यी हुन् आज राति चीन जान लागेका एमाले नेताहरु

यी हुन् आज राति चीन जान लागेका एमाले नेताहरु
सुन्नुहोस्

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको निमन्त्रणामा एमाले  महासचिव शंकर पोखरेलको नेतृत्वमा झण्डै दुई दर्जन नेताहरु आज राति चीन भ्रमणमा जान लागेका छन् । उनीहरुले राजधानी बेइजिङलगायत विभिन्न स्थानको भ्रमणका साथै चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

टोलीमा महासचिव पोखरेलसँगै स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम छन् । 

त्यसैगरी पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य एवम् कोशी प्रदेशसभा सदस्य रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ अध्यक्ष टुकाभद्र हमाल पनि चीन भ्रमणमा जाने टोलीमा रहेको बताइएको छ ।

केन्द्रीय सदस्यहरु सहदेव बोगटी र निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्यहरु अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य मानवीर राई एवम् अर्का केन्द्रीय सदस्य कपिलदेव पोखरेललाई पनि भ्रमण टोलीमा समावेश गरिएको छ ।

जिफन्टका महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियुका अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य एवम् घोराही उपमहानगरपालिकाका उपमेयर हुमाकुमारी डीसी र सचिवालयबाट  राजेश राई, सरोजकुमार रेग्मी पनि आजै राति चीन भ्रमणमा जान लागेका हुन् ।

केही समयअघि माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख अग्नि सापकोटा र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल नेतृत्वको ठूलै र अलग टोली चीन भ्रमणमा गएको थियो । उनीहरुले मानसरोवरलगायत चीनका विभिन्न भाग घुमेका थिए । त्यसपछि महासचिव देव गुरुङ्ग दम्पतीले पनि चीन यात्रा गरिसकेका छन् ।

टिप्पणीहरू