हिन्दुवादीहरुले ‘एक भगवत् गीता’ चल्न नदिने

हिन्दुवादीहरुले ‘एक भगवत् गीता’ चल्न नदिने

प्रदर्शनअगावै विवादमा तानिएको चलचित्र ‘एक भगवत् गीता’ को नाम परिवर्तन गर्नुपर्ने मागसहित विभिन्न धार्मिक संघसंस्था तथा सरोकारवालाले चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र बुझाएका छन् । 

हिन्दु जागरण नेपाल, विश्व हिन्दु महासंघ, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समिति, शिवसेना नेपाल, श्री जगद्गुरु आश्रमलगायत धार्मिक संस्थाहरुले आज संयुक्त रुपमा उक्त चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग राखी बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । चलचित्रले कथा एउटा र नाम अर्को राखेर धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीताको मर्म विपरीत कथावस्तु देखाउन खोजेको उनीहरुको आरोप छ । 

ज्ञापनपत्रमा भनिएको छ, ‘समग्र स्क्रीप्ट अध्ययन गर्दा हालको नामअनुसार एक भगवत् गीतामा कहिँ कतै छेउ न टुप्पो कुनै सम्बन्ध नभई केबल भगवत् गीताको नाम राखेर व्यावसायिक प्रयोजनको लागि पब्लिक सेन्टिमेन्ट मात्र प्रयोग गर्न खोजिएको र सनातनीहरुको पवित्रग्रन्थ श्रीमद्भगवद्गीताको दुरुपयोग गर्न खोजिएको हाम्रो ठहर छ ।’ 

उनीहरुले चलचित्रको नाम अर्को राखेर प्रदर्शनमा ल्याए आफूहरुलाई कुनै आपत्ति नहुने उल्लेख गर्दै नाम अन्यथा बोर्डले सेन्सरको लागि सिफारिस गर्न नहुनेमा जोड दिएका छन् । 

जवर्जस्ती चलचित्र प्रदर्शन गरे त्यसबाट पर्न जाने क्षतिको सम्पूर्ण जिम्मेवारी चलचित्र विकास बोर्ड, सेन्सर बोर्ड, निर्माता, निर्देशक तथा सरोकारवालाहरुले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू