महासभालाई सम्बोधनअघि प्रधानमन्त्री भेटघाटमा व्यस्त

महासभालाई सम्बोधनअघि प्रधानमन्त्री भेटघाटमा व्यस्त

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले स्थानीय समयअनुसार आज बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 

त्यसअघि उहाँले श्रीलंकका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको बताइएको छ । उहाँहरुबीच राष्ट्रसंघको मुख्यालयमा भेटघाट भएको हो ।

श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेसँगको भेटमा द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विविध विषयमा छलफल भएको जानकारी दिइएको छ ।त्यस्तै नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भएको भेटमा पनि द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको छ ।

दुई भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव एवम् प्रवक्ता सेवा लम्साललगायत सहभागी रहेको जनाइएको छ ।

प्रधानमन्त्री दाहाल महासभालाई सम्बोधनलगत्तै चीन भ्रमणमा न्युयोर्कबाट सोझै जाने कार्यक्रम छ ।

टिप्पणीहरू