लम्पी स्किनको खोपमा कालोबजारी, २ हजारको खोप दोब्बरमा बिक्री

लम्पी स्किनको खोपमा कालोबजारी, २ हजारको खोप दोब्बरमा बिक्री
सुन्नुहोस्

गाईंभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको खोपमा कालोबजारी देखिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित लोटस भेट इन्टरनेशनलले लम्पी स्किनको खोपमा कालोबजारी गरेको बताइन्छ ।

भेटल एनिमल हेल्थ प्रोडक्टस टर्कीमा बनेको लम्पी स्किन डिजिज भ्याक्सिन नेपालका लागि लोटस भेट इन्टरनेशनल त्रिपुरेश्वरका सञ्चालक भरतबहादुर पाण्डेले आयात गरेका हुन् ।

रोगको महामारी बढ्दै गइरहेको मौका छोपेर उक्त भ्याक्सिनमा कालोबजारी गरेको बताइन्छ । आयातित मूल्यभन्दा दोब्बरमा भ्याक्सिन बिक्री वितरण गरेको पशुविज्ञहरुको भनाई छ । प्राप्त कागजातअनुसार आयातका क्रममा पाण्डेले प्रति बोतल १५ डलरमा खोप खरिद गरेका हुन् । एक बोतलमा २५ डोज भ्याक्सिन राखिएको हुन्छ । 

गत असार ३० गते भेटल एनिमल हेल्थ प्रोडक्ट्सबाट लोटस भेट इन्टरनेशनल (प्यान नम्बर ३०१८०६६५७) ले तीन हजार चार सय बोतल खोप आयात गरेको देखिन आएको छ । खोपको प्रति बोतल १९ सय ९५ रुपैयाँ परेको हो । तर, बजारमा उक्त खोप प्रतिबोतल ३८ सय ७५ रुपैयाँमा बिक्री गरेको पाइएपछि कालोबजारी भनिएको हो ।

गत जेठ अन्तिम साताबाट नेपालमा सो खोप बिक्री गर्न थालेको उक्त कम्पनीले प्रति डोज १ सय ५५ रुपैयाँ लिएको देखिन आएको छ । नियमानुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी मूल्यमा वस्तु तथा सेवा बिक्री वितरण गर्न पाईंदैन । त्यसो गरेमा स्वतः कालोबजारी ठहरिन्छ । 

यस्तो अपराध गर्नेलाई एक वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । यस सम्बन्धमा सञ्चालक पाण्डेले भने आफुले खोपमा कालोबजारी नगरेको दाबी गरेका छन् । उनले त्यस्तो गरेको कुनै प्रमाण भए पेश गर्न आरोप लगाउनेहरुलाई चुनौती दिएका छन् ।

टिप्पणीहरू