चीनमा प्रधानमन्त्रीका कामहरूको चिरफार

चीनमा प्रधानमन्त्रीका कामहरूको चिरफार
सुन्नुहोस्

यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमै छन् । हाङचौमा आयोजित १९औँ एशियाली खेलकुद उद्घाटन समारोहमा सहभागी भएर बेइजिङ पुगी समकक्षी लि छ्याङसँग दुईपक्षीय वार्ता गरेका उनको भ्रमणको औपचारिक कार्यक्रम यति मात्र हो । यसबाहेक उनी अहिले तीर्थयात्रामा छन् । बडो फुर्सद र मस्त पारामा छिमेकी देशका प्रधानमन्त्रीले यसरी बिदा मनाइरहँदा चिनियाँहरू भने दंग परेका छन् । 

अमेरिकाबाट सोझै चच्याङ प्रान्तको सदरमुकाममा ओर्लिएका प्रचण्डले सोही दिन चिनियाँ राष्ट्रपति सि चिनफिङसँग भेट गरेका थिए । ८ गते सोमबार चिनियाँ जनमुक्ति सेनाबाट सलामी ग्रहण गर्दै आफ्नो भ्रमणलाई राजकीय बनाए । स्मरण रहोस्, उनले प्रधानमन्त्रीका रूपमा तेस्रोपटक चीन आउँदा मात्र यसरी र अझ २–२ ठाउँमा ‘गार्ड अफ अनर’ ग्रहण गर्न पाएका हुन् । सन् २००८ मा पहिलोपटक प्रधानमन्त्री भएर २९ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको समापन समारोहमा भाग लिई फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो यो भ्रमण अनौपचारिक र अराजनीतिक रहेको भनी घोषणा गरेपछि चीन चिढिएको थियो । 
दोस्रोपटक प्रधानमन्त्री हुँदा सन् २०१७ को मार्चमा दक्षिणी टापु हाइनानको बोआओमा हरेक वर्ष आयोजना हुने फोरममा बोलाइएको थियो । उक्त समयमा उनलाई बेइजिङमा स्वागत गर्ने कुरै थिएन । तत्कालीन राजदूत लीलामणि पौड्याललाई पनि प्रचण्डलाई बेइजिङ टेकाउन ठूलै पापड पेल्नुपरेको थियो । उक्त समयमा बेइजिङ त गए तर उक्त भ्रमण औपचारिक हुन सकेन । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई पनि बोआओ फोरमबाट बेइजिङ लगिएको थिएन । यसपटक आउँदाको मुख्य उपलब्धि नै राजकीय बन्नु मात्र रह्यो । उनले आफैँले घोषणा गरेको कतिपय महत्वपूर्ण मुद्दामा प्रवेश गर्नै चाहेनन् । 

प्रशारण लाइन कि एक धर्को लगौंटी

भ्रमणको तयारीका क्रममा प्रचण्डले नेपाली बिजुली चीनमा बेच्नका लागि क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माणमा सम्झौता गर्ने भनेर भाषण नै गरेका थिए । टिमुरे केरुङ २४० केभी लाइनको ट्रान्समिसन लाइन चीनले निर्माण गरिदिने विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको घोषणा थियो । दुई हप्ताअगाडि मात्र गरिएको घोषणाअनुसार सम्झौता गर्नका लागि चीन पनि तयारी अवस्थामा थियो । यही एउटा विषयमा सम्झौता भएको भए प्रचण्डको समग्र चीन भ्रमण औसतदेखि केही माथि रहन सक्थ्यो । निर्माणमा लगानी गर्ने भनेर चीनले हरियो झण्डासमेत देखाइसकेको थियो ।
प्रचण्डले भारत भ्रमणताका सबै उतैको एजेण्डामा ल्याप्चे लगाएर देशलाई घात गरेको भनी चर्को आलोचना भइरहेका बेला टिमुरे केरुङ ट्रान्समिसन लाइन निर्माणको सम्झौता चीनसँग गरेर केही हदसम्म जोगिएका छन् । 

मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा ‘जिलोङ÷केरुङ–रसुवागढी–चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइनको निर्माण चाँडो शुरु गरिने’ भन्नेसम्म उल्लेख छ । पाँच वर्षअघि नै यससम्बन्धी अध्ययन शुरु भए पनि थप प्रगति केही छैन । संयुक्त विज्ञप्तिमा यो प्रसारण लाइन निर्माणमा लगानी कसले गर्ने उल्लेख नभए पनि चीनले अनुदानमा बनाइदिने प्रतिनिधिमण्डलका एक सहभागीले जनआस्थालाई बताए । 

संयुक्त विज्ञप्ति सामान्यतः दुई प्रधानमन्त्रीको भेटवार्तापछि जारी गर्ने चलन छ । यसपटक एक दिन ढिला मात्र जारी हुन सक्यो त्यो पनि प्रचण्डले बेइजिङ छोड्नै लाग्दा । प्रधानमन्त्रीको टोली मंगलबार बिहान बेइजिङबाट छोङछिङ प्रस्थान गरेको छ । संयुक्त विज्ञप्ति जारी गर्न ढिला भएको विषयमा भ्रमण टोलीका एक सदस्य भन्छन्, ‘बीचमा केही असहमति पैदा भएको थियो ।’ 

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बिआरआईमा समावेश गर्न प्रस्ताव गरेको थियो । तर प्रचण्डले उक्त प्रस्तावलाई स्वीकार गरेनन् । नेपालमा बिआरआईका कुनै पनि परियोजना अगाडि नबढेको कारण चीनले बारम्बार असन्तुष्टि जनाउँदै आएको छ । 

प्रधानमन्त्रीले पोखरा विमानस्थल निर्माणको ऋणलाई मिनाह गरिदिन अथवा अनुदानमा परिणत गरिदिन अनुरोध गरे । उनको अनुरोधलाई चीनले सुन्यो मात्र । निर्माण सम्पन्न भएको एक वर्षमै ऋण मिनाहा गर्छ अथवा अनुदानमा परिणत गरिहाल्छ भन्ने कुरा आफैँमा पत्यारलाग्दो छैन । एकातिर दिइएका ठूला जलविद्युत् आयोजना चिनियाँ कम्पनीबाट खोसेर भारतलाई दिने काम भइरहेको छ भने अर्कातिर चिनियाँ ऋणमा बनेको विमानस्थललाई राम्ररी सञ्चालनमै नआइकन ऋण मिनाहा गरिदिनुहोस् भन्नु गाउँघरमा छोराको बिहेका लागि लिएको ऋण भतेर खाएको भोलिपल्टै मिनाहा गरिदिनुहोस् मालिक भन्नुजस्तै हो भन्नेहरू पनि भ्रमण दलमै छन् । 

चीनले बनाइ दिन्छु भनेर तयारी गरेको टिमुरे केरुङ ट्रान्समिसन लाइनको परिपक्व सम्झौता रोक्नका लागि नै अन्तिम समयमा ऊर्जामन्त्री र विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई भ्रमण टोलीबाट आउट गरिएको केही केहीको बुझाइ छ । प्रचण्ड भ्रमणका बाँकी सहमति राजदूत अथवा सचिव स्तरको भ्रमणले गर्ने भन्दा माथिका छैनन् । जतिसुकै तामझामले प्रसार गरे पनि संयुक्त विज्ञप्तिमा भएका बुँदालाई केलाउँदा प्रचण्डको चीन भ्रमण हात्ती आयो हात्ती आयो फुस्साजस्तो भएको छ । 

उताको चासोः यताको बेवास्ता

०६३ सालमा शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डलाई चीनले निकै महत्व दिँदै आएको छ । जसरी स्वदेशमा प्रचण्डको लोकप्रियताको पारो छाँगो खसेजस्तै खसिरहेको छ त्यसैगरी चीनप्रतिको विश्वास पनि प्रचण्डले गुमाउँदै गएको बुझिन्छ । 

प्रचण्डको समर्थनमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले हुम्लामा चीनले सीमा मिचेको भनेर छानबिन समिति बनाउन खोज्दा प्रचण्ड त्यसको साक्षी बन्न पुगे । उनले देउवाको उक्त कदमलाई रोक्न सक्थे तर चासो देखाएनन् । त्यसभन्दा अगाडि नै एक टेलिभिजन अन्तर्वार्तामा भारतलाई कम्फर्टेबल सरकार बन्ने भनेर चुकिसकेका थिए । 

गत वर्ष सम्पन्न निर्वाचनपछि बोआओ फोरममा चीनले निमन्त्रणा गरेको थियो । तर, उनी भारतको निम्तो पर्खिएर बसे र राजदूतकै सल्लाहमा नगएको भनिदिए ।अघिल्लो सरकार र वर्तमान सरकारले चिनियाँ कम्पनीलाई दिइएका ठूला जलविद्युत् परियोजना खोस्दै भारतलाई दिने काम गरिरहेका छन् । अब खोसिने पालो तमोर जलविद्युत्को रहेको छ । चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)मा नेपाल सहभागी बन्न नसक्ने भन्दै नेपाल असंलग्न राष्ट्र बनेको प्रचण्डले बताएका छन् । तर उनकै पार्टी सहभागी भएको अघिल्लो देउवा सरकारले हतार हतार युक्रेनको समर्थन गर्दै विज्ञप्ति जारी गरेको थियो । 

भ्रमण उत्तरको, उपलब्धि दक्षिणको ?

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा रहेकै बेला काठमाडौँस्थित भारतीय दूतावासले लगातार प्रचारयुद्ध छेडेको छ । उसले नेपालका प्रधानमन्त्रीको भारत भ्रमणपछिका उपलब्धि भन्दै बुँदागत र श्रृंखलाबद्ध रूपमा सार्वजनिक गरेर नेपालीको ध्यान अन्यत्र तान्न खोजेको देखिन्छ । 

प्रचण्ड भारत भ्रमण गरेर फर्किएको धेरै भयो । त्यही समयमा यसबारे राम्रै चर्चा भएकै थियो । अहिले आएर त्यस्तो कुनै नयाँ अध्यावधिक गर्ने समय र कुरा पनि थिएन । तर, भारतीय राजदूतावासले सामाजिक सञ्जाल एक्समार्फत् नेपालसँगका विकास साझेदारीले थप गति लिएको उल्लेख गर्दै विभिन्न महत्वपूर्ण आयोजनाको प्रगति विवरण सार्वजनिक गरेको छ । 

बुढेसकालको तीर्थाटन

​​​​​​​ 

प्रचण्डको चीन भ्रमण भारत भ्रमणजस्तै तीर्थाटनमा परिणत भएको छ । हाम्रा प्रधानमन्त्रीले चीनमै एक साता बिताएर आफूलाई निकै फुर्सदिलो र हाइसञ्चो भएको नेताका रूपमा उभ्याएका छन् । हाङचौमा आयोजित १९ औँ एशियाली खेलकुदको उद्घाटन समारोह र बेइजिङमा चिनियाँ समकक्षी लि छ्याङसँग भेटपछि जारी संयुक्त विज्ञप्तिसँगै भ्रमण समाप्त भइसकेको थियो । 

तर प्रचण्डले उच्च भेटघाट र दुई पक्षीय कुराकानीलाई भन्दा तीर्थाटनलाई प्राथमिकतामा राखेको पाइयो । बेइजिङबाट छोङचिङ र त्यहाँबाट तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासा हुँदै मानसरोवर दर्शनमा हेलिँदै छन् । उनी पहिले नै अमेरिका भ्रमणमा निस्केकाले झण्डै दुई साता देश बाहिर बितेको छ । 
राष्ट्रिय ढुकुटीलाई जोगाउन भन्दै सानो टोली लिएर अमेरिका निस्किएका प्रचण्डसँग बेइजिङ पुगेका नेपालीको संख्या उदेकलाग्दो गरी बढेको छ । मानसरोवर जानका लागि मात्र भनेर प्रचण्डका दर्जनौँ निकटवर्ती बेइजिङ पुगेका छन् । 
 

टिप्पणीहरू