प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा हेटौंडा जाँदै

प्रधानमन्त्री सेनाको हेलिकोप्टरमा हेटौंडा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हेटौंडा जान लाग्नुभएको छ । उहाँ बिहान साढे १० बजे सेनाको हेलिकोप्टरमा बालुवाटारबाट त्यसतर्फ जाने कार्यक्रम तय भएको बताइएको छ ।

समाजवादी मोर्चाले आयोजना गर्न लागेको बागमती प्रदेशस्तरीय घोषणा सभालाई सम्बोधन गर्न उहाँ हेटौंडा जान लाग्नुभएको हो । प्रधानमन्त्री साँझ राजधानी फर्कने बालुवाटार स्रोतले बताएको छ ।

समाजवादी मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा सभा गरिसकेको छ । भोलि कोशीको विराटनगरमा घोषणा सभा राखेको छ ।

आजको सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने जानकारी दिइएको छ ।

सुदूरपश्चिमको घोषणा सभा भदौ १३ गते राखिएकोमा हालसम्म स्थगित छ ।

टिप्पणीहरू