बालुवाटारको भोजले बैठकमा अवरोध

बालुवाटारको भोजले बैठकमा अवरोध
सुन्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारको भोज खाने हतारोलाई थाती राख्दै जेलिएर बसेका थुप्रै समस्यालाई अब तीव्र गतिका साथ सुल्झाउने बाचासहित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ अगाडि बढेका छन् । आइतबार न्यायपरिषद्को बैठक चलिरहँदा बालुवाटारमा प्रतीक्षा थियो, प्रधानन्यायाधीशसहित सर्वोच्चका न्यायाधीश, कर्मचारी र परिवारका सदस्यहरूको ।

न्यायपरिषद्को बैठकमा चाहिँ सर्वोच्चमा एक वर्षदेखि हाजिर भएर बसेका, तर काम गर्न नपाएका न्यायाधीश विनोद शर्मालाई नियुक्तिका लागि सिफारिस गरिँदै थियो । सर्वोच्चकै लागि सिफारिस भएर संसदीय सुनुवाई नभएका कारण बहाल नभएका डिएन पराजुली, नीता गौतम दीक्षितहरूको हकमा भने आइतबारको बैठकले केही निर्णय गरेन । यसअघिका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकालभरि विभिन्न बखेडा झिक्दै कानुनमन्त्रीले अड्काइदिँदा न्यायाधीश नियुक्ति, सरुवा र प्रशासनिक काम अस्तव्यस्त हुन पुगेको थियो । तर, अब १५ दिनभित्र सबै काम सिध्याउने गरी न्यायपरिषद् साँझ अबेरसम्म बस्ने गरेको बताइन्छ ।

आइतबारको बैठकमा उच्च अदालतमा न्यायाधीश नियुक्ति, कानुन व्यवसायीमध्येबाट नियुक्त गर्ने प्रतिशत र मापदण्ड, न्यायाधीशको आचारसंहिताजस्ता विषयमा छलफल गर्दागर्दै साँझ परेको थियो । बालुवाटारमा त्यसै दिन प्रधानन्यायाधीशलाई भोज दिने कार्यक्रम थियो । यसरी पौने सात बजे बैठक सकियो । मन्त्री धनराज गुरुङले बालुवाटारको भोज खान भ्याएनन् । अरु नै बैठक छ भन्दै उनी बालुवाटार गएनन् । त्यहाँ सर्वोच्चका न्यायाधीश, कर्मचारी, न्यायाधीशका परिवारसहित ४०–५० जना थिए । 

उच्चमा न्यायाधीश ल्याउनेबारे सबैको सहमतिमा टुंग्याउने मान्यतामा प्रधानन्यायाधीश श्रेष्ठ अडिग छन् । नियुक्त भएपछि उनी बेञ्चमा नबसेर थाती रहेका कामहरू सुल्झाउनका निम्ति औपचारिक र अनौपचारिक कुराकानी गरिरहेका छन् । 

टिप्पणीहरू