प्रधानमन्त्रीको बन्यो अमेरिकी उडान तालिका,चीनबाट फर्कंदा पनि काठमाडौंका आकाश ठप्प

प्रधानमन्त्रीको बन्यो अमेरिकी उडान तालिका,चीनबाट फर्कंदा पनि काठमाडौंका आकाश ठप्प
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि साँझ अमेरिका प्रस्थान गर्ने अन्तिम तयारी छ । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय गौचरको मिटिङ हलमा बसेको बैठकले सम्पूर्ण सुरक्षाको समीक्षा गरेको छ । 

त्यसका लागि भोलि बेलुकी ५:४० देखि सवा ६ बजेसम्म काठमाडौं विमानस्थलबाट हुने सम्पूर्ण उडान र अवतरण रोकिने छ । त्यस्तै उहाँ चीनको औपचारिक भ्रमणपछि फर्कने असोज १३ गते बिहान १०ः५५ देखि साढे ११ बजेसम्म पनि काठमाडौंको आकाशमा उडान निषेधित गर्ने निर्णय भएको छ । विमानस्थलमा रहेका सुरक्षा निकायहरुदेखि विभिन्न एक दर्जन कार्यालय तथा संस्थाका प्रतिनिधिको उपस्थितिमा उक्त निर्णय भएको हो । 

प्रधानमन्त्री अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि बेलुकी कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ मा साँझ ६ बजे दोहा प्रस्थान गर्ने कार्यक्रम छ । उहाँ साँझ ५ बजेर ५० मीनेटमा कतार एअरवेजको विमानभित्र प्रवेश गरिसक्नु हुनेछ । 

दोहामा केही बेरको ट्रान्जिटपछि प्रधानमन्त्री र उहाँको टोली अमेरिकन एअरलाइन्सको उडानमा  न्युयोर्क जाने कार्यक्रम रहेको बैठकमा जानकारी गराइएको छ ।न्युयोर्कबाट उहाँ असोज पहिलो साता चीनको औपचारिक भ्रमणका लागि हाङ्चौ शहर पुग्नुहुनेछ । हाङचौमा हुन लागेको एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिएपछि उहाँ राजधानी बेइजिङ जाने कार्यक्रम छ ।

चीन भ्रमणपछि उहाँ असोज १३ गते शनिबारका दिन बिहान सिचुआन प्रान्तको राजधानी छन्तुबाट एअर चाइनाको उडानमा स्वदेश फर्कनुहुनेछ । उडान नम्बर सिए ४३७ बाट प्रधानमन्त्री बिहान ११ बजेर ५ मीनेटमा काठमाडौं ओर्लने निर्णयमा उल्लेख छ । उक्त विमान विमानस्थलको बे नम्बर १ मा रोकिने र आवश्यकतानुसार बे नम्बर २ पनि खाली गराइने सुरक्षा निकायको भनाई छ ।

काठमाडौंबाट दोहा जाँदा भोलि बेलुकी कतार एअरवेजको विमान बे  नम्बर ४ मा राख्ने निर्णय भएको छ । सुरक्षा निकायहरु,विमानस्थल कार्यालय,भन्सार कार्यालय, सम्बन्धित विमान कम्पनी, नेपाल वायुसेवा निगमलाई आफ्नो क्षेत्रको कार्यको जिम्मा दिइएको छ । प्रधानमन्त्रीले गर्ने पत्रकार सम्मेलनमा बत्तिको बल्ब जाँच्ने, साउण्ड सिस्टम परीक्षण गर्ने जिम्मा विमानस्थलको टेक्निकल डिपार्टमेन्टलाई दिइएको छ । सिभिल इञ्जिनियरिङ विभागलाई भीभीआईपी कक्ष सरसफाईको जिम्मेवारी दिइएको छ ।
 

टिप्पणीहरू