गरेको बताए ।
पूर्व प्रधानसेनापति पूर्णचन्द्रले कमाण्ड अवधारणा बनाए पनि हालका शर्माले भत्काएकोमा पूर्णचन्द्रको समेत चित्त दुःखाई रहेको शाह निकटहरुको बुझाई छ । अरु चुपचाप देखिए पनि शाहले आफ्नो बारेमा विस्तृत रुपमा बताउने भन्दै आएका छन् ।
यसअघि जनआस्थाले स्रोतलाई उल्लेख गर्दै लेखेको थियो, ‘महेन्द्रलाई थुन्न लागेको आशंका छ । मौखिक रुपमा दुई पटक बोलाइएको थियो । तर, उनले मौखिक रुपमा बोलाउँदैमा बयानको लागि आउँदिन भनेपछि सेनाले भोलि वा पर्सिसम्म लिखित रुपमा बोलाउने सम्भावना छ ।’ जबकि पहिलेका जर्नेल प्रेम शाही काण्डमा शाहलाई सैनिक विद्रोहमा संलग्न भएको आरोप लगाएर थन्काइएको थियो ।
उनीविरुद्ध योजनाबद्ध समाचार छापिएको र एउटा दैनिकमा अमित प्याकुरेलहरुका नामबाट शाहको जताततै घर र जग्गासँगै धेरै वटी श्रीमती भएको समाचार छपाइएपछि विषयले चर्चा पाएको हो । त्यही समाचार उद्धृत गर्दै प्राड विवाक (कानुन विभाग) का अधिकृतहरुले अख्तियारमा उजुर हाले । अख्तियारको सोही पत्रलाई आधार मान्दै प्राडले उक्त विषयमा छानबिन गर्ने र प्रेम शाहीलाईझैँ आर्थिक विषयमा तान्ने र खोरमा हाल्ने योजना बनाएको बताइन्छ ।
टिप्पणीहरू