मालेले मदन भण्डारीलाई महासचिव छानेको गाउँतिर बादलको बाटो

मालेले मदन भण्डारीलाई महासचिव छानेको गाउँतिर बादलको बाटो

माओवादी जनयुद्धताका सैन्य रणनीतिकारको रुपमा चर्चा कमाएका रामबहादुर थापा बादल अहिले नेकपा एमालेमा छन् । तत्कालीन नेकपाको विभाजनपछि माओवादी छोडेर एमाले रोजेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले माथिल्लै तहको जिम्मेवारी पनि दिएका छन् । पार्टीको उपाध्यक्ष हात पारेका बादल खासै सक्रिय भने छैनन् । 

नेकपाकालमा ओली र प्रचण्ड-माधवबीच आन्तरिक संघर्ष चर्किरहँदा तटस्थ रहेका उनी अन्तिम घडीमा ओलीतिर लागेका थिए । अप्ठेरोमा साथ दिएर गुन लगाएको बदलामा अध्यक्षले उपाध्यक्ष दिएपनि एमालेका तल्लो कार्यकर्ताले खुलेर स्वीकार नगर्दा लगभग गुमनाम रहेका बादल पछिल्लो समय त सार्वजनिक मन्चहरुमा समेत निकै कम देखिन्छन्  । तर, बुधबार भने उनी अचम्मको हुलियामा प्रकट भए । 

बुधबार दिउँसो एमालेले केन्द्रीय सचिवालय बैठक सिराहाको धनगढीमाई-१४ अम्बास गाउँमा राखेको थियो । तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन आयोजना भएको ऐतिहासिक स्थलका रुपमा परिचित अम्बासको काठे घरमा बसेको बैठकमा भाग लिन पुगे बादल पनि । बैठकस्थलमा पुग्नुअघि हातमा माेजा बाेकेर हिंडिरहेको उनै बादलको निरास लाग्दो तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

जनाइएअनुसार बादल हातमा मोजा लिई ३ किलाेमिटर पैदल हिँडेर कार्यक्रमस्थल पुगेका थिए । उनले किन मोजा फुकालेर हातमा लिए भन्ने चैं थाहा छैन । बादलले कुनैबेला एमालेलाई हरियो घाँसमा लुकेको सापँको संज्ञा दिएका थिए । जबजलाई उनी दक्षिणपन्थी विचारका रुपमा अर्थ्याउँथे । तर, उनीसमेत सहभागी सचिवालय बैठकले मदन भण्डारीले गरेको योगदानको गर्व गर्दै उच्च मूल्याङ्कन गरेको छ ।

अर्कोतिर,  ऐतिहासिक स्थलमा बैठक गर्नु भनेको इतिहासको स्मरण र सम्मान गर्नु हो । तर, पार्टीका बैठकदेखि सार्वजनिक समारोहहरुमा बिशेष कुर्सीमा आसन ग्रहण गर्न रुचि राख्ने अध्यक्ष ओलीका लागि उक्त बैठकमा पनि विशेष कुर्सिको व्यवस्था गरिएको थियो ।  

सार्वजनिक फोटोहरुमा काठले घेरिएको टहरो जस्तो देखिने घरको एक तलामाथि बसेको बैठकमा उहाँका लागि छुट्टै कुर्सी र टेवल राखिएको देखिन्छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसहितका अरु पदाधिकारीहरु भने प्लास्टिकका कुर्सीमा बसेका थिए ।

टिप्पणीहरू