धरानको घटनालाई धेरै धक्का नदिऊँ

धरानको घटनालाई धेरै धक्का नदिऊँ
सुन्नुहोस्

– जीवन श्रेष्ठ

२०७२ साल बैशाख १२ गते नेपालमा ठूलै भूकम्प आयो र त्यसले खर्बांैको भौतिक क्षति मात्र गरेन, उत्तिक्कै मानवीय क्षति पनि पुर्‍यायो । त्यो प्राकृतिक रूपमा आएको भूकम्प थियो । तर यतिखेरको धक्का भने प्राकृतिक नभई जातीय, भौगोलिक र धार्मिक असहिष्णुताको धक्का जस्तो देखिँदैछ । जसले नेपाली समाजको एकता, सदभाव र सहिष्णुताको संरचनालाई क्रमशः क्षति पुर्‍याउँदै छ । एकपछि अर्को कट्टरपन्थीहरू, अतिवादीहरू सडक र सामाजिक सञ्जालमा यस्तरी सल्बलाइरहेका छन् । 

०६२/६३ सालको जनआन्दोलन र दश वर्षीय जनयुद्धको अवतरणपछि जातीय मुद्दाहरू यस्तरी उठे कि मानौ त्यसले द्वन्द्वलाई प्रशस्त प्रश्रय दिन खोजेजस्तो देखिन्थ्यो । त्यसमाथि पहिचानसहितको राज्यको मागले समग्र देशको दिमाग चाटिरहेको थियो । आत्मनिर्णयको अधिकारसहित जातीय राज्यको मागले खासगरी त्यतिखेर आदिवासी जनजाति र गैरजनजातिबीच एक प्रकारको अघोषित द्वन्द्व बढ्दै गइरहेको थियो । सदियौंदेखि एकआपसमा एकताको सूत्रमा बाँधिँदै आएका नेपालीबीच दरार देखिँदै थियो । मधेसतिर एक मधेश एक प्रदेशको मुद्दा, पूर्वतिर लिम्बुवान, उपत्यकालगायत आसपास क्षेत्रमा नेवाः तामसालिङजस्ता पहिचानका राज्यहरूको मागले मुलुक आक्रान्त बनिरह्यो । क्रमशः ती माग सेलाउँदै गए । अहिले ती ओझेलमा छन् तर पहिचानवादीको मस्तिष्कको पत्रपत्रमा अझै ती एजेण्डा ऐंसेलुजस्तै पहेँल्पुर भएर पाकी बसेको छ । पछिल्लो दृष्टान्त प्रदेश नम्बर १ को नामकरण कोशीबाट असन्तुष्ट बनेका पहिचानवादीको आक्रामक आन्दोलनलाई लिन सकिन्छ । भलै त्यसले भयंकर रूप लिएको छैन । 

भन्ने बेला चार जात छत्तिस वर्णको साझा फूलबारी भनिए पनि राज्यले एकल जातीय भाषा, भेशभूषा, धर्म, संस्कृतिलाई प्राथमिकतामा राखेको कुरामा दुईमत नहोला । राजतन्त्रको अन्त्यसँगै यहाँका तत्तत् समुदायले गुमेका र जबरजस्ती दबाइएका पहिचानलाईस्थापित गर्न खोज्नु न त असान्दर्भिक हुन सक्छ न अस्वाभाविक नै ! यससँगै पहिचानयुक्त राज्य खोजियो र सबैभन्दा विवाद पनि यसै मुद्दामा रहँदै आयो । समय क्रमसँगै यो मुद्दा मिहिन बन्दै गइरहेको छ पछिल्लो समय धर्मसँगै जातजातिको संस्कार, सभ्यता, संस्कृति, भेशभूषा र खानपिनलाई लिएर द्वन्द्व शुरु भएको छ । एक समुदायको खानपिनलाई लिएर अर्को समुदायले खिसिट्युरी गर्ने, कसैको संस्कारलाई ट्रोल बनाउनेजस्ता पाखण्डी हर्कत प्रतिदिन बढ्दो छ र यसले सामाजिक सद्भाव, सहिष्णुता, एकता र भाइचाराजस्ता सम्बन्धलाई क्रमिक रूपमा गाँज्दै लगेको छ । 

झण्डै एक वर्षअघि एउटा कमेडियनले आफ्नो प्रस्तुतिमा एउटा समुदायको भाषा र संस्कारमाथि व्यंग्य कसे । उनको मक्सद आफ्नो कलाकारिता देखाउने, दर्शकलाई हँसाउने वा मनोरञ्जन दिने नै थियो । तर, प्रस्तुतिपछि उनीमाथि सिंगो समुदाय नै खनियो । प्रहरीमा उजुरी पर्‍यो । पक्राउ भयो । उनले माफी पनि मागे तर माफीको कुनै गुञ्जायस भएन । लामो दिन हिरासतमा बसे । उनको त्यो प्रस्तुतिलाई सामान्यकृत नगरी तिललाई पहाड बनाउनेहरूको लर्को नै देखिन थाल्यो ।

अझ उदेकलाग्दो कुरा त आफूलाई संस्कृति, भाषा र सम्पदाको अभियन्ता ठान्ने, बुद्धिजीवी र विद्वान् मान्नेहरू नै उनको खिलाफमा कम्मर कसेर लागे । संकटको महाभुमरीमा सन्तुलित भूमिका निर्वाह गर्नुपर्नेहरू नै आरोप, प्रत्यारोप र गालीगलौजको संस्कृतिमा लागेपछि सामाजिक दरार देखिनु स्वाभाविक हो । भयो पनि त्यस्तै । कमेडियनले नेवार समुदायभित्रको भाषा, संस्कार र खानपिनलाई ठट्टाको गठेमंगल बनाएर रंगमञ्चको दोबाटोमा ठड्याएका थिए । उनी मधेश समुदायका थिए । धन्न, उनको पक्षमा मधेसमा आगो भएर दन्केन र घटना साम्य हुँदै गयो । 

अस्ति भर्खर पनि धरान केन्द्रविन्दु भएर धार्मिक द्वन्द्वको पराकम्पन गयो । मन्दिरको अगाडि चर्च निर्माणको पराकम्पन पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भयो । यो धक्काको विषयलाई लिएर हिन्दु पण्डित र क्रिश्चियन पादरीहरूबीच जुहारी नै चल्यो । एउटा राजनीतिक पार्टीले त धार्मिक र्‍यालीको कौडा नै हान्यो ।

यसैबीच एउटी महिला कानुनकर्मीले एउटा जातिभित्र दाजुबहिनीबीच विवाह हुन्छ भनी विवादास्पद अभिव्यक्ति दिइन् । खासमा ती महिलाले भन्न नजाने पनि उनको आशय त्यो समुदायभित्र मामाचेला र फुपु चेलीबीच हुने बैबाहिक सम्वन्धलाई इंगित गर्नु थियो । जुन नातालाई अन्य समुदायले दाजुबहिनीकै रूपमा लिने गर्छ । जब अभियन्ताहरू नै हात धोएर आफ्नो बुझलाई गिजोलगाजोल पार्छन् भने बुझ्न नसक्नेहरू त हातमा खुकुरी लिएर निस्कने नै भए नि ! धरानतिर मन्दिरअगाडि निर्माण गरिएको चर्चको धक्का सेलाउन नपाउँदै गोरु हत्याले अर्को पराकम्पन सिर्जना गरेको छ । त्यो पराकम्पन जारी छ । 

पक्कै पनि एक पाउको खुकुरी बोकेर सडकमा हिंसाको ताण्डव नाच्ने बर्कत, ल्याकत र क्षमता हिन्दुहरूसँग मात्र हैन मुस्लिमसँग पनि छ, क्रिश्चियन र बौद्धमार्गीसँग पनि छ । त्यो ल्याकत गैर जनजातिसँग छ, जनजातिसँग पनि छ । धर्मको नाममा आफ्नो सम्पूर्ण संयमता, विवेक र होसहवास गुमाएर सडकमा खुकुरी बोकी एक अर्कालाई छप्काउँदै हिँड्ने हो भने हामीले सिरिया, अफगानिस्तान, कश्मिर र मणिपुरहरूलाई नेपालमा नै पाउने छौं । के अब नेपाललाई पनि त्यस्तै बनाउने हो ? 

अहिले खासगरी सामाजिक र सञ्चारका सञ्जालहरूमा अतिवादीहरूको बर्चस्व बढिरहेको छ । उनीहरू सामान्यभन्दा सामान्य घटनालाई पनि अवतरण गर्नुको साटो एकपक्षीयरूपमा द्वन्द्वको उडान भर्न उद्यत छन् । हो त्यस्ता पाखण्डीहरूलाई निस्तेज गर्दै सामाजिक, धार्मिक सद्भावलाई कायम गर्न हाम्रो भूमिकाकोे अपरिहार्यतालाई सकार्नु पर्छ । कुनै व्यक्तिले समाज, सामाजिक वा सञ्चारको सञ्जालबाट अतिवादी, अन्धोभक्त वा एकोहोरो भएर कुनै जाति वा धर्मको पक्षपोषण गर्दैछ भने उसलाई ताली हैन संकाको दुवालीले थुन्न सक्नुपर्छ । किनकि एकोहोरोपन कि अज्ञानताले हुन्छ कि त अरूबाट परिचालन भएर हुन्छ । स्वचालितहरूसँग विवेक हुन्छ, बुद्धि र राम्रो वा नराम्रो परिणामबारे थोरै भए पनि आकलन गर्न सक्ने बर्कत हुन्छ तर परिचालितहरूसँग अन्धतासिवाय केही हुँदैन ।
 

टिप्पणीहरू